काठमाडौं। नेपालमा मनसुन सुरु भएसँगै (जेठ ३१) देखि हेलिकोप्टर उडानमा लागि लगाइएको प्रतिबन्ध हटेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले मनसुन सकिएसँगै हेलिकोप्टर उडानमा लगाइएको प्रतिबन्ध हटाएको सूचना जारी गरेको हो।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन सकिएको घोषणा गरेसँगै मनसुनमा हेलिकोप्टर उडानका लागि लगाएको प्रतिबन्ध फुकुवा गरिएको हो। उनले भने, ‘मनसुन सिजनमा हेलिकोप्टर हिमाल नजिक गएर साइड सिन देखाउने (माउन्टेन फ्लाइट), हेलिकोप्टरको तल सामान भुन्ड्याएर गर्ने ‘सिलिङ फ्लाइट’, ‘पुष्पवृष्टि फ्लाइट’उडान प्रतिबन्ध हटाइएको छ।’
प्राधिकरणले वर्षाको समय हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि हरेक वर्ष मनसुनका बेला हेलिकोप्टर उडानमाथि प्रतिबन्ध लगाउँदै आएको छ। मौसम पूर्वानुमान महाशाखाले १२ अक्टोबरदेखि नेपालबाट मनसुन बाहिरिएको घोषाणा गरेको थियो। यो वर्ष जुन १० बाट सुरु भएको मनसुन १२ अक्टोबरदेखि नेपालबाट बाहिरिएको थियो।
मनसुनको समय जतिबेला पनि मौसम परिवर्तन हुन सक्ने र हेलिकोप्टर उडानमा जोखिम हुने भएकाले प्राधिकरणले प्रतिबन्ध लगाएको सूचना अधिकारी भुलको भनाइ छ।
हेलिकोप्टर उडान अनुमति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाटै दिने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका सूचना अधिकारी भुलले मनसुन हटेसँगै ‘नर्मल कार्गो’ तथा प्यासेन्जर उडान र उपत्यकाभित्र हुने उडान अनुमति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै दिने व्यवस्था गरिएको बताए।
यसअघि २०२३ जुलाई १३ मा मनाङ एयरको हेलिकोप्टर दुर्घटनापछि हेलिकोप्टर उडानका लागि लिनुपर्ने सबै उडान अनुमति प्राधिकरण मुख्यालयबाटै दिने व्यवस्था थियो।