काठमाडौं। उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउने गरी छलफल सुरु गरेका छन्। आज पुल्चोकस्थित स्थानीय पूर्वाधार विकास आयोजनाको सभाहलमा आयोजनाअन्तर्गतका सातै प्रदेशका आयोजना प्रमुख, आयोजनाका महानिर्देशकसहितसँग आयोजनाबारे समीक्षात्मक छलफल गरेका हुन्।
आयोजनाको अन्तिममा समीक्षा गर्दा कार्यान्वयन फितलो भइसकेको हुने भन्दै उपप्रधामनमन्त्री सिंहले सुरुमै आयोजना कार्यान्वयनका समस्या पहिचान गर्ने गरी छलफल सुरु गरेको बताए। कामलाई प्रभावकारी बनाउन नीतिगत विषयमै बढी जोड दिने पनि उनको भनाइ छ।
‘तपाईंहरुसँगको छलफलपछि समस्या के छन् भन्ने जानकारीमा आएको छ। यो छलफल परिणामका लागि हो। समस्या सुन्ने मात्र होइन, समाधानका लागि पहल गर्छु।’
उनले छलफलमा स्थानीय पूर्वाधार विकास आयोजनाअन्तर्गत सातै प्रदेशका आयोजना प्रमुखहरुले चालू आर्थिक वर्षमा भएका योजनाका उपलब्धि, भोग्नुपरेका समस्या र भइरहेका कामबारे विस्तृतमा प्रस्तुतीकरण गरेका थिए।
त्यस्तै, असोजमा आएको बाढीका कारण भएको क्षति र बाढीपछि भएका कामबारे पनि जानकारी गराएका थिए। सहरी विकास मन्त्रालयअन्तर्गतका झोलुंगे र सडकमा बाढीका कारण क्षति पुगेको छ।
आयोजनाका विभिन्न प्रदेशका प्रमुखहरुले पूर्व तयारी भएका आयोजनामा बजेट नपर्ने तर नयाँ आयोजना थपिनेक्रम रोक्नुपर्नेमा जोड दिए। त्यस्तै, एउटै आयोजनामा पनि डुप्लिकेसनको समस्या रहेको भन्दै त्यसलाई रोक्ने गरि पहल गर्नुपर्ने बताएका थिए।
मन्त्रालयका सचिव मणिराम गेलालले चालू आवको विनियोजित कार्यक्रम सम्पन्न गर्न देखापरेका समस्या,समाधानका उपाय र आयोजना तर्फबाट विभाग र मन्त्रालयसँगको अपेक्षाबारेको छलफलले धेरै विषय प्रष्ट भएको भन्दै यसले आगामी दिनमा काम गर्दा थप सहज हुने बताए।