काठमाडाैं। काठमाडौं उपत्यकामा पाँचतारे होटलका लागि १०० कोठा हुनुपर्छ। उपत्यकाबाहिरका लागि ८० वटा कोठा भए पुग्छ। मापदण्ड पालनाको विषय अध्ययन गर्ने हो भने अधिकांश होटलका कोठाको संख्या नै पुग्दैन।
मापदण्ड नपुगेकाले पनि पाँचतारे होटलको मान्यता पाएका छन्। त्यहीअनुसारले आफ्ना कोठा बिक्री गरिरहेका छन्। यसमा पनि उपभोक्ता अर्थात् ग्राहक ठगिइरहेका छन्। ग्राहकलाई पैसा पाँचतारेको भनेर लिने तर सुविधा काठमाडौंको भन्दा फरक अर्थात् फरक होटलको फरक सुविधा पाइने हुँदा समस्या भोगिरहेका छन्।
होटल तथा रिसोर्टको स्टार निर्धारण गर्ने जिम्मा पर्यटन विभागको हुन्छ। तर, विभागबाट स्टार लेभल पाउन त्यहाँका कर्मचारीले मापदण्डअनुसार चलेको छ÷छैन भन्दा पनि आर्थिक मोहका विषयमा मोलमोलाइ गरिँदै आएको व्यवसायीको गुनासो छ।
खासगरी उपत्यकाबाहिर बनेका पाँच र चारतारे होटलले यस्तो सास्ती भोगिरहेका छन्। तर, जसले साँच्चिकै मापदण्डअनुसार बनाएका छन्, तिनले समेत विभागका कर्मचारीबाट अनावश्यक दुःख भोग्नुपरेको गुनासो गर्छन्।
‘अहिले उपत्यकाबाहिर सञ्चालनमा रहेका पाँचतारे होटलभन्दा चार र तीनतारेको स्ट्यान्डर्ड धेरै माथि रहेको छ। कोठाको साइजदेखि सेवा–सुविधा नै पाँचतारेभन्दा अन्य तारे होटलमा राम्रो छ’, एक व्यवसायीले भने, ‘पैसा खाएर मनलाग्दी गर्नुभन्दा चारतारे चारतारेजस्तै र पाँचतारे पाँचतारेकै मापदण्डअनुसार बनेकालाई मात्र अनुमति दिनुपर्छ भन्ने हाम्रो माग हो। तर, कर्मचारीले यो विषयमा कुनै चासो राखेको पाँइदैन, जसका कारण राम्रो गर्नेले पनि दुःख पाइरहेका छन्।’