काठमाडाैं। भारत, जर्मनी, नेपालको पावर सप्लाइ भोल्टेज समान छन्। भारतमा २३० भोल्ट र ५० हर्ज छ। जर्मनी र नेपालको पनि समान सप्लाइ भोल्टेज छ। त्यसबाहेक अमेरिकाको १२० भोल्ट र ६० हर्ज छ। चीनको २२० भोल्ट ५० हर्ज छ।
सोही आधारमा ती मुलुकले विद्युतीय प्लग निर्धारण गर्छन्। भारतले टाइप सी, डी र एम मापदण्ड बनाएको छ। त्यसैगरी, अमेरिकाले ए र बी, चीनले ए, सी र आई, जर्मनीले सी र एफ मापदण्ड बनाएका छन्। नेपालमा सबै मापदण्डमा बनेका विद्युतीय सामग्री भित्रिइरहेका छन्।
संसारभर ए, बी, सी गर्दै क्रमशः ओ मापदण्डमा विद्युतीय सामग्री बन्छन्। ती सबै नेपालमा प्रचलनमा छन्। त्यसो त, नेपालकै जलविद्युत् गुणस्तरमा पटक–पटक प्रश्न उठ्ने गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवाल नेपाल विद्युत् प्राधिकरण अर्थात् सरकारले विद्युत् वितरण प्रणाली र गुणस्तर कमजोर भएको स्वीकार्नुपर्ने बताउँछन्।
‘क्रमशः सुधार भइरहेको पनि बिर्सनु हुँदैन। नेपालमा प्रयोग भएका विद्युतीय उपकरण धेरै बिग्रिएको देखिन्छ। त्यो विद्युत्का कारण मात्र नभई सामानको गुणस्तरमा पनि भर पर्छ।
नेपालमा भित्रिने विदेशी सामान न्यून गुणस्तरका हुन्छन्,’ हाल बूढीगण्डकी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका भेटवाल भन्छन्, ‘विद्युत्को गुणस्तर सुधार्दै आयातीत सामानको गुणस्तरमा कडाइ गर्नुपर्छ किनकि युरोपतिर नजाने सामान नेपाल आउँछ।
सधैं विदेशीको भर परेर हुँदैन। अब नेपालमा विद्युतीय सामग्री र उपकरण उत्पादनमा ढिलाइ गर्नुहुँदैन।’ करिब ३ करोड जनसंख्याको नेपाल आफैंमा एउटा बजार भएको र मापदण्ड बनाई विभिन्न सहुलियत उपलब्ध गराएरै भए पनि आन्तरिक उत्पादनमा जोड दिनुपर्ने भेटवालको सुझाव छ।