काठमाडौं। समग्र वस्तु तथा सेवाको आयात बढिरहेका बेला मुलुकका मुख्य भन्सार नाकाबाट हुने आयात र निर्यात घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१/८२ को दुई महिनाको तथ्यांकअनुसार नेपालका मुख्य मुख्य भन्सार नाकाबाट हुने आयात र निर्यात दुबैमा कमी देखिएको हो।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्षको तुलनामा चालू आर्थिक वर्षको दुई महिनामा बिराटनगर भन्सारबाट हुने आयात ७.७ प्रतिशतले घटेको छ। उक्त अवधिमा वीरगन्ज नाकाबाट हुने आयात २.१ प्रतिशतले घट्दा कन्चनपुरबाट हुने आयात ९.२ प्रतिशत, कृष्णनगरबाट हुने आयात १०.४ प्रतिशत, नेपालगञ्जबाट हुने आयात ३.८ प्रतिशत र त्रिभुवन विमानस्थल भन्सारबाट हुने आयात १०.५ प्रतिशतले घटेको छ। यस्तै, अन्य नाकाबाट हुने आयातमा पनि १०.५ प्रतिशतको कमि आएको छ।
निर्याततर्फ बिराटनगरबाट हुने आयात १.९ प्रतिशत, वीरगन्जबाट हुने आयात ०.३ प्रतिशत, जलेश्वरबाट हुने आयात ९२.७ प्रतिशत, कन्चनपुरबाट हुने आयात ८२.३ प्रतिशत, मेची भन्सारबाट हुने आयात १९.४ प्रतिशत, रसुवा भन्सारबाट हुने आयात ४०.४ प्रतिशत र त्रिभुवन विमानस्थल भन्सारबाट हुने आयात ४.३ प्रतिशतले घटेको छ।
यसरी, मुख्यमुख्य नाकाबाट हुने आयात घट्दै गर्दा नेपालमा हुने समग्र आयात भने गत वर्षको तुलनामा बढी छ। चालू आर्थिक वर्षको दुई महिनामा कुल वस्तु आयात १.१ प्रतिशतले वृद्धि भई २ खर्ब ६२ अर्ब ५४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५.१ प्रतिशतले कमी आएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ०.१ प्रतिशत र ५.१ प्रतिशतले कमी आएको छ भने चीनबाट भएको आयात ११.९ प्रतिशतले वृद्धि भएको छ।
वस्तुगत आधारमा यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्ट्स, खाने तेल, रासायनिक मल, दूरसञ्चार उपकरण तथा पार्ट्स, लसुन लगायतका वस्तुको आयात बढेको छ भने सुन, एमएस विलेट, धान तथा चामल, कच्चा पाम तेल, विद्युतीय उपकरण लगायतका वस्तुको आयात घटेको छ।
चालू आर्थिक वर्षको दुई महिनामा कुल वस्तु निर्यात ५.१ प्रतिशतले घटी २५ अर्ब ९ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.८ प्रतिशतले कमी आएको थियो। गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः ४.५ प्रतिशत, ४५.३ प्रतिशत र ३.९ प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा चिया, पार्टिकल बोर्ड, पिना, जुत्ता तथा चप्पल, सोयाविन तेल लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, जिंक शिट, पाम तेल, तयारी पोशाक, जडिबुटी लगायतका वस्तुको निर्यात घटेको तथ्यांकमा उल्लेख छ।
खासगरी, नेपाल हुने आयातमै कमि आएमा वा अवैधानिक ढंगबाट वस्तु भित्रिएमा नेपालका मुख्य भन्सार नाकाबाट हुने आयात कमि हुने गर्दछ। तर, कुल वस्तु आयात १.१ प्रतिशतले वृद्धि भई २ खर्ब ६२ अर्ब ५४ करोड पुगेको अवस्थामा नै मुख्य नाकाबाट हुने आयातमा कमि आएको देखिन्छ। नेपाल सरकारका पूर्व सचिवसमेत रहेका पुरुषोत्तम ओझा मुख्य नाकाबाट आयात हुने पाम र शोयाबिन तेलको कच्चा पदार्थको व्यापार पहिलाको स्थितिमा नरहेकाले त्यसको असर देखिएको हुनसक्ने बताउँछन्।
‘नेपाल र भारतीबीचको पाम तथा शोयाबिन तेलको व्यापार पहिलाको जस्तो छैन। नेपालबाट निर्यात नहुँदै गर्दा उताबाट कच्चा पदार्थ पनि आउँदैन,’ ओझा भन्छन्, ‘यो कारणले पनि मुख्य नाकाबाट हुने आयात घटेको हुनसक्छ। साथै, यसमा ब्यालेन्स अफ पेमेन्टको विषय पनि जोडिएको हुनसक्छ।’
मुख्य नाकाबाट हुने आयात घट्नुको कारण भनेको चोर बाटोबाट नेपाल सामान भित्रिने रेसियोमा बढोत्तरी हुनु हो।
वैधानिक बाटोबाट सामान नआउने र तर गैरकानुनी तवरबाट सामान भित्रिने क्रम तीब्र गतिमा बढेको हुन सक्ने सरकारी अधिकारीहरुकै अनुमान छ।
नेपालमा कुनै पनि वस्तुको अभाव छैन। हरेक सामान यहाँ पाइन्छ। तर, त्यही सामान भन्सार नाका भएर भित्रिँदैनन्।