काठमाडौं। दुईपांग्रे सवारीसाधन कसैका लागि अत्यावश्यक हो भने कसैका लागि सोख। कतिपय मानिसले आफ्नो सहजताका लागि तथा कतिपयले सोख पूरा गर्न फरक–फरक ब्रान्डका लक्जरी मोटरसाइकल तथा स्कुटर कलेक्सन गर्छन्।
मोटरसाइकलका पारखीले विशेषगरी एड्भान्स फिचर, आकर्षक आकार तथा महँगो मूल्यका बाइक चढ्ने गर्छन्। विश्वमा लक्जरी चारपांग्रे गाडीभन्दा महँगो बाइक चढ्नेहरूको कमी छैन। अन्यत्र जस्तै नेपालमा पनि कतिपय मोटरसाइकल पारखीहरूले निकै महँगा मोटरसाइकल भित्र्याएका छन्।
हुन त, नेपाली बजारमा १ लाख देखि ४ लाख रुपैयाँ मूल्यसम्मका मोटरसाइकल बढी प्रयोग तथा खरिदबिक्री हुने गर्छन्। तर, नेपालमा केही मोटरसाइकल भने एकदमै महँगा छन्। नेपाली बजारमा महँगा मोटरसाइकल मध्येमा एमभी अगस्टा, हार्ली डेबिड्सन र डुकाटी पर्छन्, जसको मूल्य र फिचर यस्ता छन्ः
एमभी अगस्टा सुपरभेलोस सिरी ओरोे
नेपाली बजारमा महंगा बाइकभित्र पर्ने एमभी अगस्टा इटालियन ब्रान्ड हो। नेपालमा एमभी अगस्टाको विभिन्न मोडलका बाइक उपलब्ध छन्। तीमध्ये नेपालको महँगो बाइकमध्येको एमभी अगस्टा सुपरभेलोस सिरी ओरो हो। एमभी अगस्टा बाइककाे नेपालका लागि आधिकारिक वितरक एसजे मोटो हो।
एमभी अगस्टा एफथ्रीबाट प्रभावित यो बाइकमा इनलाइन थ्री सिलिन्डर इन्जिन र कम्प्याक्ट बडी स्ट्रक्चर डिजाइन छ, जुन रेसिङ र रेगुलर राइडिङ दुवैका लागि उपयुक्त मानिन्छ। यसमा अत्याधुनिक प्रविधिका साथै ब्रान्ड भ्यालु पहिचान गर्ने सबै फिचर उपलब्ध छन्।
एमभी अगस्टा सुपरभेलोस सिरी ओरोमा ७९८ सीसी तीन सिलिन्डर इन्जिन रहेको छ। यो इन्जिनले १३००० आरपीएममा १४८ बिएचपी पावर र ८४ एनएमको टर्क जेनेरेट गर्दछ। सो इन्जिन ६ स्पिड ट्रान्समिसनसँग जोडिएको छ।
एमभी अगस्टा सुपरभेलोस सिरी ओरो १६.५ लिटरको फ्युल ट्यांक दिएको छ। यसले प्रतिलिटर ५ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ। यसमा ड्युल डिस्क र ड्युल च्यानल एबिएस ब्रेक जडान गरिएको छ। नेपालमा यो बाइकको मूल्य ८४ लाख ९० हजार रुपैयाँ रहेको छ।
एमभी अगस्टा एफो आर आर
एमभी अगस्टा एफो आरआर मोडलको मूल्य नेपालमा ६१ लाख ९० हजार रुपैयाँ रहेको छ। एमभी अगस्टा एफो आरआर स्पोर्टी बाइक हो। यो ९९८ सिसीको बाइक हो।
एमभी अगस्टा एफो आर आरमा ९९८ सिसी ४ सिलिन्डर, ४ स्ट्रोक, १६ भल्भ कुलिङ र सेप्रेड लिक्वीड इन्जिन छ। उक्त इन्जिनले २०१ एचपि (हर्सपावर) १११ एनएम टर्क जेनेरेट गर्दछ। सो इन्जिनमा ६ गियर छ।
एमभी अगस्टा एफो आर आरमा १७ लिटरको फ्युल ट्यांक दिएको छ। यसले १५ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ। यो बाइकको टप स्पिड ३१२ किलोमिटर प्रतिघण्टा छ। बाइकको सिट हाइट ८३० एमएमको छ।
हार्ली डेबिड्सन आइरन ८८३
हाल नेपालमा हार्ली डेबिड्सनका तीन वटा मोडल उपलब्ध छन्। यो क्लुजर बाइक हो। यो बाइकको पावर र दमदार साउन्डले गर्दा यसलाई रुचाइन्छ। नेपालमा हार्ली डेबिड्सन बाइक पूर्वयुवराज पारस शाहले चलाएपछि चर्चित बनेको थियो।
२०१८ को नाडा अटो शोमा हार्ली डेबिड्सन नेपालमा सार्वजनिक भएको थियो। शोरुमबाट नेपालमा यसको तीन वटा मोडल मात्र बिक्री हुने गर्दछ। तर यो बाइक व्यक्तिगत रुपमा पनि नेपालमा आयात हुने गरेका छन्।
यो बाइकमा ८८३ सिसी ट्वीन सिलिन्डर एयर कुल्ड इभ्यालुसन इन्जिन पाउन सकिन्छ। यो इन्जिनले ५०.९ बिएचपि पावर र ६८ एनएमको टर्क जेनेरेट गर्दछ। यसको अगाडी र पछाडि दुवै तिर डिस्क ब्रेक रहेको छ।
यो बाइकमा ५ स्पिडको गियरबक्स पाउन सकिन्छ। आइरन ८८३ मा १२.५ लिटरको ट्यांक रहेको छ। यस बाइकले प्रतिलिटर २२ किलोमिटर माइलेज दिने कम्पनीले दावी गरेको छ। यसको नेपालमा मूल्य ४५ लाख ८५ हजार रहेको छ।
डुकाटी मल्ट्रीस्ट्राडा बाइक
नेपालको लागि डुकाटी बाइकको आधिकारिक वितरक टर्बाे मोटर्स हो। डुकाटीको मल्टीस्ट्राडा मोडल ४ वटा भेरियन्टमा उपलब्ध छ। जसको मूल्य ३७ लाखदेखि ४५ लाख रुपैयाँसम्म रहेको छ। यो १२०० सिसीको प्रिमियम बाइक हो। नेपालमा डुकाटीको कम रेन्जदेखि हाइ रेन्जसम्मका बाइक उपलब्ध छन्।
डुकाटी मल्ट्रीस्ट्राडामा ११९८ सिसी इन्जिन उपलब्ध छ। उक्त इन्जिनले १६० हर्सपावर र ९५०० आरपिएम जेनेरेट गर्दछ। यो बाइकमा ६ स्पिड गियर पाउन सकिन्छ। यसको फ्युल ट्यांक २० लिटरको छ। यसको टप स्पिड १५२ किलोमिटर प्रतिघण्टा रहेको छ।
याे बाइकले प्रतिलिटर २० किलोमिटर माइलेज दिने कम्पनीले दावी गरेको छ। यसको सिट हाइट ८४५ एमएम छ। यो बाइकको नेपाली बजारमा मूल्य ४५ लाख रुपैयाँ रहेको छ।