काठमाडौं। गत असार ३१ मा सत्ता सम्हालेका प्रधानमन्त्री केपी ओली सरकारले १०० दिन पूरा गरेको छ। सरकार गठनको १०० दिनभित्र भएका कार्यप्रगति विवरण र उपलब्धि प्रधानमन्त्री ओलीले आज सिंहदरबारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन्।
पत्रकार सम्मेलनमा ओली आफूले सरकारको नेतृत्व गरेपछि अर्थतन्त्रमा सुधारका संकेत देखिन थालेको र सुशासन एवं विकासमा आस पलाउँदै गएको दाबी गरे।
‘हामी सरकारमा आउँदा अर्थतन्त्र डाँवाडोल थियो। यो अवधिमा सुधारका संकेत देखिएका छन्। निजी क्षेत्रकै मागअनुसार आर्थिक सुझाव आयोग गठन गरिएकाले उद्योगी, व्यवसायीमा आत्मविश्वास पलाएको छ। अर्थतन्त्रलाई गति दिन सरकारी पहल र प्रयास जारी छ,’ प्रधानमन्त्री ओलीले भने।
प्राकृतिक विपत्तिले सरकारको कामलाई केही समय धीमा बनाए पनि सम्हालिँदै अघि बढिरहेको उनले बताए। ‘यसबीचमा दूध र उखु किसानको लामो समयदेखि रोकिएको भुक्तानी उपलब्ध गराएका छौं। लगभग १५ लाख दुग्ध किसानले भुक्तानी पाएका छन्। उनीहरुले पाउने रकम भुक्तानीका लागि सरकारले ६० करोड निकासा गरेको थियो। करिब ७५ हजार उखु किसानले पनि आफ्नो अनुदानबापतको भुक्तानी पाइसकेका छन्’, उनले भने।
कृषि बाली तथा पशुधन बिमामा समावेश भएका हजारौं कृषकले पनि राहत महसुस गरेका उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बितेको एक सय दिनमा, तिनको बिमाबापतको भुक्तानी गर्न ८० करोड बिमा प्राधिकरणको खातामा पठाइएको जानकारी दिए। उनले हिउँदे बालीका लागि चाहिने रासायनिक मलको बन्दोबस्त गरिसकिएको, निर्माण व्यवसायीले पाउनुपर्नेमध्ये संघीय मन्त्रालयबाट ६ अर्ब ७५ करोड १०० दिनभित्र भुक्तानी भइसकेको प्रधानमन्त्री ओलीले उल्लेख गरे।
‘विभिन्न विपत्तिका बाबजुद पनि वर्तमान सरकारले गर्छु भनेका काम पूरा गरेको छ। वर्तमान सरकार जनताको विश्वासले गठन भएको हाे। सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ। यदि प्रकृति प्रतिकूल नभइदिएको भए बाँकी ३० प्रतिशत काम पनि पूरा हुन्थ्याे। थालेका काम अघि बढाउने र निर्धारित समयमा सक्ने कुरालाई सरकारले पहिलो प्राथमिकतामा राखेको छ’, उनले भने।
पहिलो सय दिनमा सरकारले कुन–कुन मन्त्रालयअन्तर्गत के–के काम थालेका थियाे र काम कसरी समयमै सम्पन्न गर्ने भन्नेबारे योजना बनाएर प्राथमिकता ताकेकै कारण सफलता मिलेकाे उनकाे दाबी छ। ‘साेही आधारमा प्रधानमन्त्री र मन्त्रीहरूका बीच कार्यसम्पादन सम्झौता गरिएकाे, पहिलो सय दिनभित्र सबै मन्त्रालयको गर्ने भनेको कामको संख्या २७४ वटा पुगेकामा १८५ वटा काम सम्पन्न भएका छन्’, प्रधानमन्त्रीले भने।
सवारी चालकले लाइसेन्स बोक्नु नपर्ने व्यवस्था गर्नु, क्यूआर कोडबाट सरकारी कामको फाइल अघि बढाउने परीक्षण थालिनु, ५० लाखसम्मको लागनी प्रक्रिया अनलाइन प्रणलीबाटै गर्न सकिने व्यवस्था हुनु, वैदेशिक रोजगारीमा मृत्यु भएका आफन्तलाई दिइँदै आएको ७ लाख बढाएर १० लाख रुपैयाँ पुर्याउनु पनि सरकारको सय दिने उपलब्धि भएको प्रधानमन्त्री ओलीले बताए।
त्यस्तै, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न हवाई इन्धनमा प्रतिलिटर शूल्य दशमलव ३७ डलरमा कम गरी अन्तर्राट्रिय उडान गर्न सफल भएको, कात्तिक २४ देखि भैरहवा सीधा र काठमाडौंबाट भैरहवा उडान व्यवस्था मिलाइएको र कीर्तिपुरको क्रिकेट मैदानमा राती पनि खेल्न मिल्ने गरी ‘फ्लट लाइट’ जडान थालिएकोलाई पनि सरकारले १०० दिने उपलब्धि मानेको छ।
प्रधानमन्त्री ओलीले रवि लामिछानेको नाम नलिईकनै सहकारी ठगलाई कानुनको दायरामा ल्याइएको र हालसम्म ५७५ जना जेल पुगेको बताए। ‘आज सर्वसाधारणले जम्मा गरेको रकम अपचलन र ठगी गर्नेलाई सरकारले कानुनी कारबाही दायरामा ल्याएको छ र ल्याउँदै छ’, प्रधानमन्त्रीले भने । सहकारी ठगी गर्ने व्यक्तिमाथि कानुनी कारबाही अगाडि बढेको र हालसम्म ६ सय बढीलाई कानुनी कारबाही गरिएकामा ५७५ बढी जेलमा रहेको उनको भनाइ छ।
सहकारी पीडितको बचत रकम फिर्ता गराउने प्रक्रिया पनि अगाडि बढाउन आवश्यक ऐन तर्जुमा गर्ने र सहकारी कर्चा सूचना केन्द्र एवं ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि सँगसँगै अगाडि बढाइएको उनले जानकारी दिए।
उनले एमाले–कांग्रेस नेतृत्वमा सरकार गठन भएसँगै १०० दिने अवधिमा ३२.५ किमि सडक कालोपत्रे, फास्ट ट्रयाकको धेद्रे सुरुङ ब्रेक थ्रु गर्न सफलता मिलेको बताए।
वर्तमान सरकार गठन भएपछि मात्रै ४ हजार ३८ किलोमिटर सडक मर्मत गरिएको उनको भनाइ छ।
निर्माणाधीन काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को मकवानपुर जिल्लामा पर्ने धेद्रे सुरुङ ब्रेक थ्रु (छिचोलिनु), नागढुङ्गामा मुख्य सुरुङको लाइनिङ सफलतापूर्वक सम्पन्न, रुपन्देहीको सिद्धबाबा सुरुङमा उल्लेख्य प्रगति पनि वर्तमान सरकारको उपलब्धि रहेको प्रधानमन्त्री ओलीले दाबी गरे।
एमाले अध्यक्षसमेत रहेका ओली नेतृत्वको सरकारमा कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टी सहभागी छन्।