काठमाडौं। नेपालीको प्रमुख चाडमध्येको तिहार नजिकिँदै छ। सामान्यतया तिहारका बेला खानेतेलको माग अधिक हुन्छ। विशेषगरी बढीजसो सेलरोटी खाने प्रचलनको कारण पनि तेलको माग अन्य समयको तुलनामा बढी हुन्छ।
खानेतेलको अधिक माग हुने मुख्य समय दसैं र तिहारको मौकामा व्यवसायीले मूल्य बढाएका छन्। अन्तर्राष्ट्रिय रुपमै कच्चा पदार्थको मूल्य बढेको र बजारमा तेल माग अत्यधिक बढेको भन्दै कार्टुनमै ४ देखि ५ सय रुपैयाँसम्म मूल्य बढाएका हुन्।
सनफ्लावर र भटमासको तेल प्रतिकार्टुन २ हजार २ सय ५० देखि २ हजार ३ सय रुपैयाँसम्म होलसेल मूल्य पुगेको छ। यसअघि सोही तेल प्रतिकार्टुन १ हजार ९०० रुपैयाँसम्म होलसेल मूल्य थियो। यस्तै तोरीको तेलमा प्रतिकार्टुन २ हजार ५ सय ५० देखि २ हजार ६०० रुपैयाँ होलसेल मूल्य थियो भने अहिले ३ हजार रुपैयाँसम्म पुगेको छ। खुद्रा बजारमा यसको मूल्य अझ बढ्नेछ।
सनफ्लावर र भटमासको तेलको होलसेल मूल्य नै प्रतिलिटर २३० रुपैयाँसम्म पुग्छ। खुद्रा मूल्यमा बिक्री गर्दा यसको २६० देखि ७० रुपैयाँसम्म पुगेको छ। तोरीको तेलको मूल्य प्रतिलिटर ३१९ रुपैयाँसम्म पुगेको छ।
तेल बिक्रेताले अन्तर्राष्ट्रिय रुपमै कच्चा पदार्थ र डलरको मूल्य बढ्नुको कारण नेपालमा तेलको भाउ बढेको बताउँछन्। तेलको मूल्य थपघट हुनुमा अन्तर्राष्ट्रिय बजारको प्रभाव पर्ने उनीहरुको दाबी छ। अहिले सनफ्लावर र भटमासको माग दक्षिण एसिया क्षेत्रमै बढेको असर नेपालमा परेको बताइन्छ।
हृन्द्वग्रस्त युक्रेन र रसियाबाट धेरै मात्रामा नेपालमा भटमास आयात हुने गरेको छ। पछिल्लो समय यी दुई मुलुकबीचको द्वन्द्वले पनि कच्चा पदार्थ आयातमा असर पुगेको दाबी व्यवसायीको छ। यद्यपि, नेपाल चामल, तेल, दाल उत्पादक संघले तेलको मूल्यवृद्धिबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन।
संघका अध्यक्ष कुमोद दुगड, महासचिव दीपककुमार पौडेललगायत पदाधिकारी मुलुकबाहिर रहेको कारण कुनै प्रतिक्रिया दिन सक्ने स्थितिमा नरहेको संघको तर्क छ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले सरकारलाई प्रभावमा पारेर दसैं–तिहारका बेला तेलको मूल्य अस्वाभाविक रुपमा बढाइएको बताए। तेलको मूल्य बढाएको विषयमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीलाई दसैंअघि नै जानकारी गराए पनि विभिन्न बहानामा अनुगमन गर्न रोकेको उनको भनाइ छ।
‘व्यवसायीले कार्टेलिङ गरेर चाडवाडको मुखमा मूल्य बढाएर उपभोक्तामाथि महँगीको भारी बोकाएको छ,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘मूल्य बढाएकाले तत्कालै अनुगमन गरी कारबाही गर्नुपर्छ।’