काठमाडौं। होटल संघ नेपाल, होटल संघ नेपाल गण्डकी प्रदेश, होटल संघ पोखरा नेपाल र पूर्ण योगा रिट्रिट सेन्टरको संयुक्त आयोजनामा योगा महोत्सव २०२४ सम्पन्न भएको होटल संघ नेपालले जनाएको छ।
असोज ३० मा आयोजित कार्यक्रममा होटल संघ नेपालका महासचिव साजन शाक्यले मुलुकमा योगा पर्यटनको सम्भावनालाई यस्ता कार्यक्रमबाट ठूलो टेवा पुग्ने बताए। उनले मुलुकमा सभासम्मलेन तथा विवाह गन्तव्यसँगै वेलनेस तथा योगा र ट्रेकिङ र ट्राभलका लागि नेपाल आउने पर्यटकलाई लक्षित गर्दै कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
पोखरास्थित पूर्ण योगा रिट्रिट सेन्टरमा आयोजित उक्त कार्यक्रममा विदेशबाट आएका ख्यातिप्राप्त ३०औं वर्षदेखि नेपाली धुन र संगीतमा अविरल लागेका नेपाली कलाकार ग्रामी नोमिनेटेड मनोज सिंले बाँसुरीको धुन प्रस्तुत गरे भने विभिन्न मुलुकमा नेपालको मौलिक नृत्य प्रस्तुत गर्दै आएका ख्यातिप्राप्त प्रज्वलरत्न वज्राचार्यले चैर्य नृत्य प्रस्तुत गरेको संघले जनाएको छ।
त्यसैगरी लिना मालाकारले क्लासिकल डान्स प्रस्तुत गर्नुभयो भने मनोहर श्रेष्ठले योगा अभ्यास र साउन्ड थेरापी गराएकी थिइन्।
कार्यक्रममा पोखरा महानगर १८ नम्बर वडाध्यक्ष शिवप्रसाद तिमल्सिना, केन्द्रीय सदस्य भरतराज पराजुली, गण्डकी हानका अध्यक्ष हरिशर्मा गैरे तथा पदाधिकारी, क्षेत्रीय संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, पोखरा टानका अध्यक्ष कृष्ण आचार्य, पोखरा नाट्टाका अध्यक्ष किशोर दाहाल, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीका साथै ६० बढी होटल प्रतिनिधिको उपस्थिति थियो।
चारदिने कार्यक्रम तालिका रहे पनि विशेष कारणले एकै दिनमा सम्पन्न गर्नुपरेको होटल संघ नेपालले विज्ञप्तिमार्फत जनाएको छ।