काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था र संगठित अपराधसम्बन्धी मुद्दामाथि अनुसन्धान गर्न स्थलमार्ग हुँदै पोखरा पुर्याइएको छ।
सहकारी संस्थामा भएको अनियमितता छानबिन गर्न जेठ १५ मा गठन भएको संसदीय विशेष छानबिन समितिले गोरखा मिडियामा रहेका बेला रविले सहकारीबाट करोडौं रुपैयाँ अनियमितता गरेको हुँदा कारबाही गर्न सुझाएको थियो।
रविले पोखराको सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणको करोडौं रुपैयाँ बचत गोरखा मिडियामार्फत खर्च गरेको दाबीसहित पीडितले अदालतमा कारबाही माग गर्दै मुद्दा हालेपछि प्रहरीले शुक्रबार काठमाडौंबाट पक्राउ गरेको थियो।
जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै उनलाई सडकमार्ग हुँदै राती करिब ३ बजे पोखरा लगिएको हो।
लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ। लामिछानेलेलाई आज सार्वजनिक बिदा परेका कारण आइतबार मात्रै अदालतमा उपस्थित गराइनेछ।
लामिछानेलाई पोखरा लगिएसँगै रास्वपाका उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले, तोषिमा कार्कीलगायतका नेताहरू पनि पोखरा पुगेका छन्। रास्वपा कार्यकर्ताहरूले बिहान ११ बजे मानव अधिकार चोक, पोखरामा विरोध प्रदर्शन गरिरहेका छन्।
सडक मार्ग भएर पोखरा लगिएका रविको पक्षमा धादिङ, चितवन, तनहुँ, पोखरासम्म रास्वपका समर्थकले पक्राउविरुद्ध नाराबाजीसमेत गरेका थिए।
लामिछाने पक्राउ पर्नेबित्तिकै रास्वपाले काठमाडौंसहित सडकमार्ग रहेका क्षेत्र र पोखरामा समेत कार्यकर्तालाई सडकमा उत्रिन आन्तरिक सर्कुलर गरेको थियो।
सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसँग मिलेर लामिछानेले गोरखा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ। तर, अध्यक्ष जीबी राई हाल फरार छन्। उनलाई प्रहरीले रेडकर्नर नोटिस जारी गरेको छ।