काठमाडौं। पर्यटन क्षेत्रमा चार दशक बढी समय बिताएका वसन्त मिश्रको ७१ वर्षको उमेरमा निधन भयो। टेम्पल टाईगर ग्रुप अफ कम्पनीका संस्थापक मिश्रले आइतबार बिहान नर्भिक अस्पतालमा अन्तिम श्वास फेरे। गोर्खा ट्राभलको जागिरबाट पर्यटन क्षेत्रमा हामफालेका मिश्रले आफ्नो जीवननै पर्यटनमा क्रियाशिल बनाउँदै समाप्त गरे। मिश्रले पर्यटन क्षेत्रमा आफ्नो जीवन मात्र विताएनन् नेपालको पर्यटन क्षेत्रमा अतुलनिय योगदानसमेत दिलाएर गए।
विषेशगरी नेपालमा संख्यात्मक भन्दा गुणस्तरीय पर्यटक अर्थात् धनाढ्य पर्यटकहरु आउने गन्तव्यको रुपमा विकास गराउनुपर्छ भन्ने धारणाका मिश्रमा थियो। सोही अवधारणामा रहेर नै उनले सँध काम गरे। ट्राभलको जागिर छोडेर आफ्नै व्यवसाय सुरु गरेका मिश्रले चितवन राष्ट्रिय निकुञ्ज भित्र रिसोर्ट सञ्चालन गरी वाइल्डलाइफ टुरिजमको सुरुवात गराए। प्रकृती र पर्यटन सँगसँगै हुनुपर्छ भन्ने सोचका साथ अगाडि बढेका मिश्रले जंगलभित्रको रिसोर्ट बन्द भएपनि राप्ती किनारमा टेम्बर टाईगर ग्रिन रिसोर्ट सञ्चालन गरेर पर्यटकलाई जंगलको आभाष दिलाइरहे।
...
आफू बाचुन्जेल पर्यटन क्षेत्रमै क्रियाशिल रहने अठोट राखेका मिश्रले पर्यटन क्षेत्रकै चिन्ता गर्दागर्दै जीवन त्यागे। मिश्रको निधनले नेपालले पर्यटनको पायोनियर गुमाएको जसका हाल दुःख व्यक्त भइरहेको छ। चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सामाजिक सञ्जालमार्फत् मिश्रप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। ‘मेरा आत्मीय मित्र, नेपालको पर्या‑पर्यटन उद्योगका अनुयायी, टेम्पल टाईगर ग्रुप अफ कम्पनीका संस्थापक अध्यक्ष मिश्रजीको असामयिक निधनको खबरले स्तब्ध भएको छु। उहाँको निधनले मैले एक असल मित्र गुमाएको छु भने राष्ट्रले एक स्वप्नद्रष्ट्रा उद्यमी गुमाउनु परेको छ’ चौधरीले लेखेका छन्।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन(पाटा)का उपाध्यक्ष सुमन पाँडेले मिश्रको निधनले वाइल्डलाइफ टुरिजमको पायोनियर नै गुमाएको प्रतिक्रिया दिए। मुलुकमा खर्चालु पर्यटक भित्र्याउने र बसाईं अवधि बढाई पर्यटन क्षेत्रलाई विश्वबजारमा सकरात्मक सन्देश प्रवाह गर्नुपर्छ भन्ने प्रमुख विचारक मिश्रको निधनले ठूलो घाटा भएको उनको भनाइ छ। उनले भनेका छन् ‘मेरो पर्यटन जीवनको अभिन्न पथ प्रदर्शक वसन्तराज मिश्र को असामयिक निधनले मर्माहत् भएको छु।’
एमएस ग्रुपका अध्यक्ष एव् काठमाडौं म्यारियटका सञ्चालक शशिकान्त अग्रवालले मिश्रको निधनले पर्यटन क्षेत्रमा ठूलो क्षति भएको प्रतिक्रिया दिएका छन्। नेपालको पर्यटन क्षेत्रको विकासमा मिश्रको भूमिका अतुलनिय रहेको उनले उल्लेख गरेका छन्। अग्रवालले मिश्रको निधनले परिवारले मात्र नभएर मुलुकले नै एउटा असल अविभावक गुमाउनु परेको प्रतिक्रिया दिएका छन्।
‘यस्तो अतुलनीय मानव, महान मित्र र दूरदर्शी उद्यमीको दुखद निधनमा हार्दिक श्रद्धाञ्जली, यो परिवार, देश र पर्यटन क्षेत्रको लागि ठूलो क्षति हो,’ अध्यक्ष अग्रवालले भने ‘भगवानले यो अपूरणीय र असहनीय क्षति सहन गर्ने शक्ति प्रदान गरून र उहाँको आत्माले शान्ति पाओस।’
यती ग्रुपका अध्यक्ष सोनाम शेर्पाले मिश्रको निधनले वाइल्डलाइफ टुरिजमको प्रमुख प्रचारक गुमाएको बताएका छन्। विश्व पर्यटन बजारलाई नेपाल वाइल्डलाइफ टुरिजमको गतिलो गन्तव्य हो भनेर मिश्रले नै चिनाएको बताउँदै एउटा प्रचारक समेत गुमाएको उनको तर्क छ। ‘उहाँको निधनपछि वाइल्डलाइफ टुरिजमको बारेमा विश्वबजारलाई बुझाउने एउटा संवाहकनै टुट्यो,’ अध्यक्ष शेर्पाले भने।
कोर्रा टुर्सका प्रमुख कार्यकारी अधिकृत विजय अमात्यले पर्यटन क्षेत्रलाई व्यवस्थीत बनाउन र विश्व बजारमा प्रचारप्रसार गर्ने आधिकारीक निकाय नेपाल पर्यटन बोर्डको स्थापनाका लागि मिश्रको ठूलो भूमिका रहेको उल्लेख गरेका छन्। मिश्र पर्यटन बोर्डका संस्थापक सदस्य समेत हुन्। पर्यटन बोर्डसँगै पाटा स्थापना र सञ्चालनमा समेत मिश्रले अथक भूमिका निर्वाह गरेको अमात्यको तर्क छ। ‘मिश्र दाइ र मैलेसँगै ट्राभल एजेन्सीमा जागिर सुरु गरेका हौं,’ प्रमुख कार्यकारी अधिकृत अमात्यले भने, ‘म ट्राभलमै छु, उहाँपछि वाइल्डलाइफ टुरिजममा लाग्नु भयो र पायोनियर भएर जीवन बिताउनु भयोे।’
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले संस्थापक सदस्य मात्र नभएर पर्यटन क्षेत्रको अविभावकनै गुमाएको बताएका छन्। पर्यटन क्षेत्रमा मिश्रको अभाव सदैब खट्किरहने बताउँदै मिश्रले देखाएको बाटोलाई बोर्डले सँधै आत्मासाथ गरेर काम गर्ने दोशीको प्रतिबद्धता छ। यद्यपि, मिश्र पछिल्लो समय बोर्ड सञ्चालन र बोर्डको गतिविधि प्रति रुष्ट बनिरहेका थिए। मिश्रको निधनप्रति नेपाल उद्योग परिसंघले पनि दुःख व्यक्त गरेको छ। मिश्रले परिसंघमा सन् २०१३ देखि सन् २०१६ सम्म उपाध्यक्ष भएर काम गरेका थिए।