काठमाडौं। कपडा ब्रान्ड ‘ट्राइकोट’ले आफ्ना उत्पादनको तीनदिने सेल लगाउने भएको छ। हरेक वर्षको जाडोमा जस्तै यस वर्ष पनि उत्पादित कपडाको सेल लगाउन लागिएको ट्राइकोटकी सिनियर बिजनेस डेभलपमेन्ट अफिसर श्रेष्का आचार्यले बताइन्।
असोज ९ देखि ११ सम्म ललितपुरको झम्सीखेलस्थित ‘द लन रेष्टुरेन्ट’मा ट्राइकोटका कपडाको सेल मेला लाग्नेछ। बिहान ११ देखि राती ८ बजेसम्म ३ दिन चल्ने सेलमा स्विटर, सल, टोपी, मोजालगायत जाडोका सामान पाइनेछ।
कम्पनीले कस्मिरे, उलन, पस्मिनाका सामान उत्पादन गर्दै आएको छ। विषेशगरी आफ्ना उत्पादन विदेश निर्यात गर्दै आएको ट्राइकोटले स्वदेशी ग्राहकहरुका लागि सेल सञ्चालन गर्न लागेको हो।
ग्राहक माग अधिक हुने भएकाले हरेक वर्ष सेल लगाउँदै आएको डेभलपमेन्ट अफिसर आचार्यको भनाइ छ। ‘हाम्रा उत्पादनको गुणस्तर बुझ्ने ग्राहक सेलको पर्खाइमा हुन्छन्,’ उनी भन्छिन्, ‘त्यस्ता ग्राहकलाई लक्षित गरेर ट्राइकोटले विगत वर्षदेखि नै सेल लगाउने गरेको छ।’ एक पटकको सेलमा औसतमा १५ लाखसम्मका सामान बिक्री हुने उनले बताइन्।
ट्राइकोट गत असोजमा ललितपुर उद्योग वाणिज्य संघबाट नेपालकै ठूलो पस्मिना निर्यातकर्ताका रुपमा ‘एक्स्पोर्ट एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मानित भएको थियो।
करिब २५ वर्षअघि चीन, भारत र नेपालकै व्यवसायीसँगको सामूहिक लगानीमा खुलेको ट्राइकोट २०६२ देखि गोल्यान ग्रुपको एकल स्वामित्वमा सञ्चालनमा छ। ट्राइकोटका उत्पादन युरोप, अमेरिका, भारतलगायत मुलुकमा निर्यात हुँदै आएका छन्।