काठमाडौं। नेपाल राष्ट्र बैंकले विदेशी पर्यटकलाई दैनिक डलर सटही सीमा बढाएको छ। होटल व्यवसायीले लामो समयदेखि विदेशी पर्यटकलाई दैनिक डलर सटहीको सीमा कम भएको गुनासो गरिरहेका बेला राष्ट्र बैंकले एकीकृत परिपत्र, २०८० संशोधनमार्फत माग सम्बोधन गरेको हो।
राष्ट्र बैंकको संशोधनअनुसार अब विदेशी पर्यटकलाई होटलले प्रतिग्राहक दैनिक १ हजार अमेरिकी डलरसम्म सटही गर्न सक्नेछन्। यसअघि होटलले प्रतिग्राहक अधिकतम अमेरिकी डलर ३०० वा सो बराबरसम्मको परिवर्त्य विदेशी मुद्रा एक बसाइ अवधिमा एक पटकका लागि मात्र सटही दिँदै आएका थिए।
राष्ट्र बैंकको यो निर्णयपछि विदेशी पर्यटकले नेपालमा खर्च गर्ने प्रवृत्ति बढ्ने होटल एसोसिएसन अफ नेपाल(हान)का वरिष्ठ उपाध्यक्ष प्रवीण पाण्डेको भनाइ छ। सरकारले पर्यटकको बसाइ अवधि बढाउने कुरा गरिरहँदा डलर सटहीमा कन्जुस्याइँ गरिरहेका बेला ३०० बाट १००० डलर सटही सुविधा दिएर सकरात्मक सन्देश दिएको उनले बताए। होटल संघले राष्ट्र बैंकलाई दैनिक अधिकतम १० हजार डलर सटही सुविधा माग गरेको थियो।
‘१० हजार डलर सटहीको सुविधा माग गरेकोमा १ हजार डलर पुग्नुप नि सकारात्मक हो,’ वरिष्ठ उपाध्यक्ष पाण्डेले भने, ‘राष्ट्र बैंकको यो नीतिले होटल क्षेत्रलाई उत्साह जगाएको छ। विस्तारै यो सीमा बढ्दै जान्छ भन्ने अपेक्षा छ।’
नेपाल पर्यटन बोर्डका निर्देशक एवं प्रवक्ता मणिराज लामिछानेले सटही सीमा एकै पटक ७०० अमेरिकी डलर पुग्दा पर्यटकको खर्च प्रवृत्ति बढ्ने बताए। ‘डलर सटहीमै संकुचन गर्दा खर्चको सीमा पनि खुम्चिएको थियो,’ प्रवक्ता लामिछानेले भने, ‘१००० अमेरिकी डलरको सीमाले खर्च मात्र बढ्दैन, सरकारलाई होटलले बुझाउने राजस्वसमेत बढ्छ। यसले सकारात्मक सन्देश दिन्छ।’
विदेशी पर्यटकले नेपालमा गर्ने खर्चको सीमा बढाउन सरकारी नीति बाधक रहेको भन्दै आलोचना भइरहेको छ। राष्ट्र बैंकले विदेशी पर्यटक नेपाल आउँदा ५ हजार अमेरिकी डलर मात्र ल्याउन पाउने व्यवस्था गरेको छ। विदेशी पर्यटकले नेपाल आउँदा ल्याउने पैसाको सीमा खारेज गर्नुपर्ने माग उठाउँदै आएका छन्।
बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२२ मा नेपाल आउने पर्यटकको दैनिक बसाइ १३.१ दिन रहेकामा सन २०२३ मा १३.२ दिन पुगेको छ। सन २०२२ मा पर्यटकको दैनिक औसत खर्च ४० डलर रहेकामा सन २०२३ मा ४१ डलर पुगेको छ।
एयरलाइन्सलाई सहज
राष्ट्र बैंकले एयरलाइन्सलाई पार्टपुर्जा तत्कालै विदेशबाट मगाउनु परेको अवस्थामा १ लाख अमेरिकी डलरसम्म पठाउन अनुमति लिनुपर्ने प्रावधान हटाएको छ। यसअघि १० हजार अमेरिकी डलरमाथिको रकम पठाउन राष्ट्र बैंकको अनुमति लिनुपर्ने व्यवस्था थियो।
राष्ट्र बैंकको संशोधित नीतिले १ लाख अमेरिकी डलरसम्मको सामान ल्याउन अनुमति लिनुपर्ने झन्झट हटेको वायुसेवा सञ्चालक संघका उपाध्यक्ष एवं अल्टिच्युड एयरका प्रबन्ध निर्देशक निमानुरु शेर्पाको भनाइ छ। जहाजको एउटै पार्टपुर्जा हजारौंै डलर पर्ने भएकोले सबै सामानै पिच्छे लिनुपर्ने अनुमति समस्या हट्दा केही समय बचत हुने उनले बताए।