काठमाडौं। आइटी क्षेत्र निर्यातले नेपाल–बेलायत व्यापार नाफामा जान थालेको छ। आर्थिक वर्ष २०७७÷७८ का पहिला दुई महिना (साउन र भदौ) को तथ्यांकले बेलायतसँगको व्यापार नाफामा जान थालेको देखिन्छ।
नेपाल र बेलायतको पुरानो दौत्य सम्बन्धका कारण पनि यी दुई देशबीचको व्यापारिक गतिविधिलाई चासोका साथ हेर्ने गरिन्छ। यद्यपि कुनै महिना बेलायत निर्यात हुने वस्तु कम भएर नेपालले घाटा पनि बेहोर्नु परेको देखिन्छ। क्यापिटल नेपालले भन्सार विभागको तथ्यांकबाट संकलन गरेको ५ आर्थिक वर्षको साउन र भदौ (१० महिना) को विवरणअनुसार ७ महिनाको व्यापार नाफामा देखिन्छ। बाँकी ३ महिना मात्रै नेपालले घाटा बेहोर्नु परेको छ।
जसमध्ये आव २०७७/७८ भदौमा २१ करोड २० लाख ४९ हजार रुपैयाँ नाफा गरेको नेपालले आव २०८०÷८१ को भदौमा सबैभन्दा धेरै ४५ करोड १ लाख ३६ हजार रुपैयाँ घाटा बेहोरेको थियो।
समुन्द्रपार निकासी पैठारी संघका अध्यक्ष विनोदकुमार सेठिया बेलायत निर्यात गर्ने वस्तुहरु नेपालले पर्याप्त उत्पादन गर्न नसक्दा नाफाले निरन्तरता पाउन नसकेको बताउँछन्।
पछिल्ला वर्ष नेपालबाट बेलायत निर्यात हुने वस्तुको मूल्य बढ्नुको मुख्य कारण आइटी बढी भएको उनको भनाइ छ। क्यापिटल नेपालसँग अध्यक्ष सेठिया भन्छन्, ‘अहिले जति पनि व्यापार बढेको, नाफामा गएको देखिन्छ त्यसमा अधिकांश योगदान आइटी क्षेत्रको हो। अरु वस्तुको निर्यात बढाउन सकिएको छैन।’
बेलायतमा सेवा क्षेत्रका वस्तुको निर्यात सम्भावना बढी रहेकाले त्यसतर्फ नेपालले सोच्न आवश्यक रहेको पनि उनले बताए। तर, हाल निर्यात भइरहेको आइटी क्षेत्र दीगो हुने सम्भावना नरहेकाले सरकारले अहिलेदेखि नै दिगो व्यापारमा ध्यान दिनुपर्ने अध्यक्ष सेठियाको भनाइ छ।
साथै सरकारले पनि निर्यात बढाउने गरी नीति निर्माणमा ध्यान नदिएको उनको बुझाइ छ।