काठमाडौं। सहकारी ठगीमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) टोलीले सभापति लामिछानेलाई पार्टी कार्यालय वनस्थलीबाट पक्राउ गरेकाे हो।
लामिछानेलाई पक्राउ गर्न शुक्रबारनै जिल्ला अदालत कास्कीले अनुमति दिएको थियो। लामिछानेमाथि गोर्खा मिडिया नेटवर्क प्रालिको तत्कालीन सञ्चालक एवं प्रबन्ध निर्देशकको हैसियतमा विभिन्न सहकारीको रकम अपचलन गरेको आरोप छ।
सहकारी बचत रकम अपचलनमा संलग्न देखिएको भन्दै संसदीय छानबिन समितिले लामिछानेलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो।
सहकारी संस्थाको बचत रकम दुरुपयोगसम्बन्धी गठित विशेष संसदीय छानबिन समितिले गत भदौ ३१ मा प्रतिनिधिसभामा पेस गरेको प्रतिवेदनमा लामिछाने सहकारी ठगीमा संलग्न भएकाले कारबाही गर्न सुझाइएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राख्न अनुमति दिएको छ।
पोखराको सूर्यदर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको छ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको प्रतिवेदनका आधारमा १६ असोज २०८० मै गितेन्द्रबाबु (जिबी)० राई, कुमार रम्तेलसहित १९ जनाविरुद्ध १ अर्ब ११ करोड रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरिएको थियो।
गृहमन्त्री रमेश लेखकले असोज ६ मा सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन दिएका थिए। उक्त निर्देशनपछि सोही दिन प्रहरीले गोर्खा मिडियाका तत्कालीन सदस्य पूर्वडिआइजी छविलाल जोशीलाई पक्राउ गरेको थियो भने असोज १५ गते लीला पछाइलाई पक्राउ गरेर कास्की लगेको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद लामिछानेसहित विभिन्न कम्पनी र व्यक्तिलाई विपक्षी बनाएर सहकारी बचत पीडितले गत वर्ष माघ २२ गते नै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको थियो।
प्रतिवेदनअनुसार विभिन्न सहकारीका रकम गोर्खा मिडियामा आएको थियो। गोर्खा मिडियाको तत्कालीन प्रबन्ध निर्देशक लामिछाने थिए।संसदीय छानबिन समितिले लामिछानेसँग बयान लिएपछि कास्की प्रहरीले पनि काठमाडौ पुगेर उनीसँग बयान लिएका थियो।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार ७ सय जनाले बचत राखेको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार अपचलन भएको संसदीय छानबिन देखाएको छ।
सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार मानिएका पूर्वअध्यक्ष एवं गोर्खा मिडियाका अध्यक्ष जिबी राईलगायत फरार छन्। उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको छ।
२४ करोडको चेक लामिछानेको हातबाट
गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेले संसदीय छानबिन समितिसमक्ष आर्थिक रूपमा अध्यक्ष गीतेन्द्र बाबु (जिबी) राई नै जिम्मेवार रहेको बयान दिए पनि उनी आफैंले करिब २४ करोडका छुट्टाछुट्टै १६ वटा चेक काटेको भेटिएको छ। समितिले लामिछानेको हस्ताक्षरमा गोरखा मिडियाबाट काटिएका चेकहरूको सबै विवरण राखेर प्रतिवेदन सार्वजनिक गरेको छ।
लामिछानेको हस्ताक्षर गरेको चेकबाट विभिन्न कम्पनी र व्यक्तिलाई २३ करोड ७९ लाख ८९ हजार सात सय ३१ रूपैयाँको भुक्तानी भएको छ। लामिछानेले एउटै चेक तीन करोड रूपैयाँसम्मको काटेको प्रतिवेदनमा उल्लेख छ।