काठ्माडौं। बजारमा गहुँको माग बढेपछि सरकारले भारतबाट २ लाख मेट्रिक टन आयात गर्ने भएको छ। बजारमा गहुँ अभाव हुने देखिएको र मूल्यवृद्धि भएको उपभोक्ता गुनासोपछि सरकारले गहुँ आपूर्तिका लागि पहल थालेको हो।
अहिलेलाई भारत सरकारसँग गहुँ आयातका विषयमा समन्वय भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
मैदा व्यवसायी, चाउचाउ तथा बिस्कुट उत्पादकलगायत व्यवसायीबाट गहुँको आपूर्ति गरी गहुँ, पिठो र मैदा सहज आपूर्ति गर्न माग आएपछि आयातको पहल थालेको मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले बताए। गहुँ आयातका लागि गरिएको आग्रहमा भारत सरकार सकारात्मक रहेको उनको भनाइ छ।
मैदा व्यवसायीले भने गहुँ आयातमा भन्सार शुल्क घटाउन र आपूर्ति सहज गर्न माग गरेका छन्। व्यवसायीलाई चाडपर्वका बेला मूल्य नबढाउन मन्त्रालयको आग्रह छ। बजारमा कृतिम अभाव सिर्जना गरी मूल्यवृद्धि गरेको पाइए अनुगमन गरी कारबाही गरिने मन्त्रालयले जनाएको छ।
बजारमा गहुँ अभाव हुन थालेको र मूल्यवृद्धि भएकाले मैदाको मूल्य बढाउन बाध्य भए पनि चाडपर्वका बेला मूल्य स्थिर गर्न मैदा उत्पादक संघ सहमत भएको संघका उपाध्यक्ष दिनेश अग्रवालले बताए। नेपालमा गहुँ आपूर्तिमा समस्या हुने गरेकाले सरकारलाई सहज गरिदिन आग्रह गरिएको उनको भनाइ छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चाडपर्वका बेला अनावश्यक सञ्चय गरी कृत्रिम अभाव सृजना गर्ने, अनुचित नाफा लिने र सर्वसाधारण उपभोक्तालाई मर्का पार्ने विषय स्वीकार नहुने भएकाले त्यस्ता क्रियाकलापलाई निरुत्साहन गर्न सरकारले अनुगमन प्रभावकारी बनाउने र अनुगमनका क्रममा गलत क्रियाकलाप भएको पाइए कारबाही गरिने जानकारी दिए।