काठमाडौं। सेयर बजारको वृद्धिले बुधबार पनि निरन्तरता पाएको छ। बुधबार कारोबारको सुरुवाती चरणदेखि नै उकालो लागेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४३.२२ अंक अर्थात् १.६० प्रतिशतले बढेर २७४२.८८ बिन्दुमा पुगेको छ।
अघिल्लो कारोबार दिन मंगलबार पनि नेप्से ३१.४८ अंकले बढेर २६९९.६६ बिन्दुमा रोकिएको थियो। बुधबार सूचकसँगै कारोबार रकम पनि बढेको छ। आज नेप्सेमा कुल ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
अघिल्लो कारोबार दिन मंगलबार भने ३ अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। बुधबार कारोबारमा आएकामध्ये २०६ कम्पनीको सेयर मूल्य बढ्दा ३५ कम्पनीको घटेको छ। यस्तै, ३ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
बुधबार विजय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.३३ प्रतिशतले बढ्दा इस्टर्न हाइड्रापावरको सेयर मूल्य ९.२४ प्रतिशतले बढेको छ। आज अपर स्यांगे हाइड्रोपावरको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ।
बुधबार बैंकिङ समूहको सेयर मूल्य १.९८ प्रतिशत, विकास बैंक समूहको १.८५ प्रतिशत, फाइनान्स समूहको ०.८६ प्रतिशत, होटल तथा पर्यटन समूहको १.४९ प्रतिशत र जलविद्युत समूहको सेयर मूल्य २.१३ प्रतिशतले बढेको छ।
लगानी समूहको सेयर मूल्य १.६९ प्रतिशत, जीवन बिमा समूहको १.८० प्रतिशत, उत्पादन समूहको १.३६ प्रतिशत, लघुवित्त समूहको १.४८ प्रतिशत र निर्जीवन बिमा समूहको सेयर मूल्य १.३८ प्रतिशतले बढेको छ।