काठमाडौं। निर्माण सुरु भएको १० वर्षसम्म पनि होटल नबनेपछि नेपालबाट सेराटन बाहिरिएको छ। गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले काठमाडौंको केशरमहलमा निर्माणाधीन पाँच तारे होटल अहिलेसम्म पनि नबनाएपछि ‘सेराटन’ नेपाल नआई बाहिरिएको हो।
२०७१ असोजमा शिल्यान्यास गरि निर्माण सुरु गर्दा सेराटन ब्राण्डमै सञ्चालन गर्ने भनिए पनि निर्माण सम्पन्न हुने टुंगो नलागेपछि बाहिरिएको हो।
घलेले दुई साता अघि काठमाडौंको नेपालका पाँच तारे होटल सञ्चालकहरुको गोप्य मिटिङमा सेराटनसँगको सम्झौता तोडेको र तत्कालै होटल पनि सञ्चालनमा नआउने जानकारी गराएका थिए। लामो समयसम्म निर्माण भएर सम्पन्न नभएको र कहिलेबाट सञ्चालनमा आउने भनेर अन्य पाँच तारे होटल सञ्चालकहरुले चासो राखेका थिए।
‘पाँच तारे होटल सञ्चालकहरुको जिज्ञासामा घलेले तत्कालै मेरो होटल सञ्चालनमा आउँदैन र सेराटन पनि हुँदैन, तपाईहरु चलाउँदै गर्नुस’, मिटिङमा सहभागी एक व्यवसायीले भने।
निर्माण सुरु भएको १० वर्ष हुन लाग्दा समेत होटल पूर्ण रुपमा तयार हुन सकेको छैन। निर्माण ढिलाई भएको भन्दै चौतर्फी आलोचना भइरहेको बेला घलेले भने विश्वप्रशिद्ध सेराटन ब्राण्डलाई जोगाउन सकेनन्।
हुन त सेराटनसँगको सम्बन्ध तोडेको केही वर्ष अघिनै हो। घलेले माथिल्लो लक्जरी ब्राण्ड जेडब्लु मागिरहेका थिए।
घलेको प्रस्ताव सेराटन व्यवस्थापनले नमानेपछि उनले आफ्नो सम्झौता तोडेका छन्। यदद्यी, आधिकारीक रुपमा कुनै जानकारी भने दिएका छैनन्। घलेले आफ्नै ब्राण्डमा होटल चलाउने भने पनि हालसम्म नाम सार्वजनिक भने गरेका छैनन्। होटलको सबै लगानी व्यक्तिगत नै भएकाले पनि ब्याज बढ्ने कुनै चिन्ता नभएको कारणले काम विस्तारै गरिरहेको निकटहरुलाई उनले बताउँदै आएका छन्।
नेपालमा सञ्चालनमा रहेका होटल मध्ये सबैभन्दा गुणस्तरीय बनाउने योजना घलेको छ। होटलमा बाहिरी सिसाको रुपमा नेपालमै पहिलोपटक युनिटाइज फसाड प्रयोग गरिरहेका छन्। यस्तो फसाड भवनको (मोहडा वा अगाडिको भाग)मा लाग्ने सिसाको लागि मात्र उनले एक अर्बभन्दा बढी लगानी गरेका छन्।
अष्ट्रेलियाको एमआईटी ग्रुप होल्डिडको ८ अर्ब लगानीमा निर्माण सुरु भएको थियो। १४ रोपनी क्षेत्रफलमा १७ तले होटल महँगा विदेशी पर्यटकहरुलाई लक्षित गरी निर्माण सुरु गरिएको हो।
होटलको दुई तला गाडी पार्किडका लागि प्रयोग गरिनेछ भने १३ तलामा २ सय १८ वटा अति सुविधासम्पन्न कोठा र सुईटहरु हुनेछन। यसका साथै होटलमा काठमाडौमा हालसम्मकै सबैभन्दा ठूलो बैठक कक्ष समेत निर्माण भइरहेको छ। घलेको कम्पनी एमआईटी ग्रुप होल्डिङ अष्ट्रेलियामा रियलस्टेट र शिक्षा सम्बन्धी ब्यवसायमा संलग्न छ।