काठमाडौं। नेपालमा नर्सरी उद्यम दिनप्रतिदिन बढ्दै छ। सहरदेखि ग्रामीण भेगमा नर्सरी उद्यम गर्नेको संख्या क्रमशः बाक्लिँदो छ। नर्सरीबाट उत्पादित सामग्रीको माग बजारमा राम्रो भएकाले पनि यो व्यवसाय गर्ने सोच तथा योजनामा धेरै व्यक्ति छन्। तर, प्रविधि, व्यावसायिक आइडिया, लगानी, खर्च, आम्दानी, पूर्वाधारजस्ता विषयको ज्ञान नहुँदा धेरैले यो व्यवसाय सुरु गर्न सकेका छैनन्।
नर्सरी व्यवसाय ग्रामीण र सहरी क्षेत्रमा तथा सानो क्षेत्रमा सामान्य प्राविधिक तालिम लिएरै गर्न सकिन्छ। अन्य व्यवसायको तुलनामा यो व्यवसाय फाइदाजन र कम जोखिमयुक्त पनि छ। बाली बिरुवाको प्रकृति अनुसार कुनै बालीको सीधै बिउ रोपे हुन्छ भने कुनैलाई नर्सरीमा बिउ रोपेर वा कलमी गरेर बिरुवा तयार गरेर खेतबारीमा लगेर रोप्नुपर्ने हुन्छ।
नर्सरी बिउ रोप्ने, बिरुवा उमार्ने, कलिला बिरुवा बढाउने ठाउँ हो। यसर्थ, यसमा स्वस्थ बिरुवा तयार गर्न प्राविधिक जानकारी र त्यसको अनुशरण आवश्यक पर्दछ। साना बिरुवा बढी संवेदनशील हुन्छन्। बिरुवा उमार्नदेखि तयार गर्न विशेष हेरचाह र व्यवस्थापनको जरुरत पर्दछ। गुणस्तरीय बिउ वा माउ बोटको छनौट, जमिनको राम्रो तयारी, मल माटो मिलाउने, जमिनको चिस्यान, तापक्रम, आद्रता जस्ता कुरा नर्सरी उद्यममा ध्यान दिनुपर्छ।
कम वा बढी घाम लाग्दा, अकासको पानीको तप्कनी धेरै पर्दा नर्सरीमा रोपेको बिउ सहज ढंगमा नउम्रन सक्छ। यसले बिरुवा ढिलो उम्रने वा उम्रिएर पनि राम्रो नसप्रने समस्या देखिन सक्दछ। रोग कीराको आक्रमण भयो भने छिटै बिरुवा नष्ट हुन सक्छन्। प्रायः रोगको लक्षण देखिने बेलासम्म कलिला बिरुवामा संक्रमणले धेरै गाँजी सकेको हुन्छ। नर्सरीमा मिहिनेत र हेरचाह राम्ररी पु¥याउनुपर्दछ।
मुख्यतया, खेत तयार हुने बेलासम्म नर्सरीमा बिरुवा तयार हुँदा समयको बचत हुन्छ भने मौसमी र बेमौसमी खेती गर्न सहजता मिल्छ। तरकारीलगायत नगदे बालीका बिउहरू महँगा पनि हुन्छन्। यसर्थ, यिनलाई सिफारिस गरेअनुसारको प्रविधि मिलाउन सकिएन भने अपेक्षित फाइदा लिन सकिँदैन। अर्कोतर्फ, सफल नर्सरी गरी स्वस्थ बिरुवा उमार्न सके थोरै जमिन र छोटो समयमै राम्रो फाइदा लिन सकिन्छ।
व्यावसायिक खेतीमा जाने हो भने नर्सरी व्यवस्थापन र गुणस्तरीय बिरुवा उत्पादनमा ध्यान दिनैपर्दछ। समुदायको आवश्यकता र बजारको मागअनुसार बिरुवाको आपुर्ति गर्न प्राविधिकको सल्लाहमा नर्सरी योजना बनाउनुपर्दछ। सानो क्षेत्रफलमा मिहिनेत गरेर पनि प्रतिइकाइ जमिनबाट बढी आम्दानी लिन सकिने नर्सरी व्यवसाय तुलनात्मक लाभका दृष्टिले कृषिको राम्रो उद्यम हो।
नर्सरी उद्यमका लागि मुख्यगरी पारिलो घाम लाग्ने, अघिल्लो बालीमा रोग कीरा नलागेको, मलिलो जमिन चयन गर्नु पर्दछ। गुणस्तरीय बिउको व्यवस्था, राम्ररी पाकेको कम्पोष्ट मल, पोलिव्याग, फलाम वा बाँसका किला, ढाक्ने प्लाष्टिक, छापो जस्ता सामग्री आवश्यक पर्दछन्। खेतीका लागि तयार गरिएको जमिनमा एक भाग कम्पोष्ट, दुई भाग माटो, एक भाग बालुवा पर्ने गरी सम्मिश्रण गर्नुपर्दछ। स्थायी रूपमा नर्सरी व्यवसाय गर्ने हो भने सिसाघर वा प्लाष्टिक घर बनाउनुपर्ने हुन्छ।
प्लास्टिकको घर बनाउन केही बढी खर्च लाग्छ भने समय पनि बढी लाग्छ। एक वर्षिय बालीका लागि प्लाष्टिकका सुरुङ/टनेल बनाएर वा प्लाष्टिक थैलामा बिउ जमाएर नर्सरी गर्न सकिन्छ। तर, नर्सरीमा पानी जम्नुहुँदैन। माटोजन्य रोगबाट बचाउने, वर्षा र चिसाेबाट जोगाउने उपयुक्त व्यवस्था मिलाउनु पर्दछ। खुला जमिनमा नर्सरी गर्दा सुक्खायाममा किस्ती आकारको र बर्खायाममा उठेको नर्सरी ब्याड बनाउनुपर्दछ। उल्लिखित संरचना र प्रविधि अपनाएर मौसमी र बेमौसमी बालीका लागि नर्सरी ब्याड तयार गर्न सकिन्छ।
बाली उत्पादनको लागि नर्सरीमा बिरुवा तयार गर्न नर्सरीसम्बन्धी ज्ञान प्राप्त कृषकले तरकारी, फलफूल, पुष्प, जडीबुटी, वन्य बिरुवाको पनि नर्सरी गर्न सक्छ। काउली, बन्दा, ब्रोकाउली, प्याजजस्ता हिउँदे तरकारी बाली, काँक्रा, फर्सी, लौका, घिरौला, करेला, खुर्सानी आदि र वर्षे तरकारी, गोलभेडा, भन्टा आदि बालीको नर्सरीबाट स्थानीय स्तरमा राम्रो आम्दानी लिन सकिन्छ।
सयपत्री, मखमलि, गोदावरी, जिनिया, जेरानियम, ग्लाडियोलस, कार्नेसन, पेटुनिया, असर्फि, आइसप्लान्ट, फ्लक्सजस्ता एक वर्षे पुष्पको नर्सरी व्यवसाय स्थानीय स्तरमा निकै उपयोगी हुन्छन्। फूल फुल्ने वहुवर्षीय पुष्प, लहरे फूल, छायादार आलंकारिक बिरुवा माग पनि राम्रै छ।
नेपालका सहर बजारमा पुष्प बिउ र बिरुवा मात्र नभएर तिहारका करोडौंको फूल तथा माला आयात हुने गरेको छ। आयात मात्र नभएर नेपालबाट कार्नेसन, ग्लाडियोलस, गुलाफ आदिका कट फ्लाबर स्टिक एवं टिस्युकल्चर विधिबाट उत्पादित केही आलंकारिक बिरुवा विदेश निर्यात हुने गर्दछन्।
आँप, लिची, कटहर, ड्रयागन फ्रुट, एभोकाडो, अम्बा, सुन्तला, कागती, स्याउ, नास्पाती, हलुवावेद आदि फलफूल नर्सरीको पनि राम्रै क्षेत्र छ। नर्सरीको सीपलाई जडीबुटी र वनजन्य बिरुवा उत्पादन गरेर पनि ग्रामीण स्तरमा आय आर्जन र सौन्दर्य बढाउन सकिन्छ। निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्तले गरेको अध्यनअनुसार २० वर्गमीटर जमिनमा प्याज नर्सरी गर्दा लगभग एक महिनामा ३६ हजार ४६० रुपैयाँ आम्दानी गर्न सकिन्छ।
एक किलो प्याजको बिउ राख्दा हुने खर्च र आम्दानी विवरण
प्याजको नर्सरी गर्दा माटो बुर्बुराउँदो बनाई कम्पोष्ट मल मिसाइसकेपछि आवश्यकता र जमिनको उपलब्धता अनुसारको लम्वाइ रहे पनि ब्याडको चौडाइ भने १ मिटर मात्र भएको ड्याङ बनाउनुपर्दछ। निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पन्तको अध्ययनअनुसार एक वर्गमिटर क्षेत्रफलमा ५० ग्राम बिउ राख्न सकिन्छ। यसो गर्दा एक किलो प्याजको बिउ राख्न २० वर्गमिटर जमिन आवश्यक पर्दछ।
एक ग्राम प्याजको बिउमा ३६८ दाना बिउ पाइन्छ। यस हिसाबले एक किलो प्याजको बिउमा ३ लाख ६८ हजार दाना हुन्छ। बिउको ८० प्रतिशत उर्बराशक्तिको हिसाबले जम्मा दानामा २० प्रतिशतले हुन आउने ७३ हजार ६०० संख्या घटाउँदा २ लाख ९४ हजार ४०० गोटा हुन आउँछ। यसलाई प्रतिबिरुवा १५ पैसा मूल्य हुँदा २० वर्ग मिटर जमिनमा एक किलो बिउबाट एक महिने अवधिमा ७ हजार ७०० खर्च र ४४ हजार १६० रुपैयाँ आम्दानी हुन आउँछ।