काठमाडौं। दसैं विदापछि मंगलबार पहिलो दिन खुलेको सेयर बजारमा उत्साह देखिएको छ । यस दिन नेप्से सूचक ३१.४८ विन्दुले बढेर २६९९.६६ अंकमा आइपुगेको छ । अर्थात, सूचक करिब २७ सयको मनोवैज्ञानिक विन्दुमै आइपुगेको छ । ३ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन उत्पादनमूलकबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । फाइनान्स समूहमा सबैभन्दा बढी ४.६१ प्रतिशतले तेजी आएको छ । २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
दसैं विदापछिको पहिलो दिन भएकाले कारोबार रकम भने तुलनात्मकरुपमा कम छ । सूचकमा तेजी हुँदै जान थालेमा कारोबार रकमले पनि विस्तारै गति लिन सक्ने अनुमान गर्न सकिन्छ । दसैंपछि बजार कता जाला भन्ने आम चासो रहेको थियो । ‘फेस्टिभ मुड’ अझै बाँकी रहे पनि पहिलो दिनको बजारले भने सकारात्मक सन्देश दिएको छ ।
अब कात्तिक लागेपछि सूचीकृत कम्पनीहरुको चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरणहरु पनि सार्वजनिक हुन थाल्नेछन् । कम्पनीहरुले नाफा कमाएको रिपोर्ट आएमा बजार बढ्नका लागि यसले पनि सहयोग गर्नेछ । लाभांशको सिजन चलिरहेकाले पनि यतिबेला सेयरधनी बन्नेहरुले छोटो समयमा लाभ पाउन सक्नेछन् । कात्तिक लागेसँगै ब्याजदर थप घट्ने र कम्पनीहरुको मुनाफा बढेको वित्तीय विवरण आयो भने सेयर बजार थप माथि जान सक्ने देखिन्छ ।
यस्तै, असोज मसान्तको साँवा–ब्याजका लागि लगानीकर्ताहरुले रकम जोहो गरिसकेकाले पनि अब बिक्री दबाब कम पर्ने अनुमान गरिएको छ । यसले पनि आउने दिनहरुमा क्रमशः क्रेता पक्ष सक्रिय हुन सक्ने देखिन्छ । यद्यपि, बजारको चाल सधैं एउटै हुँदैन । घटबढ हुँदै अघि बढ्ने यसको नियम हुन्छ । त्यसो त यसअघि बजार करिब ३ हजार विन्दु आसपासमा पुगेको थियो ।
उक्त तहबाट करेक्सन हुँदै नेप्से २४ सयकै लाइनमा आयो । पुनः त्यसबाट विस्तारै उठेर अहिले २७ सय नजिक आइपुगेको छ । यस आधारमा बजारले यो चरणको करेक्सन समाप्त गरी पुनः वृद्धिको लय समातेको विश्लेषण हुन थालेको छ । समग्रमा बजार बुल रनमा रहेको विश्वास गरिएको छ । बुल रनमा रहँदा घट्नेभन्दा बढ्ने प्रवृत्ति नै बढी हुन्छ । यस्तो बेला आम लगानीकर्तामा उत्साह बढी नै देखिने गर्छ ।
त्यसो त सूचक बढ्दै जाँदा सामान्यतयः कारोबार रकममा पनि सुधार हुने नै गर्छ । बजार बढ्न थालेपछि नयाँ–पुराना सबैथरिका लगानीकर्ताको आत्मबल सोही अनुसार वृद्धि हुँदै जान्छ । बिक्रीभन्दा खरिदक्रममै तेजी आउँछ, जसले कारोबार रकम बढाइदिन्छ । यसअघि छोटो अवधिमा बेस्सरी बढेको बजारबाट नाफा बुक गर्नेक्रम बढेपछि नेप्सेमा नकारात्मक प्रभाव परेको थियो ।
यसबीचमा चलेको करेक्सनका कारण बजारमा सेयर भाउ निकै सस्तो भइसकेको छ । सेयर पुनः निकै सस्तो अवस्थामा पाइने भएकाले यसअघि प्रोफिट बुक गरेकाहरु पनि अब विस्तारै खरिदक्रममा लाग्न सक्ने देखिएको छ । क्रेताहरु सक्रिय हुन थाले भने बजारले गति लिन सक्नेछ । सेयर बजारको चक्रीय नियम अनुसार पनि बुल रन सुरु भएको देखिन्छ ।
अहिले सेयर खरिद गर्दा जोखिम कम नै रहेको देखिन्छ । लाभांशको सिजन चलेको छ । सेयरहरु सस्ता भएका छन् । ब्रोकरहरुको संख्या थपिएकाले उनीहरुले नयाँ ग्राहक खोज्ने र बजारमा लगानीकर्ताको संख्या थपिने क्रम बढेको छ । यी कारणहरुले आगामी दिनहरुमा समग्रमा बजारको गति सकारात्मक हुँदै जाने अनुमान गर्न सकिन्छ ।
यता, आम लगानीकर्ताले भने सबल वित्तीय सूचक भएका, लाभांश क्षमता राम्रो रहेका कम्पनीहरुमा जोखिम बहन क्षमतालाई समेत मध्यनजर गर्दै लगानी गर्न सके लाभ लिन सक्ने सम्भावना अधिक रहन्छ । कम्पनीको नाफा, रिजर्भ, प्रतिसेयर आम्दानी, नेटवर्थ, लाभांश वितरण क्षमता, विगतको लाभांश इतिहास, कम्पनीका सञ्चालकहरु लगायतका पक्षमा अध्ययन गर्न सक्नुपर्छ ।