काठमाडौं। सरकारले चालू वर्ष असोज मसान्तसम्म २ खर्ब ५३ अर्ब रुपैयाँ राजस्व संकलन गर्दा ३ खर्ब २९ अर्ब खर्च गरेको विवरण महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको छ।
कार्यालयको तथ्यांकअनुसार सरकारले चालू आर्थिक वर्षको असोज मसान्तसम्म चालू शीर्षकमा २ खर्ब २९ अर्ब खर्च गरेको छ भने पुँजीगत शीर्षकमा २९ अर्ब ३७ करोड तथा वित्तीय व्यवस्थापन शीर्षकमा ६९ अर्ब ९७ करोड रुपैयाँ खर्च गरेको हो।
चालू आवको ३ महिनामा गत वर्षभन्दा ८.११ प्रतिशत बढी राजस्व संकलन गरेको सरकारले गत वर्षको सोही अवधिमा १७.५ प्रतिशत बढी खर्च गरेको तथ्यांक महालेखाले सार्वजनिक गरेको छ।
चालू आर्थिक वर्षको ३ महिनामा गत वर्षभन्दा चालू, पुँजीगत र वित्तीय व्यवस्थापन खर्च बढेको हो। सरकारले गत वर्ष २ खर्ब ८० अर्ब रुपैयाँ खर्च गरेको थियो ।
गत वर्ष चालू शीर्षकमा २ खर्ब १३ अर्ब, पुँजीगत शीर्षकमा १७ अर्ब ८३ करोड तथा वित्तीय व्यवस्थापन शीर्षकमा ४९ अर्ब ३४ करोड रुपैयाँ खर्च भएको महालेखाको तथ्यांकमा उल्लेख छ।
चालू आर्थिक वर्षको ३ महिनामा गत वर्षभन्दा चालू खर्च ७.५ प्रतिशत बढी, पुँजीगत खर्च ६४.७२ प्रतिशत बढी तथा वित्तीय व्यवस्थापन खर्च ४१.७८ प्रतिशत बढी भएको छ।
राजस्वतर्फ कर र गैरकर संकलन १३ प्रतिशतले बढे पनि अन्य प्राप्तिसमेत जोड्दा चालू आर्थिक वर्षको ३ महिनामा समग्र राजस्व संकलन गत वर्षभन्दा ८.११ प्रतिशत बढी भएको महालेखाको विवरणमा उल्लेख छ।
चालू आर्थिक वर्षमा २ खर्ब ५३ अर्ब राजस्व संकलन हुँदा कर आम्दानीबाट २ खर्ब १९ अर्ब, गैरकर आम्दानीबाट २८ अर्ब ५७ करोड तथा अन्य प्राप्तिबाट ४ अर्ब ७५ करोड संकलन भएको छ। सरकारले गत वर्ष असोज मसान्तसम्म २ खर्ब ३४ अर्ब रुपैयाँ संकलन गरेको थियो।
गत वर्ष १० खर्ब ८० अर्ब राजस्व संकलन गरेको सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ संकलनको लक्ष्य राखेको छ। चालू आर्थिक वर्षको ३ महिनामा संकलित राजस्वका आधारमा यो वर्ष सरकारले १२ खर्ब उठाउने लक्ष्य भेट्याउन मुस्किल पर्नेछ।