काठमाडौं। हरेक मानिसका आ–आफ्ना सपना हुन्छन्। कति सपना पूरा हुन्छन्, कति अधुरा। आफ्नो सपना र लक्ष्य प्राप्तिका लागि गरिने अथक मिहिनेत र परिश्रमले सफलताको गन्तव्य तय गर्छ। जुन व्यक्ति सफलताको शिखरतर्फ लम्किन चाहन्छ, एक दिन अवश्य उसले चाहेको बाटो कोरिन सक्छ। अथक प्रयत्नबाट सफलताको शिखर चुम्न सकिन्छ भन्ने गतिला उदाहरण हुन्, वसन्त मिश्र। पेसाले पर्यटन व्यवसायी उनी करिब ४ दशकदेखि पर्यटन क्षेत्रमा अनवरत खटिइरहेका थिए।
विशेषगरी वाइल्डलाइफ टुरिजमको वकालत गर्ने र नेपाल त्यसको उर्भर भूमि हो भन्ने विषय बुझाउन जोसिँदै आएका उनै मिश्र आज अस्ताए। अर्थात् उनको भौतिक शरीरले यो संसारबाट बिदा लिएको छ। वाइल्डलाइफ टुरिजमबाट मुलुकको समृद्ध हुन्छ भन्ने सपना बोक्दै सपनालाई विपनामा बदल्दै हिँडेका मिश्र अन्नतः ब्रेन हेम्ब्रेजजस्तो प्राणघातक रोगबाट मुक्त हुन सकेनन्। यो पृथ्वीमा अन्तिम श्वास थापाथलीस्थित नर्भिक अस्पतालमा बिताए। उनी एक साताअघि डेंगुबाट ग्रसित भएर अस्पताल भर्ना भएका थिए। तर, डेंगु ठिक भइसकेको अवस्थामा एक्कासि ब्रेनहेम्ब्रेज भएपछि उनले त्यसलाई पराजित गर्न नसकेकै कारण अन्ततः ब्रह्मलीन हुन पुगे।
...
नेपाली पर्यटन व्यवसायमा सुरुआती चरणदेखि लागिपरेकाले मिश्रलाई वाइल्डलाइफ टुरिजमका ‘पायोनियर‘ हुन्। चितवन राष्ट्रिय निकुञ्जभित्र रिसोर्ट सञ्चालन गरेर वाइल्डलाइफमा रमाउन खोज्ने पर्यटक ल्याएर होस् वा राप्ती नदी किनारमा रिसोर्ट खोलेर मिश्र सधैं जंगल पर्यटनसँगै रमाइरहेका थिए। कल्पनाको संसारमा देखिएको सपनाबाट बाहिर निस्किएर अलग्गै दुनियाँमा प्रभाव छाडेका मिश्रको बाल्यकालको सपना भने भविष्यमा इन्जिनियर बन्ने थियो।
समय र परिस्थिति सधैं एउटै रहँदैन। जिन्दगीको गोरेटेमा आइपर्ने अनेकन मोडले पनि मानिसको गन्तव्य तय गर्छ। इन्जिनियर बन्ने सपना बुनेका मिश्रको यात्रा यही परिस्थितिले फरक बनायो। अझ भनौं, मिश्रलाई इन्जिनियरिङको सपनाबाट वाइल्डलाइफ टुरिजममा पुगेका थिए।
मिश्रले पहिलो पटक सन १९७७ मा २२ वर्षकै उमेरमा विदेश घुम्ने मौका पाए। विदेश घुमेर आएपछि मिश्रमा आफ्नै केही व्यवसाय सञ्चालन गर्ने हुटहुटी चल्यो। विदेश घुम्दा पर्यटन क्षेत्रमा नेपालमा पनि केही न केही गर्न सकिन्छ र यहाँ अथक सम्भावना छन भन्ने बुझिसकेका थिए।
‘त्यो बेलाको पर्यटन अहिलेजस्तो फैलिएकोे थिएन। निश्चित क्षेत्रमा मात्र पर्यटकीय गतिविधि हुने र ट्राभल एजेन्सीको लाइसेन्स पाउनसमेत मुस्किल थियो’, विगत सम्झँदै मिश्रले भनेका थिए, ‘विदेश घुम्दा पर्यटन क्षेत्रको राम्रो सम्भावना देखेकै कारण नेपालमा केही नयाँ गर्ने अठोट लिएर फर्किएँ। यही क्षेत्रमा लाग्ने निक्र्योल गरें।’
‘वाइल्डलाइफ टुरिजमसम्बन्धी होटल खोल्न चितवन राष्ट्रिय निकुञ्जले खुलाएको रिसोर्ट लाइसेन्सका लागि आवेदन दिएँ,’ मिश्रले भने, ‘त्यो बेला नारायण सफारी, आइल्यान्ड जंगल सफारी रिसोर्ट र टेप्पल टाइगर रिसोर्टले एकैसाथ निकुञ्जभित्र रिसोर्ट सञ्चालनका लागि अनुमति पाएँ।’
त्यो बेला अहिलेजस्तो बैंकहरूले सहजै रुपमा ऋण दिने व्यवस्था नभएकाले मिश्रले टेन्ट राखेरै रिसोर्ट सुुरु गरेका थिए। पर्याप्त लगानी नभएकै कारण अरु संरचना नबनाई उनले सुविधासम्पन्न टेन्ट व्यवस्था गरे। काठमाडौंमै जन्मिएको र सम्पन्न परिवारमा हुर्किएका कारण उनलाई काम गर्न र लगानी जुटाउन अरुलाई जति असहज भएन। उनले जंगलभित्रको टाढा अनकन्टार ठाउँमा रिसोर्ट खोले। सहज रुपमा त्यहाँ पुग्न सकिँदैन थियो। ‘त्यो बेला साथीहरूले एकैसाथ धेरै काम गरिरहेका छौ। व्यवस्थापन गर्न नसके गाह्रो पर्न सक्छ भनेर सचेत गराएका थिए’, मिश्र विगत स्मरण गर्छन्। मिश्रले एकैसाथ जंगल रिसोर्ट, ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी र ¥याफ्टिङ व्यवसाय सञ्चालनमा ल्याएका थिए।
मिश्रले १२ वटा टेन्टबाट घना जंगलभित्र जंगल रिसोर्ट सञ्चालन गर्दा कसैले पनि यसले सफलता हात पार्छ भन्ने कल्पना गरेका थिएनन। तर, अथक मिहिनेतका कारण उनले सफलतालाई चुमे। टेन्टको रिसोर्टलाई लजको रुपमा विस्तार गर्न सके। त्यसबेला दक्षिण एसियामै पहिलो एट्याच बाथरुमयुक्त र चेन्जिङ रुम भएको अफ्रिकाको टेन्टेट क्याम्पको झल्को दिने खाले टेन्ट उनैले पहिलो पटक सञ्चालनमा ल्याएका थिए।
निकुञ्जभित्रको ‘लत’ मार्न किनारमा रिसोर्ट
पहिलो कुरा त, चितवन राष्ट्रिय निकुञ्जले जंगलभित्र सञ्चालनमा रहेका होटल तथा रिसोर्ट बन्द गर्नुपर्ने नै थिएन। यसमा निकुञ्ज मात्र दोषी हो भन्न मिल्दैन। होटल तथा रिसोर्टले पनि प्रतिबद्धताअनुसारको रोयल्टी र शुल्क नियमित तिरेको भए अहिले यो समस्या हुँदैन थियो होला। अब समीक्षा गरेर हुने केही छैन। तर, राज्यको त्यो निर्णयले महँगा पर्यटक गुमाउनुपरेको छ। यसबाट व्यवसायीले मात्र हैन, राज्यले समेत ठूलो आम्दानी र रोजगारीका स्रोत गुमाएको छ।
मिश्रले जंगलभित्रको रिसोर्ट बन्द भएपछि तत्कालै राप्ती किनारामा निजी जग्गा लिएर टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट सञ्चालनमा ल्याए। ‘अरु धेरै साथीहरू जंगलभित्रको रिसोर्ट बन्द भएपछि चितवन छाडेर हिँडे,’ उनले भनेका थिए, ‘मैले जिन्दग नै वाइल्ड लाइफ टुरिजममा बिताएकाले माया मार्न सकिनँ र जंगल नजिकै रिसोर्ट खोलें।‘
रिटायर्ड नभई अस्ताए
मिश्रले करिब १ वर्षअघि क्यापिटलसँग कुराकानी गर्दा आफ्नो उमेर ढल्किँदै गए पनि जोश–जाँगर अझै तन्नेरी छ भनेका थिए। पर्यटन क्षेत्रमा हाम फालेको झन्डै ४७ वर्ष पूरा हुन लागिसकेको छ। उमेरको महत्त्वपूर्ण समय पर्यटनमा बिताएकाले अहिले नै रिटायर्ड भएर घरमै बसौं भन्ने सोच कहिल्यै नआउने उनले सुनाएका थिए।
‘पहिला दैनिक १२ देखि १८ घन्टासम्मको खटाइ हुन्थ्यो भने अहिले अलि कम समय दिइन्छ। अब नेपालको पर्यटन क्षेत्र सुधारका लागि आफूले जाने/बुझेका विषय सरकारलाई आदान–प्रदान गर्र्नमै समय बिताउने योजना छ’, मिश्रले भनेका थिए।
‘कोरोनाअघिको वार्षिक तालिकामा वर्षको एकपल्ट ट्रेकिङ जाने, एउटा आन्तरिक गन्तव्यमा घुमघाम र दुईदेखि चार वटा मुलुकसम्म घुम्न जाने थियो। अहिले ट्रेकिङ रोकिएको छ। नेपालमा मुख्य गन्तव्य अधिकाशंमा पुगिसकेको छु’, मिश्रले भनेका थिए, ‘अब कञ्चनजंघा, अपर डोल्पा र मनास्लु मात्र पुग्न बाँकी छ। ती गन्तव्य पनि गइछाड्छु, सगरमाथा बेस क्याम्पमा चारपल्ट हिँडेरै पुगिसकेको छु।’ विडम्बना! मिश्रको कञ्चनजंघा, अपर डोल्पा र मनास्लु क्षेत्र पुग्ने सपना अधुरै रह्यो। हार्दिक श्रद्धाञ्जली वसन्त दाइ।