काठमाडौं। असोज १०–१२ सम्म निरन्तर वर्षापछि आएको बाढीपहिरोले क्षतविक्षत बिपी राजमार्ग निर्माण अगाडि नबढ्ने संकेत देखिएको छ। राज्यसँग लगानी क्षमता नहुनु, ऋण लिएर नबनाउने तर अनुदान पाए बनाउने सोचबाट सरकार अघि बढेपछि राजमार्ग पुरानै अवस्थामा फर्किने छाँटकाँट नदेखिएको हो।
पूर्वी र मध्य नेपाललाई संघीय राजधानी काठमाडौंसँग जोड्ने महत्वपूर्ण बिपी राजमार्ग अस्थायी नभई अब दीर्घकालीन मर्मत गर्नुपर्ने बेला भइसकेको छ। सरकारले जापान सहयोग नियोग (जाइका)सँग सहयोग माग्ने पक्षमा देखिएको छैन। कुनै दातृ निकायले अनुदान दिए मात्रै बनाउने योजना छ।
असोज १०–१२ को अविरल वर्षासँगै रोशी खोलाले काभ्रे र सिन्धुलीमा पर्ने विभिन्न ठाउँमा बिपी राजमार्गको करिब ८ किलोमिटर खण्ड पूर्ण रुपमा बगाएको छ। सोही कारण करिब ३० किमि सडक यात्रा सहज छैन।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले अस्थायी मर्मत गरेर १३ दिनपछि अर्थात् असोज २५ मा (दसैं नवमी) बाट साना सवारी साधन सञ्चालन गर्न सकिने बनाएको छ। यद्यपि अझै पनि बिपी राजमार्गको यात्रा सहज छैन।
तर, बाढीले क्षति पुर्याएको तीन साता बित्दा पनि भौतिक मन्त्रालयले बिपी राजमार्ग निर्माणको ठोस योजना अघि सार्न सकेको छैन। भौतिक मन्त्री देवेन्द्र दाहाल हालसम्म राजमार्ग निर्माणका लागि बजेटको व्यवस्था नभएको बताउँछन्। कसरी स्रोत व्यवस्थापन हुन्छ भन्ने विषय पनि अन्योलमा रहेको उनको भनाइ छ।
‘बिपी राजमार्गको दीर्घकालीन मर्मत नेपाल आफैंले गर्छ तर, कसरी बजेट व्यवस्थापन गर्ने अहिलेसम्म टुंगो लागेको छैन,’ क्यापिटल नेपालसँग भौतिक मन्त्री दाहाल भन्छन्, ‘पहिला जाइकाले बिपी राजमार्ग बनाएको हो भन्दैमा त्यसैलाई अनुरोध गर्ने योजना छैन तर, कतैबाट अनुदान सहयोग पाइन्छ कि भन्ने अपेक्षा गरिरहेका छौं।’
जाइकालाई अनौपचारिक रुपमा बिपी राजमार्ग मर्मतबारे जिज्ञासा राख्दा राजदूतमार्फत कुरा ल्याउनू भन्ने प्रतिक्रिया प्राप्त भएको पनि मन्त्री दाहालले बताए। ‘भौतिक सचिवले अनौपचारिक रुपमा सहयोग गर्न सकिन्छ कि भन्नुभएको थियो तर, राजदूतमार्फत (नेपालका लागि जापानी राजदूत) कुरा ल्याउनू भनियो। यी सबै अनौपचारिक कुरा हुन्,’ उनले भने।
नेपालका लागि जापानका राजदूत किकुता युताकाले असोज ३० मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए। यद्यपि राजदूत र प्रधानमन्त्रीको भेटमा बिपी राजमार्गको विषयमा छलफल भए÷नभएको विषय जानकारी नभएको भौतिक मन्त्री दाहालले बताए।
मर्मतका लागि ५ अर्ब खर्च
बाढीले क्षति पुर्याएको बिपी राजमार्ग मर्मत गर्न करिब ५ अर्ब लाग्ने भौतिक मन्त्रालयले आकलन गरेको छ। भौतिक मन्त्रालयका सचिव केशव कुमार शर्माका अनुसार मर्मत गर्न लाग्ने करिब ५ अर्ब लागत प्रारम्भिक अनुमान हो।
‘कति रकम बराबरको क्षति भयो विवरण संकलन हुँदै छ तर, मर्मतका लागि ४ देखि ५ अर्ब भए पुग्छ होला। यद्यपि यो अनुमान परिवर्तन हुन सक्छ,’ सचिव शर्माले भने। उक्त राजमार्ग अत्यावश्यक भएकाले अन्य स्थानको बजेट कटाएर वा अर्को व्यवस्था गरेर पनि निर्माण गरिने सचिव शर्माको भनाइ छ।
तर, कसरी स्रोत जुटाउने तथा कहिलेसम्म ठेक्का आह्वान गर्न सकिन्छ भन्ने विषय सचिव शर्माले प्रष्ट पारेका छैनन्। भौतिक मन्त्रालय त्यसको आन्तरिक तयारीमा लागिरहेको उनले जानकारी दिए।
सरकारी ढुकुटीमा दिनप्रतिदिन चाप बढ्दै गएको, निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्न नसकेको अवस्थामा फेरि बाढीले बिपीसहित अन्य राजमार्गमा आर्थिक दायित्व थपेको छ। सरकारले उठाइरहेको आन्तरिक ऋणले प्रशासनिक खर्च मात्रै चलिरहेको छ।
त्यस्तै, विश्व नै आर्थिक संकटसँग जुधिरहेकाले पछिल्ला वर्ष अपेक्षाअनुसार नेपालले अनुदान पाउन छाडेको छ। बिपी राजमार्ग मर्मतका लागि पनि अनुदान रकम सहयोग पाउने सम्भावना न्यून छ।
जाइकाले अनुदान सहयोगमा निर्माण गरी २०७२ मा नेपाललाई बिपी राजमार्ग हस्तान्तरण गरेको थियो। सन् १९९६ मा सुरु गरेर सन् २०१५ मा निर्माण सम्पन्न भएको केही समय बित्न नपाउँदै २०७२ भूकम्पले राजमार्गमा क्षति पुर्याएको थियो।
तत्कालीन मूल्यअनुसार २० अर्ब जापानिज येनमा तयार भएको बिपी राजमार्ग भूकम्पबाट क्षति हुँदा मर्मत गर्न पनि उसैले आवश्यक रकम र प्राविधिक सहयोग गरेको थियो। जापानसँग बिपी राजमार्गको अधिकार तथा जिम्मेवारी दुवै छैन। नेपालले अहिलेको क्षतिमा सहयोगका लागि जापानलाई आग्रह गर्न पाउँछ तर, सहयोग गर्ने/नगर्ने जापान सरकारमै निर्भर रहन्छ।