काठमाडौं। गोरखा मिडिया नेटवर्कमा विभिन्न सहकारीबाट गैरकानुनी रुपमा ६५ करोड रुपैयाँ बढी अपचलन गरेको एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय विशेष छानबिन समितिले निष्कर्ष निकालेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको संलग्नतालाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन्।
पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले गोर्खा मिडियाका अध्यक्षसमेत रहेका सहकारी सञ्चालक जिबी राईसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोप छ। संसदीय छानबिन समितिको प्रतिवेदनले गोरखा मिडिया नेटवर्कका सबै सञ्चालक सहकारी रकम दुरुपयोगमा संलग्न रहेको ठहरसहितको प्रतिवेदन संसदलाई बुझाइसकेको छ।
गोरखा मिडियाका चार सञ्चालकमध्ये छवि जोशी दसैंअघि नै पक्राउ परेर अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्। सोही क्रममा लामिछानेलाई पनि अनुसन्धान दायरामा ल्याउन पक्राउ गर्ने तयारी भइरहेको गाइँगुइँले यतिबेला राजनीतिक वृत्तमा खैलाबैला मच्चिएको छ।
यद्यपि, सरकारी स्रोतले लामिछाने पक्राउबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी अभियोगमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशी र लीला पछाई थुनामा रहेका र दुवै जनाको म्याद थप गर्ने तयारी भइरहेका बेला लामिछानेलाई पक्राउ गर्न लागिएको बुझिएको छ।
जोशी र पछाईलाई अनुसन्धानका लागि समय नपुगेको भन्दै कास्की प्रहरीले जिल्ला अदालत कास्कीबाट शुक्रबार थप समय माग्ने तयारी गरेको बताइन्छ।
पूर्वडिआइजी जोशीले गोर्खा मिडियाका अध्यक्षसमेत रहेका सहकारी सञ्चालक जिबीसँग मिलेर सहकारीको रकम अपचलन गरेको संसदीय छानबिन समितिको प्रतिवेदनले औंल्याएको छ।
पछाईले जिबीसँगै मिलेर ३ करोड रुपैयाँ सहकारीको पैसा आफ्नो खातामा लगेकी थिइन्। उनीहरू दुवैसँग बयान र अनुसन्धान पूरा नभएकाले म्याद थप्ने लागिएको कास्की प्रहरी प्रवक्ता डिएसपी वसन्त शर्माले पुष्टि गरेका छन्। सहकारी ठगी आरोपमा पूर्वडिआइजी जोशी असोज ६ र पछाई असोज १५ मा पक्राउ परेका थिए।
पूर्वडिआइजी जोशीले त प्रहरी बयानमा सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको र सहकारीको रकम गैरकानुनी रुपमा टेलिभिजनमा लगानी गर्न लामिछानेको मुख्य हात रहेको बयान दिएका छन्।
रास्वपा सभापति एवं सांसद लामिछानेसहित विभिन्न कम्पनी र व्यक्तिलाई विपक्षी बनाएर सहकारी बचत पीडितले गत वर्ष माघ २२ मा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए पनि प्रहरीले मुख्य नाइके राईलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन। लामिछानेले भने सहकारी ठगीमा आफ्नो संलग्न नरहेको दाबी गर्दै आएका छन्।
आज मुख्य प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आह्वान गरेको विपक्षी दलहरूको बैठक चलिरहँदा लामिछाने पक्राउ पर्ने हल्ला यतिबेला पोखरा, चितवन, काठमाडौंलगायतका सहरमा चलिरहेको छ।
संसद् भवनमा बसिरहेको प्रतिपक्षी दलहरूको बैठकमा लामिछाने पनि सहभागी छन्। यद्यपि प्रहरीले लामिछाने पक्राउबारे केही बोलेको छैन।
लामिछाने सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले बयान लिएपछि कास्की प्रहरीले पनि काठमाडौं आएर बयान लिएका थियो। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार ७ सय जनाले बचत राखेको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार रुपैयाँ अपचलन भएको छानबिन समितिको प्रतिवेदनले औंल्याएको छ।
सहकारीको बचत अपचलन मुद्दामा शिवबहादुर गुरुङ, भविश्वर अर्याल, सहकारीका कोषाध्यक्ष एवं ग्यालेक्सी टेलिभिजनका म्यानेजर कुमार रम्तेल, सहकारीका पूर्वउपाध्यक्ष कैलाशकुमार दर्लामी मगर, सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पूर्पक्षका लागि थुनामा छन्। यद्यपि, सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार मानिएका पूर्वअध्यक्ष एवं गोर्खा मिडियाका अध्यक्ष जिबी राईलगायत फरार छन्।
रास्वपा सभापति लामिछानेलाई पक्राउ गर्न लागिएको चर्चा व्यापक भइरहे पनि कास्की जिल्ला अदालतले अहिलेसम्म पक्राउ पुर्जी जारी नगरिएको बताएको छ। कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले लामो दसैं बिदापछि आज अदालत खुलेको र लामिछानेलाई पक्राउ गर्न हालसम्म पुर्जी प्राप्त नभएको जानकारी दिए।
पूर्वडीआईजी जोशी, पूर्वगृहमन्त्री लामिछाने र सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जीबी व्यापारिक साझेदार बनेर गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख रुपैयाँ अपचलन गरेको संसदीय छानबिन समिति प्रतिवेदनमा उल्लेख छ।
रवि पक्राउ पर्न सक्ने प्रचण्ड अनुमान
नयाँ बानेश्वरमा बसिरहेको प्रमुख प्रतिपक्षी दलहरुको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ पर्न सक्ने आकलन गरिएको छ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, बाढीपहिरोपछिको अवस्था, सरकारका कामकारबाही, र लामिछाने पक्राउ पर्न सक्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अड्कलबाजी गरेको बताइन्छ।
समसामयिक राजनीतिक घटनाक्रमबारे जानकारी गराउने क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले रास्वपा सभापति लामिछाने पक्राउ हल्लाबारे भइरहेका चर्चा सम्बन्धमा बैठकमा ब्रिफिङ गरेको नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बताए।
बैठकमा माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, लोसपा, नाउपा, आजपाका शीर्ष नेता पनि सहभागी थिए। प्रतिपक्षी दलहरूको बैठकमा बैठकमा सरकारमा रहेका लोसपा र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष सहभागी रहे।