काठमाडौं । वाणिज्य बैंकहरुले दुई महिनामै साढे १७ अर्ब बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको चालु आर्थिक वर्षको साउन र भदौ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।
साउन र भदौ महिनामा मात्रै २० वटा वाणिज्य बैंकहरुले १७ अर्ब ६९ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । बैंकहरुको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा भने ६.३ प्रतिशत बढी हो । गत आवको पहिलो दुई महिनामा बैंकहरुले कुल १६ अर्ब ६४ करोड ८६ लाख ९० हजार रुपैयाँ नाफा कमाएका थिए ।
समिक्षा अवधिमा पाँच वटा बैंक अर्ब क्लब देखिएका छन् । नबिल, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबि), हिमालयन, कुमारी बैंकको नाफा अर्ब बढी देखिएको छ।
नाफामा नबिल बैंक नै पहिलो सूचीमा छ । बैंकले सर्वाधिक नाफा कमाएको छ । चालु आवको दुई महिनामा नबिलले १ अर्ब ६६ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत साउनमा मात्रै बैंकले ८० करोड ३३ लाख रुपैयाँ नाफा कमाएको थियो
नाफाकै आधारमा दोस्रो स्थानमा भने ग्लोबल आइएमई बैंक देखिएको छ । ग्लोबल आइएमईले दुई महिनामा १ अर्ब ५६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत साउनमा सर्वाधिक नाफा ८९ करोड २४ लाख रुपैयाँ कमाएको थियो । तर, भदौ अन्तसम्म आइपुग्दा भने दोस्रो पोजिशनमा पुगेको हो ।
गत साउनमा पाँचौं स्थानमा रहेको एनआइएमबि बैंक पनि भदौमा भने तेस्रो स्थानमा आएको छ । समिक्षा अवधिमा बैंकले १ अर्ब ४१ करोड २८ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ । साउनमा भने बैंकले ५७ करोड ७५ लाख ६० हजार रुपैयाँ नाफा कमाएको थियो ।
चौंथो स्थानमा रहेको हिमालयन बैंकले पनि दुई महिनाको अवधिमा १ अर्ब १६ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । पाँचौं स्थानमा फड्को मारेको कुमारी बैंकले भने १ अर्ब ८ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ ।
यस्तै, प्राइम बैंकले ९७ करोड ४६ लाख, प्रभूले ९१ करोड ३२ लाख, कृषि विकासले ८८ करोड ७० लाख, राष्ट्रिय वाणिज्य बैंकले ८८ करोड ३ लाख, लक्ष्मी सनराइजले ८६ करोड ४६ लाख र एभरेष्ट बैंकले ८२ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ ।
यता, एनएमबि बैंकले पनि ७८ करोड २ लाख, सानिमा ६८ करोड ९२ लाख, नेपाल बैंकले ६७ करोड ८२ लाख, स्ट्याण्डर्ड चार्टर्डले ६० करोड ६२ लाख, सिद्धार्थले ६० करोड ५६ लाख, सिटिजनले ५८ करोड ९८ लाख, एनआइसी एशिया ५७ करोड ७५ लाख, नेपाल एसबिआईले ५३ करोड ३९ लाख, माछापुच्छ्रे बैंकले ३९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।