काठमाडौं। गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीको संगठन सुदृढीकरण गर्न विद्यमान कानुनी व्यवस्थालाई प्रतिस्थापन गरी नयाँ ऐनको मस्यौदा तर्जुमाका लागि प्रक्रिया अगाडि बढाइएको बताएका छन्।
आज ६९औं प्रहरी दिवस अवसरमा आयोजित समारोहमा गृहमन्त्री लेखकले नयाँ विधेयकले कानुनी मान्यता प्राप्त गरेपछि प्रहरीको बृहत्तर हित, प्रहरी कर्मचारीको वृत्ति विकास र संगठनको जिम्मेवारी तथा कर्तव्यका नयाँ आयाम पहिचान हुने विश्वास उनले व्यक्त गरे।
नेपाल प्रहरी जीवन्त संगठन भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता तथा स्वाधीनतालाई अक्षुण्ण राख्दै नागरिकको सार्वभौम अधिकारको रक्षाका लागि प्रहरीले निष्ठापूर्ण योगदान गरेको बताए।
राष्ट्रसेवामा नेपाल प्रहरीका पदचापले बाटो नबिराउने र कहीँकतै नसुस्ताउनेमा विश्वस्त रहेको उनको भनाइ थियो। गृह प्रशासनको पुरानो र लामो अनुभवी संस्था नेपाल प्रहरी रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले यस संगठनको भूमिका र कार्यशैलीले नेपालको आन्तरिक सुरक्षा मजबुत बनाएको उल्लेख गरे।
मुलुकमा आइपरेका जुनसुकै विषम परिस्थिति एवं विपत्तिमा उद्धार तथा व्यवस्थापन तथा हालै गएको बाढीपहिरोबाट प्रभावितको खोज तथा उद्धार र राहत व्यवस्थापनमा नेपाल प्रहरी सदैव अग्रभागमा खटिएको गृहमन्त्री लेखकले बताए।
मुलुकसामु अन्तर्राष्ट्रिय आतंकवाद, साइबर अपराध, प्राकृतिक प्रकोपको जोखिम, सीमापार र बहुक्षेत्रीय अपराधको सञ्जालको नियन्त्रण र अनुसन्धान, मुद्रा निर्मलीकरण र प्रविधिको दुरुपयोग गरी गरिने आर्थिक अपराधजस्ता विविध सुरक्षाका चुनौतीको उचित सम्बोधन गर्नुपर्ने अवस्था रहेकाले प्रहरीले सोहीअनुसार आफूलाई अग्रसर गराउन भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे।
आमनागरिकको सुरक्षा र सेवाका लागि देशको दूरदराजमा रहेका प्रहरी इकाइलाई साधन श्रोत उपलब्ध गराउन, नेपाल प्रहरीलाई साधन श्रोतसम्पन्न तुल्याउन तथा प्रहरी कर्मचारीका हित र कल्याणका लागि विविध कल्याणकारी कार्यक्रम सञ्चालनमा ल्याउन मन्त्रालयले उच्च प्राथमिकता दिएको लेखकले जानकारी दिए।