क्यापिटल नेपालले मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ। यस्ता छन्, संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ। दसैं बिदापछि लगातार उकालो लागेको छापावाल सुनको मूल्य कात्तिक २ गते २ हजारले बढेर प्रतितोला १ लाख ६४ हजार ४०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। कात्तिक १ मा छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो। दसैं बिदाअघि असोज २३ मा छापावाल सुन प्रतितोला १ लाख ५९ हजार रुपैयाँ कायम थियो भने असोज २९ यता चार दिनमै ५ हजार ३०० रुपैयाँ बढेको छ। कात्तिक २ को सुन मूल्य हालसम्मकै उच्च हो।
सहकारीको रकम अपचन आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति तथा पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन्। गोर्खा मिडिया नेटवर्क प्रालिमा सहकारीको रकम अपचलन गरेको आरोपमा जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई कात्तिक २ मा पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई आग्रह गरेसँगै प्रहरी उपरीक्षक होविन्द्र बोगटी नेतृत्वको टोलीले लामिछानेलाई पक्राउ गरेको हो। सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा १६ असोज २०८० पूर्वअध्यक्ष जीबी राईलगायत १९ जना विरुद्ध कास्की अदालतमा मुद्दा दर्ता भएको थियो।
बडादसैंको पाँचदिने अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर २ लाख ३७ हजार बढीले हवाई यात्रा गरेका छन्। विमानस्थल कार्यालयको असोज ३० मा सार्वजनिक गरेको तथ्यांकअनुसार दसैंको फूलपातीदेखि पूर्णिमाको अघिल्लो दिनसम्म अर्थात् असोज २४ देखि २८ सम्म आन्तरिकतर्फ १ लाख ६० हजार ९१० र अन्तर्राष्ट्रियतर्फ ७८ हजार ५१२ जनाले हवाई यात्रा गरेका हुन्।
यो साता सेयर बजारमा ७७.१९ अंकको वृद्धि भएको छ। साताको तीन कारोबार दिनमा तीन दिन नै बढ्दा ७७.१९ अंकले बढेर २७४५.३६ बिन्दुमा सीमित भएको छ। गत साताको चार कारोबार दिनमा तीन दिन बढेर एक दिन घट्दा ७०.६८ अंकले बढेर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६६८.१७ बिन्दुमा रोकिएको थियो। यो साता नेप्सेमा कुल १५ अर्ब ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। गत साता भने नेप्सेमा २० अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कात्तिक १ मा सार्वजनिक गरेको विवरणअनुसार कोषमा उक्त रकम दाखिला भएको हो। कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम दाखिला भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। कोषमा दाखिला रकम असोज १०–१२ सम्मको निरन्तर वर्षापछि आएको बाढीपहिरो प्रभावितका लागि संकलन गरिएको हो।
ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। ऊर्जामन्त्री दीपक खड्काको नेतृत्वमा असोज २२ मा बसेको बैठकले घिसिङलाई असोज २३ मा १५ बुँदे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। स्पष्टीकरण सोध्ने निर्णयपछि मन्त्री खड्काले मन्त्रालयका सहसचिव शम्भु मरासिनीको संयोजकत्वमा विद्युत् प्राधिकरण सञ्चालक समिति बैठक २४ असोजमा डाकेका थिए। डेडिकेटेड र ट्रंक लाइन महसुल बक्यौता भुक्तानीबारे विद्युत् प्राधिकरण र उद्योगीबीच लामो समयदेखि विवाद छ।
अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनाभित्र भएका महत्त्वपूर्ण कार्यप्रगति सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले कात्तिक २ मा सार्वजनिक गरेको कार्यप्रगति विवरणमा मुलुकको अर्थतन्त्र सुधारका लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार आयोग गठन, आन्तरिक राजस्व परिचालन रणनीतिको कार्यान्वयन, कन्ट्री क्रेडिट रेटिङको तयारी पूरादेखि संघीय संसदमा विधेयक पेससम्म रहेका छन्। अर्थ मन्त्रालका प्रवक्ता महेश भट्टराईले अर्थतन्त्रमा चुनौती रहे पनि पहिलेको तुलनामा सुधार आइरहेको दाबी गरे। गत असार ३० मा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो।
सरकारले ५० लाखदेखि १ करोडसम्म राहत रकम विपद् संकटग्रस्त स्थानीय तहलाई उपलब्ध गराउने भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समिति बैठकले असोज १२ मा गरेको निर्णय कात्तिक १ देखि कार्यान्वयनमा ल्याइएको हो। असोज १०–१२ सम्म निरन्तरको वर्षापछि आएको बाढीपहिरो र डुबान हुँदा संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहलाई संघीय सरकारले ५० लाखदेखि १ करोड रुपैयाँसम्म राहत रकम दिने निर्णय गरेको हो। प्राधिकरणका सहसचिव वसन्त अधिकारीले संकटग्रस्त क्षेत्र घोषणा गरिएका २० जिल्लाका ७१ स्थानीय तहलाई ३ समूहमा वर्गीकरण गरेको जानकारी दिए।
नेपालमा मनसुन सुरु भएसँगै (जेठ ३१) देखि हेलिकोप्टर उडानमा लगाइएको प्रतिबन्ध हटेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले कात्तिक २ मा मनसुन सकिएसँगै हेलिकोप्टर उडानमा लगाइएको प्रतिबन्ध हटाएको सूचना जारी गरेको हो। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन सकिएको घोषणा गरेसँगै मनसुनमा हेलिकोप्टर उडानका लागि लगाएको प्रतिबन्ध फुकुवा गरिएको हो। प्राधिकरणले वर्षाको समय हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि हरेक वर्ष मनसुनका बेला हेलिकोप्टर उडानमाथि प्रतिबन्ध लगाउँदै आएको छ। यो वर्ष जुन १० बाट सुरु भएको मनसुन १२ अक्टोबरदेखि नेपालबाट बाहिरिएको थियो।
यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशास्त्रीलाई संयुक्त रूपमा दिइने भएको छ। म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु, सोही इन्स्टिच्युटका साइमन जोन्सन र सिकागो विश्वविद्यालयका जेम्स रोबिन्सनलाई संयुक्त रुपमा यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइने घोषणा पुरस्कार समितिले असोज २८ मा सार्वजनिक गरेको हो। रोयल स्वीडिस एकेडेमी अफ साइन्सेजका अनुसार तीनै जना अर्थशास्त्रीलाई संस्था कसरी बन्छन् र समृद्धिमा कस्तो प्रभाव पार्छन् भन्ने विषयमा गरेको गहन अध्ययनका लागि यो पुरस्कारबाट सम्मानित गरिने भएको हो।
भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ। रतन टाटाको असोज २३ गते राती मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा निधन भएको हो। टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति जारी गर्दै रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको पुष्टि गरेका छन्। उनको निधनमा भारतका राष्ट्रपति, प्रधानमन्त्रीलगायतले दुःख व्यक्त गरेका छन्।