काठमाडौं। स्वदेशी व्यवसायीका कारण खानेतेलको मूल्यवृद्धि नभएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रष्ट्याएको छ।
विश्व बजारमै खाने तेलको कच्चा पदार्थको मूल्य अकासिएपछि नेपालमा मूल्य बढेको विभागले गरेको अध्ययनबाट देखिएको हो। खानेतेलको मूल्य अचाक्ली बढेको गुनासो आएपछि विभागले विश्व बजारमा तेलको मूल्य हेरेको थियो।
विभागले विश्व बजारमै कच्चा तेलको मूल्य अकासिएपछि नेपालमा पनि बढेको निष्कर्ष निकालेको हो। बजार अनुगमन गरी मूल्यवृद्धि नियन्त्रण र कारबाही गर्ने जिम्मेवारी पाएको विभाग चाडबाडको तेलको मूल्यमा बढेको भन्दा पनि विश्व बजारमै यही बेला वृद्धि देखिएको बताउँछ।
विभागका महानिर्देशक राजन पौडेल खानेतेलको मूल्यवृद्धिका गुनासा आए पनि अनुगमन गर्ने कुनै ठाउँ नै नपाएको बताउँछन्। ‘उपभोक्ताबाट गुनासो आएपछि व्यापारीसँग मूल्यवृद्धिको कारण मागेर अध्ययन गरेका थियौं,’ महानिर्देशक पौडेलले भने, ‘उहाँहरुले नै विश्व बजारबाट महँगोमा तेल ल्याएको देखेपछि कारबाही गर्न सकिएन।’
व्यापारीले अन्तर्राष्ट्रिय बजारमै कच्चा पदार्थको मूल्यवृद्धि भएका कारण नेपालमा तेलको मूल्य बढेको बताइरहँदा सरकारी निकाय वाणिज्य विभागले पनि त्यसलाई पुष्टि गरिदिएको छ। ‘व्यापारीले कच्चा पदार्थ ल्याउदा नै महँगो शुल्क तिरेर ल्याएको हुँदा मूल्य बढेको देखियो,’ महानिर्देशक पौडेलले भने, ‘उहाँहरुले पनि घाटामा तेल बेच्ने कुरा भएन।’
विभागले चाडवाडका बेला तेल अभाव हुन नदिन ध्यान दिइरहेको जनाएको छ। यस्तै मैदा, चिनीलगायतका सामग्री बजारमा अभाव हुन नदिन सम्बन्धित निकायसँग छलफल गरी निरन्तर रुपमा अनुगमन गरिरहेको बताएकाे छ।
तर, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले दसैं अगाडि नेपाल चामल, तेल, दाल उत्पादक संघले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटेर केही थान चामल, दाल बाढीपीडितलाई सहयोग गरेकाे बदलामा तेलको मूल्यवृद्धि गराएको आरोप लगाए।
सहयोगको नाममा केही थान सामग्री सरकारलाई दिएर उपभोक्तालाई चाडवाडको मुखमा महँगोमा तेल बेचेको बताउँदै कारबाही गर्ने निकाय नै व्यापारीको प्रभावमा पर्दा उपभोक्ता मारमा परेको उनकाे दाबी छ। व्यापारीले अन्तर्राष्ट्रिय रुपमै कच्चा पदार्थको मूल्य बढेको र बजारमा तेलको माग अत्यधिक रहेकाे बताएर कार्टुनमै ४ देखि ५ सय रुपैयाँसम्म मूल्य बढाएका छन्।
सनफ्लावर र भटमासको तेल प्रतिकार्टुन २ हजार २५० देखि २ हजार ३ सय रुपैयाँसम्म होलसेल मूल्य पुगेको छ। यसअघि सोही तेल प्रतिकार्टुन १ हजार ९०० रुपैयाँसम्म होलसेल मूल्य थियो। यस्तै, तोरी तेलमा प्रतिकार्टुन २ हजार ५५० देखि २ हजार ६०० रुपैयाँ होलसेल मूल्य थियो भने अहिले ३ हजार रुपैयाँसम्म पुगेको छ। खुद्रा बजारमा यसकाे मूल्य अझ बढ्छ।
सनफ्लावर र भटमासको तेलको होलसेल मूल्य प्रतिलिटर २३० रुपैयाँसम्म पुगेकाे छ। खुद्रा मूल्यमा बिक्री गर्दा २६० देखि ७० रुपैयाँसम्म पुगेको छ। यस्तै तोरीको तेलको मूल्य प्रतिलिटर ३१९ रुपैयाँसम्म पुगेको छ।