काठमाडौं। करिब २७ दिनपछि नेपाल र चीनबीच सडक सन्जाल जोडिने भएको छ। बाढीपहिरोका कारण असोज १२ बाट चीनसँग नेपालको सडक सन्जाल टुटेको थियो।
पहिरोले बगाएको सडक मर्मतको काम अन्तिम चरणमा पुगेसँगै शुक्रबारदेखि तातोपानी नाका पूर्ण रुपमा सञ्चालनमा आउने निश्चित भएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत सूर्यप्रसाद काफ्लेले जानकारी दिए।
लिपिङ खोलामा गएको पहिरो पुर्ने काम अन्तिम चरणमा पुगेको र योबीचमा कुनै समस्या नआएमा शुक्रबारदेखि पूर्ण रुपमा सडक संजाल सञ्चालनमा आउने निश्चित भएको उनले बताए। बाढीपहिरोका कारण तातोपानी नाका पूर्ण रुपमा बन्द थियो। पहिरोले नेपालतर्फका सडक मात्र भत्किएको थियो। पहिरोले लिपिङ खोलासँगै रहेको सडक बगाएको थियो।
अहिले लिपिङ खोलाले बगाएको सडक फिलिङ गर्ने काम भइरहेको छ। सिन्धुपाल्चोकको १० किलोबाट ढुंगागिटी र बालुवा लगेर पहिरो पुरेर बिहीबारसम्म सडकको लेबल मिलाएर सकिने र शुक्रबारबाट सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनको भनाइ छ। ह्युमपाइप राखेर सडक खुलाउने काम भइरहेको हो।
अहिले निर्माण गरिएको सडक अस्थायी मात्र हुने गरी काम भएको र दीर्घकालीन समस्या समाधान हुने स्थिति भने देखिएको छैन। अहिले पनि कोदारी आसपासका सडकमा धेरै समस्या रहेको हुँदा जुनसुकै बेला अवरुद्ध हुने अवस्था रहेकाले जोखिम अझै हटिनसकेको उनले बताए। शुक्रबारदेखि सडक सन्जाल सुचारु भए नाका पनि तत्कालै खुल्नेछ।
नेपाल हिमालय सीमापार वाणिज्य संघ अध्यक्ष रामहरि कार्कीले सम्भवतः शुक्रबारअघि नै सडक सन्जाल जोड्ने गरी काम भइरहेको बताए। ‘निर्माण व्यवसायीले सडक मर्मतको काम तीव्र गतिमा गरिरहेकोले छिटोभन्दा छिटो नाका खोल्ने तयारी छ,’ अध्यक्ष कार्कीले भने, ‘तिहारमा नयाँ सामान दिने योजना हाम्रो छ।’
तिहारमा सामान आउने आस
दसैंको मुखमा पहिरोले सडक बगाएपछि तातोपानी नाका हुँदै आउने सामान बीचमै रोकिएका थिए। सडकमै रोकिएका गाडीमध्ये फलफूल र अन्य हल्का सामान व्यवसायीले पल्टी अर्थात् बोकाएर अर्को सडक भएको ठाउँसम्म ल्याएका थिए। तर, ठूला सामान ल्याउन नसक्दा बीच बाटोमै रोकिएका थिए।
सडकमा कति गाडी रोकिएका छन् भन्ने यकिन तथ्यांक भन्सार कार्यालयसँग नरहेको जनाइएको छ। यद्यपि खासाभन्दा माथि ७० देखि ८० वटा र खासामुनि १५ देखि २० वटा गाडी रोकिएको अनुमान छ। सडक सन्जाल जोडिएसँगै रोकिएका गाडीलाई पहिलो चरणमा पार गराउने र पछि अन्य गाडी पनि विस्तारै नेपालतर्फ पठाउने भन्सार कार्यालयको तयारी छ।
तातोपानी नाका हुँदै साइमेक्स इंकको बिवाईडी गाडी र चौधरी ग्रुपको भ्यान केवाईसी आउने गरेका छन्। यस्तै फलफूलजन्य सामान, लत्ताकपडा र विद्युतीय सामानसमेत सोही नाकाबाट आउने गरेको छ।
रसुवा अनिश्चित
तातोपानी नाका सञ्चालनमा आउने तयारी भइरहँदा केरुङ नाका भने अझै अनिश्चित रहेको छ। बाढीपहिरोले चीनतर्फको सडकमा बढी क्षति भएको र मर्मतमा ढिलाइ हुँदा सञ्चालन अनिश्चित भएको हो।
चिनियाँ पक्षले सुरुमा तिहारअघि नै खोल्ने बताए पनि हालसम्म कुनै अपडेट नआएको रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्रप्रसाद प्याकुरेलले जानकारी दिए।