काठमाडौं। नरेन्द्र मोदीले भारतलाई स्मार्टफोन उत्पादनको केन्द्रका रूपमा परिचित गराउँदै विश्वले अब देशलाई “मोबाइल निर्यातकर्ता”को रूपमा हेर्न थालेको बताएका छन्।
दिल्लीमा आयोजित इण्डिया मोबाइल कङ्ग्रेस (IMC) २०२४ को आठौं संस्करणको उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, “२०१४ मा जम्मा दुईवटा मोबाइल उत्पादन एकाइहरू थिए। तर आज यो संख्या २०० भन्दा बढी पुगेको छ। पहिले हामीले धेरै मोबाइल आयात गर्थ्यौं, तर अहिले हामी देशभित्रै छ गुणा बढी मोबाइल उत्पादन गर्छौं।”
प्रधानमन्त्री मोदीले एक दशकअघि डिजिटल-प्रथम भारतको परिकल्पना अघि सारेको र सस्तो मोबाइल फोनको लक्ष्य राखेको सम्झदै भने, “यो लक्ष्य तब मात्र हासिल गर्न सकिन्छ जब फोनहरू स्वदेशमै उत्पादन हुन्छन्।” पछिल्लो १० वर्षमा “मेक इन इण्डिया” अभियान अन्तर्गत केन्द्र सरकारले उत्पादनसँग जोडिएको प्रोत्साहन योजना (Production Linked Incentive Scheme) र विभिन्न ट्यारिफ प्रोत्साहनहरू लागू गरेर स्थानीय र विदेशी व्यवसायहरूलाई भारतमा उत्पादन एकाइहरू स्थापना गर्न सहयोग पुर्याएको छ।
चीनसँगको बढ्दो भू-राजनीतिक जोखिमका बीच व्यवसायहरूलाई चीन बाहिर विविधिकरण गर्न भारतले सहयोग गरेको छ। भारत हाल मोबाइल फोन उत्पादनका लागि उदीयमान स्थानका रूपमा चिनिन थालेको छ। हाल १४ प्रतिशत आईफोन भारतमा उत्पादन हुन्छ, जसले भारतलाई चीनबाहेक विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन उत्पादक बनाएको छ। एप्पलले यो संख्या २०२७ देखि २०२८ सम्म २४ देखि २५ प्रतिशत पुर्याउने योजना बनाएको छ। गुगलले पनि आफ्ना उच्चस्तरीय पिक्सेल स्मार्टफोन भारतमै उत्पादन गर्दै आएको छ।
ठूला मोबाइल निर्माताहरूले प्राय: सबै ब्रान्डका स्मार्टफोनहरू भारतमै बनाइरहेका छन्। प्रधानमन्त्री मोदीले भने, “अब हामी विश्वलाई पूर्णतया मेड-इन-इण्डिया मोबाइल फोन प्रदान गर्ने लक्ष्यमा छौं। चिपदेखि लिएर अन्तिम उत्पादनसम्म हामी स्वदेशमै बनाउन चाहन्छौं। हामी सेमिकन्डक्टर क्षेत्रमा पनि ठूलो लगानी गर्दैछौं।” विशेषज्ञहरूले भारतलाई १.४ अर्ब जनसंख्या भएको देशका रूपमा उच्च प्रविधियुक्त उत्पादन, विशेषगरी स्मार्टफोन निर्माणमा सफल हुने क्षमता भएको बताउँछन्। सरकारको आपूर्ति श्रृंखला निर्माण गर्ने लक्ष्य छ, जसले चीनले विश्वको निर्माण केन्द्रका रूपमा हासिल गरेको सफलतालाई अनुकरण गर्ने योजना बनाएको छ।
भारतले स्मार्टफोन उत्पादन केन्द्रका रूपमा आफूलाई स्थापित गर्न सफल भएको छ। साथै, भारतलाई सेमिकन्डक्टरको क्षेत्रमा पनि महाशक्ति बन्ने महत्त्वाकांक्षा छ। हाल भारतको सेमिकन्डक्टर उत्पादन उद्योग भने प्रारम्भिक चरणमा रहेको छ। ताइवान हाल विश्वको सबैभन्दा ठूलो चिप उत्पादक देश हो, जसले ४४ प्रतिशत बजार हिस्सा ओगटेको छ, त्यसपछि क्रमशः चीन, दक्षिण कोरिया, अमेरिका (६ प्रतिशत) र जापान रहेको ताइवानी परामर्श कम्पनी ट्रेन्डफोर्सका तथ्यांकले देखाएको छ।
प्रधानमन्त्री मोदीले २०३० सम्ममा इलेक्ट्रोनिक्स क्षेत्रको आय १५५ अर्ब डलरबाट ५०० अर्ब डलर पुर्याउने लक्ष्य राखेका छन्। तर, विश्लेषकहरूका अनुसार भारतसँग स्वतन्त्र रूपमा सेमिकन्डक्टर उत्पादनको विशेषज्ञता छैन र यसका लागि अमेरिकासँग सहकार्य गर्नुपर्ने सुझाव दिएका छन्।