काठमाडौं। तीन कारोबार दिनमा सेयर बजार ७७ अंकले बढेको छ। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.४७ अंकले बढेर २७४५.३६ बिन्दुमा रोकिएसँगै तीन कारोबार दिनमा ७७ अंकको वृद्धि भएको हो।
यसअघि नेप्से बुधबार ४३.२२ अंक र मंगलबार ३१.४८ अंकले बढेको थियो। दसैं अघिको अन्तिम कारोबार दिन असोज २३ गते बुधबार पनि नेप्से ४.८५ अंकले बढ्दै बन्द भएको थियो।
बिहीबार सूचकसँगै कारोबार रकम पनि बढेको छ। आज नेप्सेमा कुल ६ अर्ब ८८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बुधबार भने नेप्सेमा कुल ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
बिहीबार कारोबारमा आएकामध्ये ८९ कम्पनीको सेयर मूल्य बढ्दा १४२ कम्पनीको घटेको छ। यस्तै, १३ कम्पनीको सेयर मूल्य स्थिर छ।
बिहीबार गुडवील फाइनान्सको सेयर मूल्य ७.६३ प्रतिशतले बढ्दा एनआईसी एसिया सेलेक्ट फण्डको सेयर मूल्य ६.१९ प्रतिशतले बढेको छ। यस्तै, सनराइज ब्लुचिप फण्डको ६.१४ प्रतिशत, समाज लघुवित्त वित्तिय संस्थाको ५.१२ प्रतिशत, रवा इनर्जि विकास लिमिटेडको सेयर मूल्य ५.१२ प्रतिशतले बढेको छ।
बिहीबार बैंकिङ समुहको सेयर मूल्य ०.४० प्रतिशत, फाइनान्स समूहको ०.५१ प्रतिशत, लगानी समूहको ०.७१ प्रतिशत, उत्पादन समूहको ०.२१ प्रतिशत, म्युचल फण्ड समूहको १.४० प्रतिशत र अन्य समूहको सेयर मूल्य ०.३६ प्रतिशतले बढेको छ।