काठमाडौं । नागरिक लगानी कोषले स्टक डिलरको कामलाई तिब्रता दिएको छ । स्टक डिलरको कामलाई तीव्र रूपमा अघि बढाएको कोषका कार्यकारी निर्देशक रमण नेपालले बताए ।
लामो समयदेखि स्टक डिलरको काम अघि बढाउने विषयमा छलफल भइरहे पनि हालै मात्रै सो काम अघि बढाइएको छ । यसलाई अघि बढाउन चाँडै नियमावली पनि आउँदैछ ।
ठुलो परिमाणमा सेयर खरिद बिक्रीका लागि नेपालमा पहिलो पटक स्टक डिलर सञ्चालन हुने भएको हो । सरकारी क्षेत्रका गैर बैंकिङ संस्थाहरु पुर्नबीमा, बीमा कम्पनी, नेपाल टेलिकम लगायतका संस्थाहरु सो स्टक डिलरमा लगानी गर्नेछन् ।
कोषका अनुसार स्टक डिलरको माध्यमबाट ‘बल्क’मा सेयर खरिद बिक्री गर्न सकिनेछ । सो स्टक डिलरका लागि ५ अर्ब रुपैयाँ चुक्तापूँजी तोकिएको छ । यसका लागि कोषले बेग्लै कम्पनी समेत दर्ता गरेको छ ।
कोषले यसअघि बजार निर्माताको काम गर्ने भन्दै नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्चेन्जसँग(नेप्से)सँग सल्लाह समेत मागेको थियो । बोर्ड र नेप्सेले बजार निर्माताभन्दा स्टक डिलरको प्रकृया सुरु गर्दा उपयुक्त हुने सल्लाह दिएपछि कोषले यस्तो निर्णय गरेको थियो ।
हाल सेयर बजारमा ५० ओटा ब्रोकर कम्पनीहरु सञ्चालनमा छन् । त्यसैमाथि १९ वाणिज्य बैंकहरुले पनि सेयर ब्रोकरको लाइसेन्स लिने तयारीमा रहेका छन् ।
पहिले लगानी कोषले मात्र छुट्टै सहायक कम्पनी स्थापना गरेर सेक्युरिटिज डिलरसिप तथा बजार निर्माताको काम गर्ने तयारी गरिरहेको थियो । तर कोषमा सञ्चित रहेको रकमले बजारमा पर्याप्त लगानी थप गर्न नसक्ने भएपछि अन्य निकायहरूसँग पनि समन्वय गरेर डिलरसिपको काम गर्ने प्रक्रिया अगाडि बढाएको हो ।
सरकारले आर्थिक वर्ष २०७२/०७३ को बजेट मार्फत नै नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, बिमा संस्थान र नेपाल टेलिकम जस्ता कम्पनीहरूलाई बजार निर्माताका रूपमा सेयर बजारमा परिचालन गर्ने व्यवस्था गरेको थियो ।
के हो स्टक डिलर?
स्टक डिलर त्यस्ता संस्था संरचना हो, जुन नियामक निकायको अनुमति लिई दोस्रो बजारमा ठूलो मात्रामा सेयर खरिद बिक्री गर्न सक्ने गरी स्थापना गरिएको संस्था हो । यसले धितोपत्र बजारमा हुने तरलतालाई नियन्त्रणमा राख्ने काम गर्नुका साथै धितोपत्र बजारलाई सन्तुलन कायम राख्ने काम समेत गर्छ ।