काठमाडौं। भारतको उडड्यन क्षेत्र यतिबेला त्रासमा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। एक साताभित्रै १३० बढी विमान बमले उडाइदिने धम्की आएपछि सरकारी स्वामित्वको एयर इन्डियासहित इन्डिगो, विस्तारा, अकासा, स्पाइसजेट, स्टार एयर, अलायन्स एयरलगायत कम्पनीले २०० करोड भारु नोक्सानी बेहोरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
एक सातादेखि निरन्तर विमान बमले उडाइदिने धम्की आएसँगै सयौं उडान इमर्जेन्सी अवतरण, क्यान्सिलसमेत गर्नु परेपछि भारतका नागरिक उड्डयनमन्त्री राममोहन नायडुले सोमबार विमान उडाइदिने धम्की फर्जी भए पनि यसलाई हल्का रुपमा नलिएर कडा कानुन ल्याउने तयारी भइरहेको बताएका छन्।
सोमबार मध्यराती मात्रै ३० वटा विमानलाई बलमे उडाइदिने धम्की आएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। भारतीय समाचार संस्था पीटीआईका अनुसार सोमबार मात्रै इन्डिगो, विस्तारा र एयर इन्डियाका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सेवामा बलमे उडाइदिने धम्की आएको छ।
इन्डिगोका प्रवक्ताले मंगलबार बताएअनुसार सोमवार कम्पनीका चार उडान क्रमशः मंगलुरु–मुम्बई उडान, अहमदावाद–साउदीको जेद्दा उडान, हैदरावाद–जेद्दा उडान र लखनऊ–पुणे उडान बमले उडाइदिने धम्की आएको थियो।
यस्तै, विस्तारा र एयर इन्डियाका प्रवक्ताले मंगलबार जानकारी दिएअनुसार सोमबारका केही उडानमा सामाजिक सञ्जालबाट सुरक्षासम्बन्धी धम्की प्राप्त भएका थिए। बमले विमान उडाइदिने धम्की आउनासाथ सरकारी अधिकारीलाई त्यसबारे जानकारी गराइएको विस्तारा र एयर इन्डियाका प्रवक्ताले बताएको पीटीआईको भनाइ छ।
लगातार बमले विमान उडाइदिने धम्की आएपछि केन्द्रीय उड्डयनमन्त्री नायडुले भनेका छन्, ‘धम्की दिनेको नाम ‘नो फ्लाई लिस्ट’मा सामेल गर्दै छौं। सरकारले विमान सुरक्षा नियम र नागरिक सुरक्षाविरुद्ध भइरहेका गैरकानुनी हर्कतविरुद्ध दमन अधिनियम, १९८२ मा संशोधनको योजना बनाइरहेको छ। विमान सुरक्षा ब्युरो (बीसीएएस) यस मुद्दामा निरन्तर गृह मन्त्रालयको सम्पर्कमा छौं।’
एयर मार्सलको संख्या दोब्बर
विमान सेवामा निरन्तरको अवरोधपछि केन्द्र सरकारले १६ अक्टुबरदेखि उडानमा एयर मार्सलको संख्या दोब्बर बनाउने निर्णय गरेको छ भने गृह मन्त्रालयले फर्जी धम्कीबारे नागरिक उड्डयन मन्त्रालयसँग रिपोर्ट माग गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
विमान कम्पनीका सीईओसँग बैठक
भारतीय विमानलाई बमद्वारा उडाइदिने धम्की आएपछि ब्युरो अफ सिभिल एभियसन सेक्युरिटीले अक्टुबर १९ मा सबै विमान कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँग छलफल गरेको छ। छलफलमा फर्जी धम्कीलाई निस्तेज बनाउन, यात्रुले पाएको असुविधा हटाउन र विमान कम्पनीले बेहोर्नुपरेको नोक्सानीबारे चर्चा भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
यस्तै, भारतीय उड्डयन प्राधिकरण प्रमुख विक्रमदेव दत्तलाई पदबाट हटाएर कोइला मन्त्रालयमा सचिवको जिम्मा दिइएको छ। पीटीआईका अनुसार मुम्बई पुलिसले विमान उडाउने धम्की दिने दुई जनालाई मुम्बई र कोच्चीबाट पक्राउ गरेको छ। यस्तै, छत्तीसगढको राजनान्दबाट एक जना नाबालिगलाई हिरासतमा लिइएको छ।
बमको सूचना पाएलगत्तै विमानलाई निर्धारित एयरपोर्टको साटो नजिक रहेका विमानस्थलमा उतारिँदै आएको छ। यसले गर्दा इन्धन खपत बढी भएको छ भने यात्रुलाई होटलमा राख्नुपर्दा विमान कम्पनीले थप व्ययभार बेहोर्नुपरेको छ।
भारतको पञ्जाब राज्यलाई छुट्टै देश बनाउन पृथकतावादी आन्दोलन चलाउँदै आएको खालिस्तान समूहका प्रमुख गुरपतवन्त सिंह पन्नुले भिडियोमार्फत भारतीय विमान कम्पनीलाई बमद्वारा उडाइदिने धम्की दिएको बताइन्छ। भारतले गुरुपतवन्त सिंहलाई आतंकवादी घोषणा गरेको छ।–एजेन्सीको सहयोग