काठमाडौं। पूर्वी र मध्य नेपाललाई संघीय राजधानी काठमाडौंसँग जोड्ने बिपी राजमार्ग असोज १०–१२ सम्मकाे अविरल वर्षापछिकाे बाढीले क्षतविक्षत बनायो। बिपी राजमार्ग मात्रै क्षतविक्षत भएन, सिन्धुली–रामेछाप जोड्ने सुनकोसीमा बनेको खुर्कोटको मोटरेबल पुल पनि सोही बाढीको सिकार भयो।
सामान्य अवस्थामा एउटा पुल बनाउन वर्षौं लागिरेहको नेपालको सन्दर्भमा नेपालीको पर्व दसैंका बेला उक्त पुल तत्कालै बन्ने सम्भावना थिएन। नेपालको खरिद नियमका कारण काम गर्न चाहने कर्मचारी र निकायलाई सहज वातावरण पनि छैन।
तर, रणनीतिक महत्त्वका सडक र पुल निर्माणको दायित्व भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छिटो पुल सञ्चालनका लागि नेपाली सेनालाई जिम्मेवारी दियो। हरेक आपतविपतका बेला सम्झिने र राज्यले अगाडि सार्ने सेनाले दुई सातामै बेलीब्रिज जडान गरेको छ।
सुनकोसीमा पानीको बहाव बढी भएको, भौतिक मन्त्रालयसँग आपतविपतको समयमा प्रयोग हुने साधन र जनशक्ति नभएको तथा छोटो प्रक्रियाबाट काम गर्न सेनालाई सहज हुने भन्दै भौतिक मन्त्रालयले ब्रिज जडानको जिम्मेवारी सेनालाई दिएको थियो। १०० मिटर लामो पुलमध्ये ५० मिटर सुनकोसीको बाढीले बगाएपछि बाँकी ५० मिटर भागमा बेलीब्रिज जडान गरिएको हो।
५८ सेना फिल्डमा
दुई सातामै खुर्कोटमा बेलीब्रिज तयार गर्न ५८ सेनामा जवान खटिएका थिए। महासेनानी (कर्नेल) नारायण तुम्बाहाम्फेको नेतृत्वमा खटिएको सेनाको ब्रिज युनिटले दैनिक १७ घण्टासम्म काम गरेको थियो। कर्नेल तुम्बाहाम्फेका अनुसार बिहान ६ देखि राती ११ बजेसम्म काम गरेर बेलीब्रिज तयार भएको हो।
‘५८ मध्ये ४० जनाले ब्रिज जोड्ने काम गरियाे्गर भने बाँकी जवानले सुरक्षा दिने, फोटो खिच्ने, बोट चलाउने, अन्य आवश्यक सहजीकरण गरेको छौं,’ उनले भने। तर, कर्नेल तुम्बाहाम्फे सामान समयमा उपलब्ध नहुँदा एक सातामा गर्न सकिने कामलाई दुई साता लगाउनुपरेको बताउँछन्। ५८ सैनिक जवानसहित दुई वटा बोट सुनकोसीमा चलाइएको थियो।
भौतिक मन्त्रालय अन्तरर्गतको सडक विभागले बेलीब्रिज उपलब्ध गराएको र त्यसलाई सेनाले जडान गरेको हो। असोज २० मा खुर्कोटमा सामान पुगे पनि सम्पूर्ण सामान आवश्यकताअनुसार उपलब्ध नहुँदा सेनाले ब्रिज जडानलाई तिव्रता दिन सकेको थिएन।
‘फिल्डमा सेनादेखिए पनि यसमा सडक कार्यालयको उति नै भूमिका थियो। १६ मध्ये ८ दिन मात्रै काम भएको हो,’ क्यापिटल नेपालसँग कर्नेल तुम्बाहाम्फे भन्छन्, ‘दसैं लागेर होला, असोज २४ बाट पुलको सामान ल्याउने काम रोकियो। हामीले ८ दिन काम गर्न पाएनौं।’
दसैंको बेला सामान अभाव भएर काम रोकिए पनि सेनाको टोली खुर्कोटमै बस्यो। अधिकांश मानिस दसैंमा रमाउँदै गर्दा सेनाको टोली अनवरत रुपमा पुलको काममै व्यस्त थियो। फलस्वरुप दसैंमा सहज यात्रा गर्न नपाए पनि सर्वसाधारणको तिहार यात्रा सहज हुने भएको छ। असोज २० बाट सुरु भएको ५० मिटर लामो बेलीब्रिज जडानको काम कात्तिक ५ मा सकिएर प्राविधिक परीक्षण सुरु भएको छ।
जनप्रतिनिधको सक्रियता
खुर्कोटको पुल दुई सातामै तयार हुनुमा नेसाली सेनाकाे मात्रै होइन, जनप्रतिनिधिको भूमिका उति नै छ। सामान्यतया सांसद भएपछि काठमाडौंमा बढी देखिने तर, जिल्ला नफर्किने जनप्रतिनिधि यसपालिको विपतमा भने जनताको साथमा पुगेका थिए।
विशेषगरी रामेछापका प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री कान्छाराम तामाङ खुर्कोटको पुल निर्माणमा बढी सक्रिय देखिए। सडक विभागले हेटौंडामा राखेको बेलीब्रिजको सामान आफैं लिन पुग्नेदेखि खुर्कोटमा काम भइरहँदा पनि उनी उतिकै सक्रिय थिए।
हुन त, काठमाडौं–रामेछाप यात्रा गर्ने कान्छारामलाई मत दिएर पठाएका जनताका लागि महत्वपूर्ण रहेको खुर्कोट पुल पुनःनिर्माणमा राज्यमन्त्री तामाङको सक्रियता बढी हुनु स्वाभाविकै थियो। आफ्नो जिल्लाबासीले पुल विच्छेदपछि भोगेको समस्या समाधानमा फिल्डमै सेनासँग राज्यमन्त्री उत्रिएका थिए।
त्यसबाहेक गृहमन्त्री रमेश लेखक, भौतिक मन्त्री देवेन्द्र दाहाल, सिन्धुलीका सांसद्वय राजन दाहाल र श्याम घिमिरे, ओखलढुंगाका सांसद रामहरि खतिवडा, सांसद महेश बस्नेतलगायत प्रदेश र स्थानीय सरकारका जनप्रतिनिधि पनि खुर्कोटमा बेलीब्रिज जडान गर्न लागिपरेका थिए।
मन्त्रीले पुल उद्घाटन गर्दै
नयाँ जोडिएको पुल उद्घाटन गर्न भौतिक मन्त्री देवेन्द्र दाहाल कात्तिक ६ मा खुर्कोट जाने भएका छन्। मन्त्रीसँगै सडक विभागका महानिर्देशक रामहरि पोखरेल जाने कार्यतालिका रहेको मन्त्री दाहालका प्रेस सल्लाहकार गोपाल झापालीले जानकारी दिए। बेलीब्रिज उद्घाटनमा भौतिक मन्त्री दाहालसँगै राज्यमन्त्री तामाङ पनि सहभागी हुनेछन्।
मन्त्री र महानिर्देशकले अनुगमन गरेपछि पुल उद्घाटन भएर सर्वासाधारणका लागि खुला हुनेछ। बाढीले क्षति पुर्याउँदा १३ दिन बन्द भएर असोज २५ बाट एकतर्फी सञ्चालनमा आएको बिपी राजमार्गको स्थलगत अनुगमन गर्दै मन्त्री दाहालको टोली खुर्कोट जानेछ।