काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललितपुर महानगर–५ स्थित महालक्ष्मीस्थानमा कार्यालय रहेको मितेरी बचत तथा ऋण सहकारीको रकम अनियमिततामा संलग्न ज्योति गुरुङ र ज्योति भण्डारी खोजीका लागि इन्टरपोललाई पत्राचार गर्न प्रहरी मुख्यालयलाई सिफारिस गरेको छ।
सीआईबीले प्रहरी मुख्यालयलाई मंगलबार सहकारी अनियमितता गरेर फरार रहेका गुरुङ र भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न सिफारिस गरेपछि नेसनल सेन्ट्रल ब्युरो (एनसीबी)ले इन्टरपोलको सचिवालयमा पत्राचार गरेको हो।
मितेरीका सञ्चालक समिति सदस्य बोधविक्रम थापाले सीआईबीमा जाहेरी दिएपछि रकम अपचलनबारे सीआईबीले अनुसन्धान गरिरहेको छ।
मितेरी सहकारीमा कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ प्रबन्ध निर्देशक हुन् भने बर्दियाका ज्योति भण्डारीले पनि ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको सीआईबी छानबिनले देखाएको छ।
यद्यपि, ठगी मुद्दाबाट बच्न धनराज र ज्योतिले २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन्धविच्छेद गरेको भेटिएको छ। कांग्रेसभित्र धनराज सहकारी ठगीमा संलग्न रहे/नरहेकोबारे छानबिनको आवाज उठिरहेका बेला सीआईबीले पत्नी ज्योति खोज्न रेड कर्नर नोटिसका लागि प्रहरी मुख्यालयलाई सिफारिस गरेको हो।
सहकारी विवाद आएपछि उनीहरुले कागजी सम्बन्धविच्छेद गरेको आरोप लागेको छ। मितेरीको रकम अपचलन आरोपमा गुरुङ, भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादवविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ।
सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार मितेरी सहकारीमा रकम अपचलन गरेका गुरुङ, भण्डारी विदेशमा भएको आशंकासहित इन्टरपोलमा रेड नोटिस जारी गर्न सिफारिस गरिएको हो।
इन्टरपोलबाट नोटिस जारी भए इन्टरपोलका सदस्य राष्ट्र रहेका १९५ देशका सुरक्षा निकायले खोजी गर्नेछन्। सहकारी रजिष्टारको कार्यालय बागमतीले पत्र पठाएपछि सीआईबीले मितेरीमा भएको घोटालाबारे छानबिन थालेको थियो।
छविलाल जोशीसँग बयान लिइँदै
गोर्खा मिडियामा रहँदा सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत संलग्न रहेको देखिएपछि पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीसँग मंगलबार जिल्ला सरकारी कार्यालय रुपन्देहीमा बयान लिइएको छ।
उनलाई सरकारी वकिल कार्यालयमा न्यायाधिवक्ता प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित, अनुसन्धान अधिकृतलगायतको उपस्थितिमा बयान लिन थालिएको हो।
बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना छविलाल पनि जोडिएपछि कास्की जिल्ला प्रहरीले कार्यालय रुपन्देहीमा अनुसन्धानका लागि पठाएको हो।