काठमाडौं। सामान्यतया नेपाली समाजमा २२/ २३ को उमेरलाई अल्लारे भन्ने गरिन्छ। पारिवारिक/ व्यावसायिक जिम्मेवारी काँधमा लिइनसकेको र अध्ययन सकाएर लयमा हिँडाउने उमेरको रुपमा परिभाषित गरिन्छ।
अल्लारे उमेर भएकाले जागिरे जीवनबाहेक आफ्नै स्वामित्वमा लगानी गरेर नयाँ व्यवसायको जिम्मेवारी दिने र लिने उमेर २२/२३ लाई लिइँदैन। एकाध व्यक्तिहरु यस्ता हुन्छन्, जो अल्लारे उमेरमै आफूलाई जिम्मेवार बनाउन लागिरहेका हुन्छन्। परिवारले पनि विश्वास गरेर उनको नाममा लगानी गरिरहेका हुन्छन्। तिनै व्यक्तिभित्र पर्नेमध्येका एक हुन् मोहित शेरचन।
उमेरले भर्खरै २३ वर्ष पुगेका शेरचनको काँधमा तीनतारे होटल महावीर प्यालेस जिम्मा छ। काठमाडौंको सोल्टीमोडस्थित सोल्टी होटलको आडमै रहेको महावीर प्यालेसको सम्पूर्ण जिम्मेवारी शेरचनले लिँदै आएका छन्।
शेरचन विगत दुई वर्षदेखि प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारीमा छन्। शेरचन उक्त होटलको सीईओ मात्रै भएर बसेका छैनन्, कोरोना महामारीबाट थलिएको प्यालेसलाई बेग्लै ऊर्जा र गति दिएका छन्।
हाल नेपालमा स्नातकोत्तर अध्ययन गरिरहेका शेरचन अमेरिकनबेस युनिभर्सिटीबाट एसुलेटेट हुन्। मोहित उमेश शेरचनका छोरा हुन्, जसले नेपाल क्रसर तथा खानी उद्योग व्यावसायी महासंघ अध्यक्षको रुपमा दुई कार्यकाल बिताइसकेका छन्। उनको परिवारको व्यवसाय होटल नभइ क्रसर रहेको छ। मोहितको परिवार क्रसर व्यवसायमा सक्रिय रहेका छन्।
परिवारको व्यवसाय होटल लाइन नभए पनि मामाको होटलमा काम गर्दैै जादा उनीमा होटलप्रति नै लगाव बढ्दै गयो। उनको मामाले वुटवलमा थ्री स्टार होटर सञ्चालन गरिरहेका छन्। बुटवलमा सञ्चालनमा रहेको होटल बनाउने सुरुवातदेखि नै उनले मामासँग सहायक भएर काम गर्ने मौका पाए। मामासँग हिँड्दा उनको होटलका मानिससँग चिनजान बढ्दै गएपछि यस क्षेत्रमा लगाव बढ्दै गयो। मोहितको होटल लाइनमा परिवारको कुनै पनि पृष्ठभूमि भने छैन।
१६ वर्षकै उमेरमा व्यवसायी
मोहितले व्यवसायको सुरुवात रिकन्डिसन हाउसबाट गरेका थिए। १६ वर्षको उमेरदेखि नै मोहितले व्यवसायमा हात हालेका हुन्। उनले सुरुमा मोटरसाइकलको व्यवसाय गरेका थिए।
रिकन्डिसन हाउसमा उनले लिलामीका बाइकहरु उठाएर बेच्ने गर्थे। रिकन्डिसन हाउस चलाउँदै गर्दा कोभिडको लहर आयो। र त्यसपछि उनले त्यो व्यवसाय छाडे। रिकन्डिसन हाउसको व्यवसाय छोडेपछि उनी घरजग्गाको कारोबारमा लागे।
मोहित हाउजिङ एण्ड रियल इस्टेट नामक संस्था जुन अहिले पनि दर्ता छ। घरजग्गाको कारोबार पछि तेस्रो चरणमा उनी ल फर्ममा लागे। पिपल्स ल फर्ममा आबद्ध भए। चौथो चरणमा उनले होटल व्यवसाय सुरु गरे।
‘हाम्रो थोरै सम्पत्ति थियो। होटलमा रुचि भएकाले त्यही सम्पत्ति मैले बैंकमा राखेर ऋण लिएर होटल सुरु गरे,’ शेरचन भन्छन्, ‘कर्मचारीको हाकिम म भए मेरो हाकिम बैंक हो। होटल व्यवसायको लागि मेरो परिवारले लगानी गर्दिएको होइन।’
उनले काठमाडौंको सोल्टीमोडमा महावीर प्यालेस नामक थ्री स्टार होटल चलाइरहेका छन्। उनले चलाइरहेको होटलमा ५८ वटा कोठाहरु रहेका छन्। त्यसभित्र २ वटा स्विट र बाकि प्रिमियम, डिलक्स र सुपर डिलक्स गरेर वर्गिकरण गरिएको छ। जसको मूल्य ४५ सय देखि सुरु छ भने स्विट रुम १६ हजारसम्ममा पाउन सकिन्छ।
विदेश जाने ट्रेण्ड चलिरहँदा नेपालमै व्यवसाय
पछिल्लो समय १२ पढेपछि विदेश जाने ट्रेण्ड चलिरहेको छ। उनी भन्छन्, होस्टलमा बस्दा हामी लगभग ३० जना एउटै ब्याजको केटाहरु थियौं। अहिले नेपालमा ४ जना मात्र छौं, लगभग सबै साथीहरु विदेश गइसकेका छन्।’
उनलाई पनि विदेश जान मन नभएर नेपाल बसेको भने होइन। उनको परिवार क्रसर व्यवसायमा लागेकाले परिवारले गरेको व्यवसाय हेर्दा हेर्दै उनलाई पनि व्यवसायमा रुचि लाग्न थाल्यो। बाहिर जाने मन भए पनि मामासँग सहयोगी भएर काम गरेपछि यही व्यवसायमा लागे।
उनी महावीर प्यालेसमा काम गर्न आउने कर्मचारीसँग हाकिम र कर्मचारी भन्दा पनि साथी बनेर काम गर्छन्। नजिक भएर काम गर्ने भएकाले उनले बेलाबेलामा कर्मचारीको धारणा पनि लिने गर्छन्। प्रायः नेपाली युवाहरुको एउटा खुट्टा नेपालमा र अर्काे खुट्टा विदेशमा हुन्छ। नेपालमा गर्ने काम भनेको विदेश जानुअघि उता नहुनजेलसम्म अडिने ठाउँ मात्र हो। धारणा लिने खण्डमा यस्तै भेट्टाएको उनी बताउँछन्।
उनी भन्छन्, युवाहरुले यस्तो सोच्नु पनि गलत भने होइन। नेपालमा ६ घण्टा खटिएर १० रुपैयाँ कमाउँछन् भने विदेशमा १०० को दरले कमाउँछन्। एक हिसावले मेरो पनि आफ्नै व्यवसाय नभएको भए त्यही नै गर्थे। शेरचनले महावीर प्यालेसमा छुट्टै खालको नियम बनाएका छन्।
उनको होटलमा हाउस किपिङमा काम गर्ने मान्छे २–३ महिना काम गरेर पर्फेक्ट भएपछि ३–४ महिनामा उसलाई वेटरमा सिफ्ट गर्ने र वेटरमा केही समय काम गरिसकेपछि फन्टमा काम गर्न राख्ने गरेका छन्। फन्टमा काम सिकेपछि किचेनमा काम गर्न पाउने छन्।
शेरचनको परिवार पहिलेदेखि नै व्यवसायमा संलग्न भएकाले उनलाई व्यवसायको सुरुवात गर्न भने त्यति कठिन भएन। तर, उनी जस्तै युवाहरुलाई नेपालमा नै अड्याउनको लागि सरकारको नीतिहरु राम्रो हुनु पर्ने उनी बताउँछन्।
‘सरकारले यस्तो नीति बनाउनु प¥यो कि नेपालमा काम गर्दा बाहिरको जति नभए पनि बाहिरको केही प्रतिशत यहाँ कमाउन्। आखिर घर भनेको घर नै हो,’ शेरचन भन्छन्, सरकारको नीति राम्रो नहुँदा युवाहरुमा म नेपालमा नै केही गर्छु विदेश जादिन भन्ने महसुस हुँदैन।’ शेरचनको जन्म काठमाडौंमै भयो। उनको पुर्खौली घर बाग्लुङ हो। उनी परिवारको एउटा मात्र छोरा हुन्। उनी भन्छन्, अध्ययन गर्नको लागि मलाई पनि विदेश जान मन थियो तर, केही कारणवस जान पाएन।
आर्थिक मन्दीका कारण होटल व्यवसाय फस्टाउन अझै समय लाग्ने
होटल व्यावसायीका लागि अबको ४–५ वर्ष भनेको परीक्षण समय हो। हाल देशव्यापी नै आर्थिक मन्दी चलिरहेको छ। अहिले पनि नेपाल मन्दीको नै स्टेजमा छ। मन्दीको चरणमा भारत र चीनको जनसंख्याको १ प्रतिशत मात्र पर्यटक नेपालमा आए पनि नेपालका लागि पुग्छ।
तर, अहिले त्यो १ प्रतिशत पर्यटक नआएकाले नेपालको होटल आन्तरिक पर्यटकसँग निर्भर भएकाले होटल व्यवसाय चल्न कठिन परेको छ। स्थानीय पर्यटकसँग निर्भर हुँदा उनीहरुसँग अहिले पैसा छैन। आर्थिक मन्दी हट्न र बजार राम्रो हुन अझै ३–५ वर्ष लाग्ने शेरचनको भनाइ छ।
‘होटल व्यवसायीका लागि अबको ३ देखि ५ वर्षको समय निकै कठिन छ। लुम्बिनका होटल अहिले ५० प्रतिशत बिक्रीमा छन्। त्यसको कारण भनेको त्यहाँको एयरपोर्ट नचल्नु हो,’ शेरचन भन्छन्, ‘पर्यटक त्यहाँ गौतम बुद्ध जन्मेको ठाउँ भनेर हेर्न जान्छन्। नेपालको बाटो त्यस्तो छ। सीधा उडान नभएपछि पर्यटक कम गए। मेरो विचारमा अबको ४ वर्षसम्म हामी व्यवसायी टिकाउने र फैलाउनका लागि नै बढी काम गर्नुपर्नेछ।’
शेरचन होटलमा बिहान ७ देखि बेलुकी १२ बजेसम्म खटेर काम गर्छन्। होटलमा बिहान आउने सबै सामग्री आफै लिएर चेक गर्ने गरेका छन्। आफ्नो व्यवसाय राम्रोसँग चलाउ भन्ने हिसाबमा उनले खाद्यान्नदेखि सबै सामाग्रीको हेरचाह आफै गर्छन्।