काठमाडौं। श्रम गन्तव्य मलेसियामा काम गर्ने श्रमिकको न्यूनतम तलब बढ्ने भएको छ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीलाई उद्धृत गर्दै लेखिएको समाचारअनुसार मलेसिया सरकारले सन् २०२५ को बजेट भाषणमा प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले श्रमिकको न्यूनतम पारिश्रमिक ३०० रिंगेटले बढाउने घोषणा गरेका हुन्।
मलेसियाली प्रधानमन्त्री इब्राहिमको घोषणासँगै कामदारको तलब प्रतिमहिना १५०० बाट बढाएर १७०० मलेसियन रिंगेट पुगेको छ।हाल श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५०० मलेसियाली रिंगेट छ।
पाँचभन्दा कम कामदार भएका कम्पनी तथा उद्योगका लागि नयाँ पारिश्रमिक केही समय पछि कार्यान्वयनमा जाने मलेसियाली सरकारले जनाएको छ। यस्ता कम्पनी तथा उद्योगमा बढेको तलब कार्यान्वयन सन् २०२५ अगस्त १ देखि लागू हुनेछ।
‘सरकारले कामदारको न्यूनतम तलब १५०० बाट १७०० मलेसियन रिंगेट प्रतिमहिना बढाउने निर्णय गरेको छ। यो घोषणा सन् २०२५ अगस्त १ देखि लागू हुनेछ। सरकारले जनताको जीवनलाई अझ सहज बनाउन पर्याप्त तलब र पारिश्रमिक पाउँदा मात्र आर्थिक पुनर्संरचना सफल भएको मानिन्छ,’ प्रधानमन्त्री इब्राहिमले भनेका छन्।
तलब वृद्धि कार्यान्वयन हुनुअघि मलेसियाको मानव संसाधन मन्त्रालयले सबै क्षेत्रका लागि तलब निर्देशिका तयार गरी प्रकाशित गर्नेछ।मलेसियामा १९ मार्च २०२२ यता न्यूनतम तलब १५०० रिंगेट थियो । तर, उद्योग र उत्पादन प्राविधिकको तलब करिब २३०० रिंगेट छ।
मलेसिया नेपाली श्रमिकको रोजगारीका लागि गन्तव्य मुलुक पनि हो। मलेसियाले तलब बढाउने निर्णय गरेसँगै नेपाली कामदार लाभान्वित हुनेछन्।