काठमाडौं। सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
जिल्ला अदालत कास्कीबाट लामिछानेविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको हो।
जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
सहकारी बचत रकम अपचलनमा संलग्न देखिएको भन्दै संसदीय छानबिन समितिले लामिछानेलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो।
सहकारी संस्थाको बचत रकम दुरुपयोगसम्बन्धी गठित विशेष संसदीय छानबिन समितिले गत भदौ ३१ मा प्रतिनिधिसभामा पेस गरेको प्रतिवेदनमा लामिछाने सहकारी ठगीमा संलग्न भएकाले कारबाही गर्न सुझाइएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राख्न अनुमति दिएको हो।
अदालतको अनुमतिसँगै सम्भवतः लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेर कास्की लैजाने तयारी प्रहरीको छ। पोखराको सूर्यदर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको छ। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको प्रतिवेदनका आधारमा १६ असोज २०८० मै गितेन्द्रबाबु (जिबी) राई, कुमार रम्तेलसहित १९ जनाविरुद्ध १ अर्ब ११ करोड रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरिएको थियो।
गृहमन्त्री रमेश लेखकले असोज ६ मा सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन दिएका थिए। उक्त निर्देशनपछि सोही दिन प्रहरीले गोर्खा मिडियाका तत्कालीन सदस्य पूर्वडिआइजी छविलाल जोशीलाई पक्राउ गरेको थियो भने असोज १५ गते लीला पछाइलाई पक्राउ गरेर कास्की लगेको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद लामिछानेसहित विभिन्न कम्पनी र व्यक्तिलाई विपक्षी बनाएर सहकारी बचत पीडितले गत वर्ष माघ २२ गते नै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको थियो।
प्रतिवेदनअनुसार विभिन्न सहकारीका रकम गोर्खा मिडियामा आएको थियो। गोर्खा मिडियाको तत्कालीन प्रबन्ध निर्देशक लामिछाने थिए।संसदीय छानबिन समितिले लामिछानेसँग बयान लिएपछि कास्की प्रहरीले पनि काठमाडौ पुगेर उनीसँग बयान लिएका थियो।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार ७ सय जनाले बचत राखेको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार अपचलन भएको संसदीय छानबिन देखाएको छ।
सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार मानिएका पूर्वअध्यक्ष एवं गोर्खा मिडियाका अध्यक्ष जिबी राईलगायत फरार छन्। उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको छ।
यतिबेला रास्वपा केन्द्रीय कार्यालय चःमतिमा सभापति लामिछानेसहित पदाधिकारी, केन्द्रीय सदस्य र कार्यकर्ता भेला भएका छन्। आजै नयाँ बानेश्वरमा बसेको प्रतिपक्षी ६ दल सम्मिलित बैठकमा पनि लामिछाने पक्राउ पर्ने आशंका प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरेका थिए।