काठमाडौं। ‘हामी साना व्यापारीका लागि दसैं–तिहार व्यापार गर्ने सिजन हो। यही सिजनमा हुने व्यापारले हामीलाई ठूलो भरथेग गथ्र्यो,’ नयाँसडकमा २० वर्षदेखि व्यवसाय गर्दै आएका रामेश्वर श्रेष्ठ भन्छन्, ‘यो पालिको दसैंले निरास बनायो।’
दसैंमा व्यापार बढ्ला, आर्थिक गतिविधिले लय समाउला, नेपालीको क्रयशक्ति बढ्ला भनेर बैंकबाट ऋण लिएर सामान आयात गरेको उनले बताए। सामान बिकेन, भएभरको सामान गोदाममै छन्। बैंकको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताइरहेको श्रेष्ठको गुनासो छ।
कांग्रेस र एमाले मिलेर सरकार बन्नेबित्तिकै सरकारी अधिकारीले अर्थतन्त्र सुधार्न सरकार लाग्छ भनेका थिए। उनीहरुकै कुरा पत्याएर ऋणधन गरेर सामान ल्याइए पनि व्यापार नहुँदा गाह्रो भएको उनको भनाइ छ। तर, दसैंमा न सामान बिक्री भयो, न त बैंकलाई ऋण तिर्ने पैसा। सोही कारण श्रेष्ठजस्ता व्यापारी अहिले चिन्तामा छन्।
‘यसअघिका दसैं व्यापारले कहिल्यै निरास बनाएको थिएन। अहिलेको दसैंले निरास बनायो। यसपालि त गत वर्षभन्दा असाध्य कम व्यापार भयो,’ नयाँ बानेश्वरमा ८ वर्षदेखि कपडाको व्यापार गरिरहेका रामशरण थपलिया भन्छन्, ‘व्यापार नभएको देख्दा मनै बेचैन हुन्छ। लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताइरहेको छ।’
थपलिया अब तिहार कुरेर बसेका छन्। ‘दसैंले नराम्ररी धोका दियो। तिहारको आसमा छौं,’ उनले भने, ‘तिहारमा पनि व्यापार हुन्छ भन्ने केही ग्यारेन्टी छैन। तैपनि आस गर्नुको विकल्प छैन।’
न्युरोडका फेन्सी व्यापारी आरब रेग्मीले ग्राहकलाई लोभ्याइ–लोभ्याइ आफ्नो पसलतिर आकर्षित गरिरहे पनि कोही छिरेका छैनन्। ग्राहक संख्या पातलो छ। दसैं र तिहारजस्ता चाडपर्वमा राम्रो व्यापार गर्ने व्यापारीको लक्ष्य हुन्छ। तर, यसपटकको दसैंमा राम्रो व्यापार नभएको उनको अनुभव छ।
उनी भन्छन्, ‘दसैंमा दुई÷चार रुपैयाँ कमै नाफा खाएर सामान कटाउने योजना थियो। सोचेअनुसार व्यापार भएन। अब तिहार कुरिरहेको छु।’
पर्वको मुखैमा प्राकृतिक विपद् असर बजारमा देखिएको उनको बुझाइ छ। यद्यपि तिहारको चलहपहल सुरु भएपछि व्यापार बढ्छ कि भन्ने झिनो आशामा छन्, उनी।
लाजिम्पाटका व्यापारी जीवन राईले विगतको तुलनामा व्यापार आधा घटेको बताए। कोभिडका बेला जुन खाले आर्थिक मर्का परेको थियो, त्यस्तै असर बजारमा फेरि देखापरेको उनको अनुभव छ। ‘बजारमा मान्छेको चहलपहल छ तर, व्यापार सोचेजस्तो छैन। दसैं व्यापार घाटामा गयो,’ उनले भने।