काठमाडौं। नेपाल अन्डा र मासुमा आत्मनिर्भर हुँदाहुँदै अमेरिकाले निर्यात गर्न पाउने बाटो खुलाइएपछि व्यवसायीको गुनासो बढेको छ। २०८१ भदौ ३१ मा काठमाडौंमा भएको नेपाल–अमेरिका ट्रेड एन्ड इन्भेष्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट (टिफा) को सातौं बैठकमा अमेरिकाले नेपालमा कुखुराको मासु निर्यात गर्न पाउनुपर्ने प्रस्ताव राखेको थियो।
नेपालले उक्त अमेरिकी प्रस्तावलाई खुला व्यापार नीति अँगालेको भन्दै स्वीकारेपछि पोल्ट्री व्यवसायमा संलग्न उद्योगी चिन्तित छन्।तर, व्यवसायीले भने नेपाल आफैं आत्मनिर्भर भएको पोल्ट्री उद्योग उत्पादनमा अमेरिकी आयातको बाटो खुला गरिएको भन्दै गुनासो गरेका हुन्।
हुन त, नेपालमा वैधानिक रुपमा मासु भित्र्याउन सरकारले रोक लगाएको छैन। तोकिएको मापदण्ड पूरा गरेर मासु वा मासुजन्य वस्तु निर्यात गर्न सकिन्छ। झन् खुला रुपमा अमेरिकाबाट मासु आयात बाटो खुला गर्दा नेपाल यस्ता सामग्रीको डम्पिङ साइट हुने र नेपालको पोल्ट्री व्यवसाय धराशयी बन्ने त्रास बढेको छ।
यसै पनि नेपालमा भारतबाट चोरी पैठारी भएर मासु र चल्ला आउने क्रम बढिरहेको छ। भारतमा मासु सस्तो भएका बेला नेपालमा सीमाबाट अनौपचारिक तरिकाले मासुको व्यापार हुने हुँदा नेपाली व्यवसायी मारमा परिरहेको गुनासो छ। अमेरिकाबाट मासु आयात हुँदा यसले पोल्ट्री व्यवसायलाई थप असर पु¥याउन सक्ने आशंका व्यवसायीमा बढेको हो।
अमेरिकाले नेपालमा मासु निर्यात गर्दा नेपालमा कुन मूल्यमा कसरी आउँछ भन्ने कुरा मुख्य भएको पोल्ट्री व्यावसायी दिनेश गौतम बताउँछन्। ‘अमेरिकी मुल्यदरमा अर्थात् त्यहाँ चलेको मूल्यमा नै मासु आयात भए त्यसले नेपालमा असर पर्न सक्छ। नेपालमा कुखुराको मासु विदेशको भन्दा धेरै महंगो छैन,’ गौतमले भने, ‘त्यहाँबाट ल्याइँदा ढुवानी खर्च लाग्छ। मासुमा ३० प्रतिशत कस्टम ड्युटी छ। त्यो तिरेर मासु आउँछ भन्ने हामीलाई लाग्दैन। यदि कुनै तरिकाले डम्पिङ भएर आयो भने यसले थप समस्या खडा गर्छ।’
चालू आर्थिक वर्षको बजेटमा सरकारले (प्यारेन्ट) माउ जातिको चल्लामा पनि १० प्रतिशत अग्रीम आयाकर लगाएको छ। यसले केही रुपमा व्यवसायीलाई असर गरेको गौतम बताउँछन्। सरकारले नेपालमा उत्पादन नहुने वस्तुमा आयकर लगाउन नहुने उनको तर्क छ।
‘नेपालमा उत्पादन हुने वस्तुमा कर लगाए केही फरक पर्दैन झन् त्यसले नेपालको उद्योगलाई नै प्रोत्साहन हुन्छ,’ गौतम भन्छन्, ‘नेपालमा ग्रान्ड प्यारेन्ट उत्पादन हुँदैन। त्यो अमेरिका न्युजिल्यान्डदेखि आयात गर्नुपर्छ। यसमा १० प्रतिशत कर लगाएकाले त्यसको असर हाम्रो कुखुरापालनमा परेको छ।’
अमेरिकामा नयाँ प्रविधि अँगालेर कुखुरापालन गरेकाले कुखुरा सस्तो हुन्छ। अमेरिकामा प्रायः छातीको मासु बढी मात्रामा प्रचलनमा छ। त्यहाँ खासै प्रयोग नहुने कुखुराको फिला र अन्य भागका मासु मात्रै भित्रिए नेपाल डम्पिङ साइट बन्ने गौतमको तर्क छ। यदि, यस्तो भए नेपालको पोल्ट्री व्यवसाय धरापमा पर्ने उनी बताउँछन्।
पोल्ट्री व्यवसायका लागि आवश्यक मुख्य विषय भनेको कच्चा पदार्थ हो। कच्चा पदार्थमा नेपाल आत्मनिर्भर नभएका कारण अन्यत्रबाट आयात गर्नुपर्ने अवस्था छ। यो पनि नेपाली व्यवसायीका लागि चुनौतिको विषय भएको अर्का पोल्ट्री व्यवसायी रवि पुरी बताउँछन्।
‘दाना बनाउन मकै र भटमासको पिना आवश्यक हुन्छ, जसमा भटमासको पिना शतप्रतिशत आयात गर्नुपर्ने बाध्यता छ,’ पुरी भन्छन्, ‘वार्षिक लगभग २० अर्बको भटमासको पिना हाम्रोमा आयात हुन्छ। यस वर्ष मकैको आयात पनि बढेको छ।’
व्यवसायी पुरीले ७० प्रतिशत मकै बाहिरिबाट आयात गर्नुपर्ने भएकाले पनि दाना उत्पादन महँगो पर्न गएको बताए। पछिल्लो समय रसिया– युक्रेन युद्धका कारण कच्चा पदार्थको मूल्य बढिरहेको थियो। यही समयमा भारतले इथोनिया फ्याक्ट्री खोलेको छ, जसका कारण मकैको मूल्य थप महँगिएको छ।
मकैको मूल्य बढ्दा पोल्ट्री व्यवसायी नै समस्यामा परेका छन्। कच्चा पदार्थको महंगीका कारण समस्यामा परिरहेका व्यवसायीलाई थप मर्कामा पार्ने कार्य उचित नहुने पुरीको तर्क छ। खुला व्यापार नीतिका कारण नेपालले अमेरिकाको मासु निर्यात गर्न पाउनुपर्ने प्रस्तावलाई स्वीकारे पनि आयात सुरु भने भइसकेको छैन।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारी नेपालको अवस्था हेरेर अभाव हुने समयमा व्यवसायीको मागअनुसार मार्ग प्रशस्त हुन सक्ने बताउँछन्। यद्यपि, पहिले नै एक हिसाबको सहमति भइसकेको उनले उल्लेख गरे।
‘मासु निर्यात विषय यस पटक सम्झौता भएको नयाँ होइन,’ प्रवक्ता अधिकारी भन्छन्, ‘यसमा पहिले नै सहमति भए पनि कार्यान्वयन भएन भन्ने कुरा उठेको हो। उक्त विषयमा कुराकानी गर्दा हामीलाई अप्ठ्यारो छैन, अघि बढाैंला भनेका मात्रै हौं।’
अमेरिकाबाट सुँगुर र कुखुराको मासु आयात गर्न दिने–नदिने, कुन परिमाणमा दिने भन्ने विषय नेपाली बजार र यहाँको कृषकको अवस्था हेरेर तय हुने उनको भनाइ छ।
कृषकको हित संरक्षण गर्ने तथा आत्मनिर्भर भइसकेको पोल्ट्री व्यावसायलाई संरक्षण गर्ने कुरामा सरकार सचेत रहेको प्रवक्ता अधिकारी बताउँछन्। ‘आयातमा परिमाणात्मक बन्देज लगाउन पनि सकिन्छ। तर, पूर्ण रुपमा आयात गर्नै दिन्नँ भन्न मिल्दैन,’ प्रवक्ता अधिकारी भन्छन्, ‘हामी विश्व व्यापार संगठन (डब्लुटिओ)को सदस्य र अन्तर्राष्ट्रिय व्यापार सञ्जालमा जोडिएकाले अस्वीकार गर्न पनि मिल्दैन।’ यो समग्र अवस्था हेरेर अगाडि बढ्नुपर्ने अधिकारीको तर्क छ।
पोल्ट्री उद्योगमा १ खर्ब ६० अर्बको लगानी
पोल्ट्री उद्योग नेपालको ठूलो क्षेत्र हो। यसमा १ खर्ब ६० अर्ब रुपैयाँ बराबरको लगानी छ। यो व्यवसायमा लगानी बराबरको व्यापार पनि हुँदै आएको छ।
नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी)मा यसको २.९ प्रतिशत योगदान छ। नेपालमा पोल्ट्री उद्योगमा प्रत्यक्ष २ लाख र अप्रत्यक्ष ५ लाख मानिसले रोजगारी पाएका छन्।
नेपालको पोल्ट्री उद्योगमा ११३ वटा दाना उद्योग सञ्चालनमा छन्। ५ वटा ग्रान्ड प्यारेन्ट फार्म, ह्याचरी फार्म बोइलरका लागि १३५ भन्दा माथि र लेसका निम्ति ८ वटा छन्। नेपालभर ७० हजार कृषक जोडिएका छन्। नेपालको पोल्ट्री उद्योगमा वार्षिक रुपमा मासु, अन्डा गरी १ खर्ब ६० अर्ब बराबरको कारोबार हुने गरेको छ। यो क्षेत्रमा बैंकको ८० अर्ब बढी ऋण लगानी रहेको छ।