काठमाडाैं। प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा थोरै बढेको छ।
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले १ अर्ब ४ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.६२ प्रतिशत मात्र बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी सामान्य बढेपनि सञ्चालन मुनाफा घटेका कारण बैंकको खुद नाफा थोरै मात्र बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.१६ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ९.६४ प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ५.९५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ८.९२ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज बढेका कारण सञ्चालन मुनाफा घट्न पुगेको हो।
असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ करोड ४७ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ५९ पैसा रहेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि थोरै बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ११ पैसा बढेर १७ रुपैयाँ ६८ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ९३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १४.९९ गुणा रहेको छ।
२३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ९.४३ प्रतिशत बढेको छ। त्यस्तै, सो अवधिमा बैंकको निक्षेप ०.३२ प्रतिशत र कर्जा तथा सापटी १.१७ प्रतिशत घटेको छ।