काठमाडौं। सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाको अध्यक्षतामा नेपालको नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययनका लागि उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने निर्णय गरेको छ।
कात्तिक २ को मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन विश्लेषण गरी सुरक्षित, भरपर्दो र विश्वसनीय नागरिक उड्डयन प्रणालीको विकास गर्न पाँच सदस्यीय समिति गठन गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको हो।
समिति सदस्यमा हवाई सुरक्षा विज्ञ भेषराज सुवेदी, हवाई सेवा सञ्चालन तथा गुणस्तर व्यवस्थापन विज्ञ क्याप्टेन रिवाजप्रसाद प्रधान, हवाई व्यवस्थापन विज्ञ राजेन्द्रबहादुर सिंह र मन्त्रालयका सहसचिव सहसचिव रहेृका छन्।
मुलुकको हवाई उड्डयन क्षेत्रको समग्र सुधार गर्न, उड्डन सुरक्षा बलियो बनाएर नेपाली अकास सुरक्षित रहेको सन्देश दिन चालिनुपर्ने उपायरबारे सुझाव दिन उच्चस्तरीय समिति गठन भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण लामिछानले बताए।
उनका अनुसार समितिका पदाधिकारीलाई पर्यटन मन्त्रालयले आज नियुक्तिपत्रसहित जिम्मेवारी दिएको छ। छिट्टै काम थाल्ने गरी पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले समितिलाई जिम्मेवारी दिएको उनको भनाइ छ।
समितिले नागरिक उड्डयन क्षेत्रको समग्र सुधार गर्न पुराना सबै सुझाव र सिफारिसलाई एकमुष्ट कार्यान्वयनका लागि सिफारिस गर्नेछ।