काठमाडौं। एभरेष्ट बैंकले स्थापनाको ३०औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ।
कात्तिक १ मा आयोजित कार्यक्रममा बैंकको प्रधान कार्यालय लाजिम्पाटमा रक्तदान तथा लामो समयसम्म सेवा गर्ने कर्मचारीलाई दीर्घ सेवापदक तथा कदरपत्र वितरण गरिएको बैंकले बताएको छ।
वार्षिकोत्सव अवसरमा बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम घोषणा गरेको छ। बैंकले सिआरएसअन्तर्गत शिक्षा, स्वास्थ्य, दैवीप्रकोप, वातावरण संरक्षण, संस्कृति प्रवर्द्धनलगायत क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ।
बैंकले वार्षिकोत्सव अवसरमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाई भवन निर्माणका लागि १ करोड रुपैयाँको आर्थिक सहयोग गरेको छ।
कार्यक्रममा बैंक सञ्चालक समिति अध्यक्ष बालगोपाल वैद्य र प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा अस्पतालका अध्यक्ष प्रा. डा. भगवान कोइरालालाई उक्त चेक हस्तान्तरण गरे।
नेपाल रेडक्रस सोसाइटी बागबजार काठमाडौंकोे सहकार्यमा आयोजना गरेको रक्तदान कार्यक्रममा बैकका ४८ कर्मचारीले रक्तदान गरेका थिए।
पञ्जाब नेसनल बैंक भारतसँगको संयुक्त लगानीमा स्थापित यो बैंकले हाल १२९ शाखा, ३२ राजस्व संकलन काउन्टर, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय र १६७ एटिएमबाट बैंकिङ सेवा दिँदै आएको छ।