काठमाडौं ।नेपालको १२७ वर्ष पुरानो विद्यालय दरबार हाइस्कुलको पुनर्निर्माणको काम सकिएको छ । २०७२ सालमा गएको भूकम्पका कारण क्षतिग्रस्त दरबार हाइस्कूल तोकिएको समय भन्दा एक महिना अगावै निर्माण सम्पन्न भएको छ ।
क्षतिग्रस्त भवन चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०७५ साउन १८ गते शिलान्यास गरी साउनबाट नै निर्माण कार्य शुरु भएको थियो ।
पुरानो शैलीमा आधुनिक सामाग्रीको प्रयोग गरेर निर्माण गरिएको गरिएको छ । अहिले विद्यालयको निर्माण कार्य सम्पन्न भइसकेको छ । तर, निर्माण सम्पन्न भएपनि चाँइनाबाट निर्माण कम्पनीका पदाधिकारीले एक पटक अनुगमन गर्ने भएको र अनुगमनका पदाधिकारीहरु माघको तेस्रो साता नेपाल आउने भएकाले यो महिनाको अन्तिम साता निर्माण सम्पन्न विद्यालय सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
चीन सरकारको पूर्ण आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको हो । ८५ करोडको लागतमा चिनियाँ निर्माण कम्पनी सांघाई कन्स्ट्रक्सनले ठेक्का सम्झौता गरेर निर्माण सुरु गरेको १९ महिना भित्र सक्ने गरि ठेक्का लिएको थियो ।
तर, निर्माण कम्पनीले समय भन्दा एक महिना अगावै निर्माण सम्पन्न गरेको छ । भवन निर्माणमा चीन र नेपालका गरी दैनिक १०० कामदारले काम गरी निर्माण सम्पन्न गरेका छन ।
विद्यालयको भवन निर्माण सम्पन्न गरी अहिले भवनमा रङरोगन तथा अन्य झ्याल ढोकाहरु मिलाउने काम भइरहेको पुनर्निर्माण प्राधिकरण प्रवक्ता गोपालप्रसाद अर्यालले बताए ।
विसं १९१० सालमा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाको पालामा यो विद्यालय स्थापना गरिएको थियो । त्यस पछि विसं १९६४ मा संस्कृत पढ्नका लागि मात्र सर्वसाधारणका छोराछोरीलाई पनि खुला गरिएको थियो ।
विद्यालय शुरुमा निर्माण गर्दा माटो, इँटा र चुना प्रयोग गरेर बनाइएको थियो । अहिले पहिलाकै नमुनमा तर, आधुनिक सामाग्रीको प्रयोग गरेर आधुनिक भवन बनाइएको छ । यो आधुनिक किसिमको दरबार हाइस्कूल पुनःनिर्माण सम्पन्न भएकाले विद्यालय आसपासमा समेत सुन्दर देखिएको छ ।
भूकम्पअघि उक्त भवनमा भानुमावि र संस्कृत मावि दुबै सञ्चालित थिए । हाल ती दुवै विद्यालयमा गरी ३०० मात्र विद्यार्थी अध्ययनरत छन भने ३५ शिक्षक कार्यरत छन्। । ती विद्यार्थीलाई अहिले बाल्मीकि विद्यापीठको खाली स्थानमा टहरा बनाएर पठनपाठन गराइएको छ । लामो समय काठमाडौँ महानगरपालिका र पुरातत्व विभागबीच नक्सा पासका विषयमा कुरा नमिलेकाले भूकम्प गएको तीन वर्षपछि मात्रै पुनःनिर्माणको काम शुरु भएको थियो ।
पुनर्निर्माण सम्पन्न भवनमा ४ तला र ४६ कोठा छन । १९१० सालमा स्थापना भएको दरबार हाईस्कूल नेपालको पहिलो आधुनिक विद्यालय हो ।