कम मूल्य र मध्यम आकारमा उपलब्ध भएकाले ह्याचब्याक कारप्रतिको आकर्षण बढ्दो छ। नेपाली सडक बढी जाम हुने र ठूला आकारका गाडी राख्न पनि असहज हुने भएकाले धेरैको रोजाइमा ह्याचब्याक कार पर्ने क्रम बढ्दै गएको हो। दिनहुँ आउजाउ गरिरहने र सीमित बजेट हुनेका लागि ह्याचब्याक नै हाल उत्तम विकल्प बनेको छ। नेपालमा ह्याचब्याक कार धेरै संख्यामा भित्रिइसकेका छन्।
धेरै ब्रान्डका धेरैथरी ह्याचब्याकमध्ये कुन रोज्ने भन्ने दुविधा ग्राहकसामू पनि पर्ने गर्दछ। तर, धेरै विकल्पमध्ये ‘केई क्युट ०२’ र ‘बिएडब्लु ब्रम्बी’ ह्याचब्याक धेरैका लागि उत्तम विकल्प बन्न सक्छ। सहर केन्द्रित र कम बजेटका ह्याचब्याकमध्ये यी दुई कार उपयुक्त देखिन्छन्। आकारमा सानो र फिचर लोडेड यी कार सहरी क्षेत्रमा यात्रा गर्न उपयुक्त मोडल भएकाले पनि धेरैको चासोमा यी गाडी पर्दै आएका छन्।
नेपाली बजारमा केई ब्रान्डको क्युट ०२ र बिएडब्लुको ब्रम्बी कार नाडा अटो शो मार्फत नेपालमा प्रवेश गरेको नयाँ ब्रान्डको मिनी कार हो। केई ब्रान्डको क्युट ०२ नेपालमा लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई–मोबिलिटिले ल्याएको हो। बिएडब्लुको ब्रम्बी ह्याचब्याक एलआरआर ग्रुपले ल्याएको हो।
गाडीको फिचरका आधारमा यी गाडीको मूल्य सस्तो छ। दुई ह्याचब्याक कार बिच मूल्यमा १ लाख ६ हजार रुपैयाँको फरक रहेको छ।
डेढ महिनाअघि मात्र नेपाली बजारमा इन्ट्री गरेको बिएडब्लुको ब्रम्बी ह्याचब्याकको मूल्य २१ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ। केई क्युट ०२ को दुई भेरियन्टमा उपलब्ध छ। यसको मूल्य १९ लाख ९६ हजार र २२ लाख ९६ हजार निर्धारण गरिएको छ।
केईको ब्याट्री र साइज अनुसार मूल्य फरक छ। दुई भेरियन्ट उपलब्ध रहेको केई क्युट ०२ को लङ रेन्ज भेरियन्ट मात्र नेपालमा उपलब्ध छ।
ब्याट्री तथा मोटर
यी दुई ह्याचब्याक बिच ब्याट्री तथा मोटर पावर भने फरक छ। केई क्युट ०२ मा १७.६९ किलोवाट आवर र २८ किलोवाट आवरको ब्याट्री अप्सन दिइएको छ। यसमा ४० किलोवाट आवरको मोटर जडान गरिएको छ। ब्रम्बी ह्याचब्याकमा १७.२८ किलोवाट आवरको ब्याट्री दिइएको छ। यसमा ३० किलोवाट पिकपावर मोटर रहेको छ।
रेन्ज
बिएडब्लुको ब्रम्बी ह्याचब्याक कारले २०५ किलोमिटर रेन्ज दिने कम्पनीले दाबी गरेको छ। केई क्युट ०२ ले एक पटकको फुल चार्जमा ३०० किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ।
ग्राउन्ड क्लियरेन्स
केई क्युट ०२ को ग्राउन्ड क्लियरेन्स १६५ रहेको छ भने ब्रम्बी ह्याचब्याकको ग्राउन्ड क्लियरेन्स १७० एमएम रहेको छ।
साइज
यी दुई गाडीमा साइज पनि फरक छ। क्युट ०२ भन्दा ब्रम्बी ह्याचब्याक साइजमा ठूलो छ। ब्रम्बी ह्याचब्याकको लम्बाई ३५३२ एमएम, चौडाइ १४९८ एमएम र उचाइ १६०५ एमएम छ। यसमा २२७५ एमएम लामो ह्विलबेस पाउन सकिन्छ।
केई क्युट ०२ को लम्बाइ ३३४५ एमएम, चौडाइ १६८५ एमएम, उचाइ १६०५ एमएम छ। यसमा २१५० एमएम लामो ह्विलबेस रहेको छ।
क्याबिन फिचर
बिएडब्लुको ब्रम्बी ह्याचब्याकमा इन्टेरियरमा १०.२५ इन्चको इन्टेलिजेन्ट डिस्प्ले, पार्किङ राडार, ३६० डिग्री क्यामेरा, हाइटेक सेफ्टी फङ्सनजस्ता फिचर यसमा समावेश गरिएको छ।
केई क्युट ०२ मा इन्टेरियरमा १०.२५ इन्चको फ्लोटिङ सेन्टर कन्ट्रोल स्क्रिन र ७ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, ३६० डीग्री क्यामरा, कोलुम सिफ्ट गियर सेलेक्टर, ४ वटा हाइफाई स्टेरियो स्पीकर, एयर कन्डिसन, पुस बटम स्टार्ट, टुस्पोक फ्ल्याट बटम स्टेरिङ ह्वीललगायतका फिचर यसमा छन्।