काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले बडादसैंको फूलपातीदेखि पूर्णिमाको अघिल्लो दिन (असोज २४–२८ सम्म) आन्तरिक र बाह्य गरी २ लाख ३७ हजार बढीले हवाई यात्रा गरेको विवरण गरेको छ।
विमानस्थल कार्यालयका अनुसार आन्तरिकतर्फ १ लाख ६० हजार ९१० र अन्तर्राष्ट्रियतर्फ ७८ हजार ५१२ जनाले हवाई यात्रा गरेका हुन्। यो संख्या बडादसैंको पाँचदिने अवधिभित्रको हो।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दसैंको सात दिन अर्थात् असोज २४ फूलपातीदेखि पूर्णिमाको अघिल्लो दिन (असोज ३०) सम्म आन्तरिकतर्फ २ हजार १५९ र अन्तर्राष्ट्रियतर्फ ७८१ गरी कुल २ हजार ९४० उडान भएका छन्। यो संख्या दुईतर्फी उडानको हो।
दसैंको दुुई दिन अर्थात् असोज २४ फूलपाती र असोज २६ (महाअष्टमी÷महानवमी) मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गरी ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेको प्रवक्ता शेर्पाले बताए।
असोज १३ देखि असोज २८ सम्म कुल ४ लाख २७ हजार ९४६ जनाले हवाई यात्रा गरेको विमानस्थलले जनाएको छ। यसमा आन्तरिकतर्फ दुई लाख २३ हजार आठ सय ४७ र अन्तर्राष्ट्रियतर्फ दुई लाख ४० हजार ९९ यात्रु आउजाउ गरेका छन्।
असोज १३ देखि असोज २८ सम्म आन्तरिकतर्फ पाँच हजार एक सय आठ र अन्तर्राष्ट्रियतर्फ एक हजार सात सय ४४ गरी कुल ६ हजार आठ सय ५२ उडान सञ्चालन भएको विमानस्थलको तथ्यांक उल्लेख छ।
विमानस्थलको तथ्यांकअनुसार असोज १४ गते एकैदिन आन्तरिक उडान र अन्तर्राष्ट्रिय गरी पाँच सय ५९ उडान भएका थिए। ती उडानमार्फत सोही दिन ३५ हजार सात सय चार जनाले हवाई यात्रा गरेका थिए। असोज १०–१२ को अविरल वर्षापछि आएको बाढीपहिरोले विभिन्न स्थानमा सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको चाप बढेको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० विमान कम्पनीले उडान गर्दै आएका छन् भने आन्तरिकतर्फ सात विमान कम्पनीले सेवा दिइरहेका छन्।