काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको प्रतिपक्षी दलको बैठकले संयुक्त रुपमा सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ।
बैठकले बाढीपहिरोको पूर्वतयारी, खोज, उद्धार, उपचार र पुनःस्थापनाबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो।
नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लगायत सम्मिलित प्रतिपक्ष दलको बैठकले सरकारलाई समसामयिक जनसरोकारका विभिन्न विषय समावेश गरी ज्ञापनपत्र बुझाउने सहमति गरेको एकीकृत समावादीका नेता राजेन्द्र पाण्डेले बताए।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने नेकपा (माओवादी केन्द्र, रास्वपालगायत प्रतिपक्षी र सत्तारुढ गरी ६ दलका शीर्ष नेताहरू सहभागी थिए।
माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले बैठकमा समसामयिक विषयमा छलफल भएको जानकारी दिए। ‘खासगरी प्रतिपक्षी पार्टीको तर्फबाट जनसरोकारका मुद्दामा सरकारको ध्यानाकर्षण गराउने र ज्ञापनपत्र पेस गर्ने भन्ने समझदारी भएको छ’, बस्नेतले भने।
बैठकमा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेताहरु महन्त ठाकुर, प्रभु साह, रास्वपा सभापति रवि लामिछाने तथा उपसभापतिद्वय डिपी अर्याल र डा. स्वर्णिम वाग्ले, नेताहरु शिशिर खनाल, सुमना श्रेष्ठ र विराजभक्त श्रेष्ठ सहभागी थिए।