काठमाडौं। पछिल्लो पटक असोज १३ गते २४६४.४० (त्यस दिन २४४२.५७ न्यून बिन्दु)सम्म खुम्चिएर बढ्न थालेको बजारले दसैंपछि पनि निरन्तरता पाएको छ। २०८१ असार १६ गते २०३७.०९ बिन्दुमा रहेको सूचक लगातार ७ साता उकालो लाग्दै साउन ३१ मा ३०००.८१ बिन्दुसम्म पुगेको थियो।
७ सातैसम्म ९६३ अंकले बढेको बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) भदौ लागेसँगै लगातार घट्दै गएर ५३६ अंकको गिरावटका साथ असोज १३ गते २४६४.४० (त्यस दिन २४४२.५७ न्यून बिन्दु) मा रोकिएको थियो।
तर, २४६४ बिन्दुबाट बढ्न थालेको नेप्से पछिल्लो १० कारोबार दिनमा २८० अंकले बढ्दै गत साताको अन्तिम कारोबार दिन बिहीबार (कात्तिक १ गते) २७४५.३६ बिन्दुसम्म पुगेको छ।
दसैं बिदाअघिको अन्तिम कारोबार दिन असोज २३ गते ४.८५ अंकले बढ्दै नेप्से २६६८.१७ बिन्दुमा रोकिएको थियो। पाँच दिन बन्द भएर खुलेको बजार दसैंपछिको तीन कारोबार दिनमा तीनै दिन उकालो लागेर ७७.१९ अंकको वृद्धिका साथ बिहीबार २७४५.३६ बिन्दुमा रोकिएको छ।
पछिल्लो पटक साउन ३१ गते नेप्से ३००० बिन्दुमा पुग्दा हालसम्मकै उच्च २९ अर्ब ३० करोड रुपैयाँको कारोबार भएको थियो। तर, सूचक घट्दै जाँदा कारोबार रकम पनि निरन्तर खुम्चिँदै ३ अर्बमा सीमित भयो।
गत साताको मंगलबार नेप्सेमा ३ अर्ब २ करोडको कारोबार भएकोमा बुधबार बढेर ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भयो। यस्तै, बिहीबार थप बढेर नेप्सेमा कुल ६ अर्ब ८८ करोडको कारोबार भएको छ।
समग्रमा गत साताको तीन कारोबार दिनमा नेप्सेमा कुल १५ अर्ब ३९ करोड रुपैयाँ बराबरको कारोबार भयो। अघिल्लो साताको चार कारोबार दिनमा भने नेप्सेमा कुल २० अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। पछिल्ला कारोबार दिनमा सूचकसँगै दैनिक कारोबार रकम पनि बढ्दै गएकाले बजार थप माथिल्लो बिन्दुतर्फ लम्किन खोजिरहेको देखिन्छ।
पछिल्लो दुई कारोबार दिनको कारोबार रकमले पनि हिजोका दिनमा पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ता केही मात्रामा बजार भित्रिन सुरु गरेको संकेत गर्छ।
साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसी अन्य कुरा यथावत् रहे तिहारअगाडि बजार थप केही माथिल्लो बिन्दुमा पुग्ने सम्भावना बढी रहेको बताउँछन्।
‘बजार माथिल्लो बिन्दुमा पुगेर घट्न सुरु गरेपछिबाट धेरैले बजार प्रवेशको बाटो खोजिरहेका थिए। तर, पछिल्लो दिन पर्ख र हेरको स्थितिमा रहेका मानिस पनि प्रवेश गर्न गरेकाले बजार तिहारसम्म थप बढेर माथिल्लो बिन्दुमा पुग्ने देखिन्छ,’ अध्यक्ष जिसी भन्छन्, ‘राजनीतिक अवस्था र अन्तर्राष्ट्रिय युद्ध आक्रमणले प्रभावित नपारेमा बजार सकारात्मक हुने सम्भावना बढी छ।’
अध्यक्ष जिसी रुस–युक्रेनयुद्धपछि फेरि हाल इजरायल–प्यालेस्टाइन युद्धले मानिसको मनस्तिथिमा असर पुर्याएको र हतोत्साहित गरेको बताउँछन्। यसको प्रभाव थप बढेमा त्यसको असर समग्र नेपाली बजारमा पर्न सक्ने उनको आकलन छ।
अन्यथा बजारको समग्र माहोल सकरात्मक रहेकाले नेप्से थप सुधार भएर जाने उनको तर्क छ। हुन त, हाल ब्याजदर न्यून बिन्दुमा छ भने ठूला लगानीकर्ताले लिने कर्जाको मात्रा पनि बढेर गएको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको दुई महिनामै बैंक तथा वित्तीय संस्थाबाट ९ अर्ब ६७ करोड रुपैयाँ बढीको सेयर धितोकर्जा प्रवाह भएको छ।
गत असार मसान्तसम्म ९० अर्ब ९३ करोड रुपैयाँ सेयर कर्जा प्रवाह भएकोमा दुई महिनामा साढे ९ अर्ब थप हुँदै ९९ अर्ब ७६ करोड पुगेको छ। राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत संस्थागत तर्फको २० करोडको सीमा हटाएसँगै सेयर कर्जाको लगानी बढेर गएको छ।
अर्कोतर्फ, बैंकिङ प्रणालीमा तरलता पनि निकै सहज स्थितिमा छ। गत बिहीबार पनि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमार्फत १ खर्ब रुपैयाँ तरलता खिच्ने जनाएको थियो। तथ्यांकअनुसार असोज २९ सम्म बैंकहरुले स्थायी निक्षेप सुविधामार्फत अधिक भएको ३ खर्ब ३१ अर्ब रुपैयाँ रकम राष्ट्र बैंकमा राखेको देखिन्छ।
बैंकमा अधिक तरलता रहेको स्थितिमा सेयर धितो कर्जाको जोखिम भार र व्यक्तिगततर्फको १५ करोडको सेयर धितो कर्जाको सीमा हटाउने विषय पनि चर्चामा छ।
गत आर्थिक वर्ष सुस्त रहेको कर्जा प्रवाहमा चालू वर्षको सुरुदेखि सुधार आउन थालेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। ब्याजदर घटेपछि बैंक तथा वित्तीय संस्थाहरुबाट जाने कर्जा बढ्न थालेको छ।
यी समग्र माहोल सकारात्मक रहेकाले लगानीकर्ताको मनोबल उच्च रहे सेयर बजार थप उकालो लाग्ने देखिन्छ। यद्यपि, सेयर लगानीकर्ताले भने यी समग्र विषयलाई हेरेर आफ्नो योजना र अध्ययनअनुसार नै लगानी तथा कारोबार गर्दै जानुपर्ने हुन्छ।