काठमाडाैं। बजारमा गुणस्तर मापन र स्ट्यान्डर्ड निर्धारण नहुँदा ठगिनेमा सबैभन्दा बढी उपभोक्ता नै पर्छन्। खासगरी घरायसी सामान खरिदमा सस्तो र ब्रान्डेड दुवैको नाममा उपभोक्ता ठगिँदै आएका छन्। घरायसी सामानदेखि सजावट सामग्री गुणस्तरहीन हुँदा ठगिँदै आएका हुन्।
घरमा प्रयोग हुने सोफा, मार्बल, कार्पेटदेखि फल्ससिलिङ हुँदै बालबालिकाका खेलौना साइकलमा समेत उपभोक्ता ठगिँदै आएको देखिन्छ। बजारमा छ्यापछ्याप्ती पाइने त्यस्ता सामानको गुणस्तर मापन र परीक्षणसमेत हुने गरेको पाइँदैन। सोही कारण सोफा किनेको १÷२ वर्ष पनि नटिक्नेदेखि छिटो बिग्रिने हुन्छ।
अर्को कुरा, एक पटक लगेको सामान अर्को पटक कुनै पार्टपुर्जा फेर्नुपरे बजारमा नपाइने र नयाँ किन्नुपर्ने बाध्यता उपभोक्तामा छ। विदेशमा एक पटक खरिद गरिएको सामान तेस्रो÷चौथो पटकसम्म बिक्री वितरण, प्रयोग र मर्मतसम्म हुने गर्छन्।
तर, नेपालमा एक पटक प्रयोग गरेको सामान दोस्रो पटक प्रयोग गर्नै नमिल्ने गरी बिग्रिने गरेको छ। यसले उपभोक्ताको खर्च बढ्दै जाने र क्रयशक्तिसमेत घट्दै जाने देखिन्छ। विदेशमा पुराना सामान वर्षौंसम्म प्रयोग गर्न मिल्ने भएकोले उपभोक्ताले आफ्नो मूल्यअनुसार सामान किन्न पाउँछन् तर नेपालमा पुराना सामान बिक्रीयोग्य नै हुँदैनन्।
यसबाट उपभोक्ता ठगिने मात्र हैन, उपभोक्ताको खर्चिने शक्तिसमेत घट्दै गएको देखिन्छ। बेपरवाह भित्रिने साइकल वा अन्य सवारीसाधनले समेत नेपाल परीक्षण केन्द्रको रुपमा मात्रै विकास भएको देखिन्छ। यसबाट उपभोक्ताबाट असुलिने रकम दुरुपयोग मात्र भएको छैन, वातावरणसमेत प्रदूषित बनाएको छ।