काठमाडौं। घरमा प्रयोग हुने टायल, सोलार, धाराको टुटीमा पनि उपभोक्ता प्रत्यक्ष ठगिने गरेका छन्। एक पटक प्रयोग भएका सामान दोस्रो पटक बजारमा नपाउँदा उपभोक्ताले सास्ती भोग्दै आएका हुन्। अझ एउटा टायल फुटे सेटै फेर्नुपर्ने नभए त्यस्तै देखिने खाले राख्नुको विकल्प उपभोक्तासमक्ष हुँदैन।
त्यस्तै सोलार, कुर्सी र धाराको टुटीमा पनि त्यही खाले समस्या भोग्न बाध्य छन्, उपभोक्ता। बजारमा पाउने यस्ता खाले सामानको ग्यारेन्टी नहुने र मापदण्डसमेत नहुँदा बिक्रेताले तत्काल फाइदा लिएर बेचे पनि उपभोक्ताले भने सधैं झमेला बेहोर्नुपरेको छ।
व्यवसायीले विभिन्न अफर दिएर उपभोक्तालाई बेचे पनि दोस्रो पटक अर्थात् त्यही खाले सामान चाहिए नपाउने समस्या ठूलो छ।
निर्माण सामग्री व्यापार संघका अध्यक्ष मनिरत्न तुलाधार निर्माणजन्य सामग्री एक पटकमा एक डिजाइन आउने र अर्को पटक अर्कै डिजाइन आउने भएकाले उपभोक्तालाई समस्या भइरहेको स्वीकार्छन्। उत्पादक कम्पनीले नै भिन्न–भिन्न डिजाइनमा सामान उत्पादन गर्ने भएकाले बिक्रेताले समेत उपभोक्ताको गाली खानुपरेको उनको दाबी छ।
यदि कुनै डिजाइनका सामान निश्चित वर्षसम्म पाउनुपर्ने प्रावधान सरकारले ल्याए उत्पादक कम्पनीले सोहीअनुसारको बनाउने हुँदा बिक्रेतालाई सहज हुने उनले बताए।
निश्चित मापदण्ड नभएकै कारण कम्प्युटर, ल्यापटप र टेलिभिजनलगायतका सामग्री बिग्रिएपछि सामान पाउनै मुस्किल पर्ने गरेको छ। नयाँ मोडल आएपछि पुराना मोडलको सामान नराख्ने र बिग्रिएसँगै नयाँ किन्नुको विकल्प नरहेको उपभोक्ताको गुनासो छ।
नयाँ प्रविधि र मोडलका सामान आउँदा पुरानो पाउन समस्या हुने गरेको व्यवसायी नै बताउँछन्। ‘हामीले आयातकर्ताले जस्तो खाले सामान पठाउँछन्, त्यही बिक्री गर्ने हो, ‘सीएचएस कम्प्युटर सपोर्ट हाउसका सञ्चालक प्रल्हाद आचार्यले भने, पुराना कम्प्युटर, ल्यापटप र टेलिभिजनको सामान पाउन मुस्किल पर्छ।’